- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारत पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो ।
मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो । खेलको २३औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन् ।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले एक गोल थप्दै खेललाई ३–० को जित दिलाइन् । यस जितसँगै भारतले शीर्ष तीन अङ्क जोडेको छ ।
पाकिस्तानले भने प्रतियोगितमा हारबाट शुरुआत गर्यो । उक्त प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा साँझ ५ः३० बजे माल्दिभ्स र बङ्गलादेश भिड्नेछन् ।
उद्घाटन खेलमा मंगलबार नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।