arrow

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण परम्परागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
prabhuram-sharma-manoj-pandey-indian-army-chief-pandey.jpg

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने नेपाल भम्रण सकेर भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे स्वदेश फिर्ता भएका छन् । नेपाल रहँदा भारतीय सेनाध्यक्ष पाण्डे जङ्गी अड्‍डाका विभिन्न कार्यक्रममा सहभागी रहे भने उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँगसमेत शिष्टाचार भेट गरे ।

भारतीय सेनाध्यक्ष पाण्डे भदौ १९ गते नेपाल आइपुगेका थिए । गत आइबार अपरान्ह उनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनलाई बिहीबार बलाधिकृत रथी बालकृष्ण कार्कीले नै बिदाइ गरे ।

सबैभन्दा महत्वपूर्ण कुरा नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहिआएको छ । सोही अनुसार भदौ २० गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

त्यसअघि २० गते सोमबार बिहान सैनिक मुख्यालयमा जङ्गी अड्‍डामा प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता भएको थियो । प्रधानसेनापतिसँगको भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

सोही दिन जङ्गी अड्डामा आयोजित समारोहमा पाण्डेलाई सम्मान गारत अर्पण गरिएको थियो। सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरेका थिए । त्यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । 

सोही दिन प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजना गरेको रात्रीभोजमा सेनाध्यक्ष पाण्डे सहभागी भएका थिए । त्यसपछि मंगलबार भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 

भारतीय सेनाध्यक्ष पाण्डेले त्यसपछि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेड क्वार्टरको समेत भ्रमण गरेका थिए ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। 

भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

अग्निपथबारे भएन कुराकानी

भारतीय सेनाको नयाँ भर्ती योजना अग्निपथ योजना जसले गोर्खाभर्ती सम्झौतालाई अन्योलमा पारेको छ, यस विषयमा भने छलफल नभएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले बताएका छन् । सैनिक प्रवक्ता सिल्वालले भने,'यो नेपाल सरकार र भारत सरकारबीचको चीज हो, परराष्ट्रलाई थाहा होला, हामी प्रत्यक्ष संलग्न भएको चीज पनि हैन । केही कुरा भएन, औपचारिक, अनौपचारिक केही भएन ।'

यस्तै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि यस विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताएकी छिन् । आफूलाई यस विषयमा जानकारी नभएको भन्दै उनले बुझ्नु पर्ने बताएकी छिन्, 'त्यो बिषयमा मलाई था भएन, मैले बुझ्नु पर्ने हुन्छ,' उनले भनिन् ।

भारतीय सेना प्रमुख नेपाल आउँदै, अग्निपथ अन्तर्गत नै गोर्खा भर्तीलाई निरन्तरता

भारतले नेपालमा अग्निपथ योजना अनुरुप भर्ती गर्न छनौट गर्न आएकै दिन सरकारले भर्ती स्थगित गरेको थियो । त्यसैले पनि यस विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको थियो । तथापि यस विषयमा भारतीय सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा कुरा नभएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ