- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले महिला साफ च्याम्पियसिपअन्तर्गत आजको श्रीलङ्काविरुद्धको खेल गुमाएकी छिन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्का विरुद्धको खेल गुमाएकी हुन् । सावित्रालाई डेंगी देखिएपछि आजको खेलमा विश्राम लिएको अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताए ।
सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेंगी देखिएको छ । उनीहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।
यसअघि राष्ट्रिय फुटबल टोलीकी सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेंगी संक्रमण भएको थियो । नेपालले श्रीलङ्कासँग अहिले खेलिरहेको छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको छ ।
नेपाल दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले आफनो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतले पनि समान दुई गोल नै गरेकी थिइन् ।
समूह बी मा रहेको नेपालले एक खेलमा शीर्ष तीन अङ्क जोडेको छ । नेपालले श्रीलङ्कालाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
समान एक खेल खेलको श्रीलङ्का अङ्कविहीन छ । यसअघि भएको खेलमा श्रीलङ्का भुटानसँग पराजित भएको थियो ।