arrow

कुलत र किरिया

logo
शीतल गिरी,
प्रकाशित २०७९ असोज १ शनिबार
shital-giri-essay.jpg

जन्ती लिएर बस गइरहेको थियो एक जनाले भन्यो— “चुरोटको अम्मल पनि कस्तो छाड्नै नसकिने ।” ती मानिसले चार पटक चुरोट हातमा लिए तर सल्काउने आँट गर्न सकेनन् । बसमा उनले मान्नु पर्ने पाँच जना थिए । पन्ध्र जना जति महिलाहरू पनि थिए ।

हेरे आपसमा रमाइरहेका युवाहरुरू पनि बीस जना जति पाए । सार्वजनिक स्थानमा व्यक्तिको चाहनाले धूमपान गर्न पाइन्न । धूमपान जहाँ गरिनुपर्ने हो त्यहाँ गरिँदा अन्यको स्वास्थ्यमा नकारात्मक असर पर्दैन । जहाँ नपिउँदा वातावरण स्वच्छ हुन्छ, त्यहाँ नपिएकै राम्रो । तब यो अम्मलको छटपटी किन ? जबरजस्ती धूमपान गर्न खोज्दा समस्या बेहोर्न पर्ने पनि हुन सक्छ । 

जहाँ पनि दुई किसिमका मानिस हुन्छन् । कुलतमा लागेका र यसबाट बचेका । ती अम्मलीकै छेउँमा बसेका साथीले बसभित्र चुरोट नखान संकेत गरेका थिए । तर चुरोटको तलतलले उनी ब्याकुल बनेका छन् । उनले निधारमा आएका पसिना पुछे । फेरि बसमा रहेका जन्तीहरूमा नजर दौडाए कि कोही अर्को पनि चुरोटको तलतलले पिरोलिएको पाइन्छ कि भनेर । तर पाएनन् । 

अन्त्यमा केही नलागेपछि उनले एउटै सिटमा बसेका साथीलाई भने— “मलाई  झ्यालमा बस्न देऊ, चुरोटको तलतल मेट्छु ।” साथीले सम्झाउने भावमा भने— “ठीक छ बस, तर चुरोट भने नखाऊ ।” ओहो कस्तो सहयोग । चुरोटको अम्मलले सताएको साथीलाई चुरोट नखा । चुरोटको धूवाँ झ्यालबाट बाहिर फाले पनि गन्ध त भित्र पस्छ । चुरोटको गन्ध मन नपराउने, सहन नसक्ने जमातमा एक व्यक्तिको अम्मलका खातिर प्रदूषण फैलाउनु पनि त राम्रो भएन । 

साथीले चुरोटका अम्मलीलाई हेरे र भने— “त्यसो भए बस रोक्न भनूँ तिम्रो अम्मलको लागि ।” 
    “नाइँ ।”
    “चुरोट माडमुड पारेर मुखमा हाल ।”
    “धूवाँ मात्र लिने गर्छु ।”
    “धन्यवाद— तपाईले बुझ्न पाउनुभयो चुरोटले दिएको पीडा ।”
    “होइन ।”
थाहा छ कि छैन दुईमा के कस्ता कुरा भयो पछि । यथार्थमा त तिनीहरूमा संवाद नै भएको थिएन । अम्मल, विवेक अर्थात् शरीरलाई, मनलाई कज्याउने साधन । 

हातमा चुरोट लिएर पसिना पुछ्दै गरेको मानिससम्म सत्य हो र अरू कल्पनाले सिँगारेको शब्द मात्र हो । एउटा प्रसङ्ग अर्को छ । कुरो अचम्मकै हो तर चुरोटको होइन ।

एकजना मित्रको वचन राख्न ॐ शान्तिको शिविरमा एकपटक जाने मौका पाएँँ । ठूलो हलमा मोटो गद्दामा सेतो तन्ना बिछ्याइएको थियो । म खाली स्थान खोजेर अर्ध पद्यासनमा बसेँ । वाचक दिदीले मधुर वाणीमा ब्रह्माण्डबारे जानकारी गराउँदै हुनुहुन्थ्यो । 

यहाँ जे लेख्दैछु यो झुटो र मनगढन्ते होइन, ज्ञान प्राप्ति स्थलको सत्य कुरा लेख्दैछु । भित्तामा अडेस लाएर बसेका एक जना मानिस बडो चलमलाइरहेका थिए ।

अस्वाभाविक क्रियाकलाप देखाएको हुँदा उनीतर्फ आकर्षित भएँ । उनको छेउँमा गएर कानमा विस्तारै कुनै असुविधा छ कि भनेर सोधेँ । अस्वभाविक क्रियाकलाप गरेकोसँग दया वा विद्रोह गरिन्छ । त्यस्ताले आफ्नो क्रियाकलाप लुकाउन खोज्छ तर जतिसुकै लुकाउँदा पनि लुकाउन सक्दैन । 

यो सत्य सायदै सोचेको नै हुँदैन । उसले भन्न सक्छ । मेरो क्रियाकलाप अर्थात् बानी मेरो आफ्नै हो । प्रत्येकको क्रियाकलाप सभ्यता र संस्कारितामा जेलिएको हुन्छ । स्वभाविक भयो र छ भने सहयोग पाइन्छ । क्रियाकलाप समाज र सभ्यताको आफ्नोपन हो ।

सोधाइमा “छैन” त भन्यो तर व्यवहार पहिलेको झै नै थियो । उसलाई के भएको हो भनी जान्न चाहेँ । उसले मुखमा सुर्ती छ पिक फाल्ने ठाउँ नपाएर यताउती हेरेको यथार्थ बतायो । 

असहाय भएपछि सबैको नजर बचाएर गद्दा उल्टाएर फाल्यो, यो गलत कुरा भएन र ! ती महाशयका क्रियाकलाप ॐ शान्तिका दिदीहरूका नजरबाट लुकेको रहेनछ, उहाँहरूले सहानुभूति देखाउनुभयो । तर उसको त्यस अवस्थाको वर्णन कसरी गरौँ ? 

उसको यथार्थ थाहा पाएपछि हलका सबैजना हाँसे । तर वास्तविकता त ऊ जस्तै अरुहरू पनि कुनै न कुनै अम्मलका दास पक्कै छन् । हामी बिर्सने गछौँ, आफूले साचेको अम्मलले कुनै दिन दुःख दिन्छ भनेर । हलमा प्रवेश गर्नुअघि एक नम्बरको सरैसाको कंठा सुर्ती खाएको रहेछ । 

उम्दा सुर्ती पाएको हुँदा फाल्न मन लागेनछ । तर सुर्तीले करामत देखाउन थाल्यो । दुई पटकको पिक रुमालमा थापी बगलीमा हालेछन्् । मुखभरी पिक भएपछि कुनै उपाय नपाएपछि गद्दा उल्टाएका रहेछन् ।

अम्मलको सहारामा चलेको जिन्दगी लज्जास्पद भयो । ज्ञान प्राप्ति हेतु गएको, सबैको उपहासको पात्र बन्यो ।

यस्ता अम्मली पनि पाएको छु जसले आफ्नो अम्मलका लागि ज्यान जोखिममा पारेको थियो । जिन्दगी एउटा यति अनमोल चिज हो । अम्मलको बसमा परेर ज्यान फाल्नु ठीक होइन । एकजना दाजु हुनुहुन्छ । उहाँ पानको एकदम शौखिन । 

जहाँ गए पनि पान खानै पर्ने । यति मात्र होइन भात खाएपछि कुनै पनि अवस्थामा पान खानै पर्ने । संकटकालको कुरा हो । बाहिरबाट आएको ढिलै भात खाएर घरका मानिसले रोक्दारोक्दै पनि पान खान घरबाट निस्किनु भयो । बन्द गर्न लागेको एउटा पान पसल बल्लतल्ल फेला पार्नुभयो ।
    
आफ्नो रूचि अनुसारको पान बनाउन लगाएर खाएर मस्तसँग फर्किदै हुनुहुन्थ्यो । गस्तिमा हिँडेका सुरक्षाकर्मीको फन्दामा पर्नुभयो ।
    
अपशब्द सुन्नु त सामान्य कुरा हो, बन्दुक तेर्साएर खट्याक खट्याक गर्दा आधा प्राण निस्केको थियो । आफू निजामती कर्मचारी भएको परिचय र आउनाको कारण बताउँदा उहाँ सुरक्षा कस्टडीमा त पर्नुभएन तर सुरक्षाकर्मीले पच्चीस पटक कान समातेर उठबस भने गराएरै छाडे । 

यस्तो समस्या पर्न सक्छ भन्ने ज्ञान नभएको होइन । पानको अम्मलले उहाँले कष्ट बेहोर्नु परेको हो । 

अर्को घटना त झन गजबको छ ।

पानप्रेमी भएको हुँदा पक्राउ पर्नुभएको थियो । गौर मालपोत कार्यालयमा द्वन्द्वरत माओवादीले बम विष्फोट गराएको १५ दिन जति भएको थियो होला । 

समयमै साइकल चढी पान खान निस्किएका थिए पानप्रेमी । सेनाको डरले पसलहरू चाँडै बन्द भएको हुँदा पान खान पाएनन् । 

गाउँघरमा फूफाजू भनेर बोलाइने गरेका वादशाह नाम गरेकालाई अनुरोध गरी पान बनाउन लगाएर खाएरै छाडे । घडी हेरे कर्फ्यू लाग्न करिब दुई घण्टा बाँकी थियो ।
    
चिसो घट्दै थियो, साइकलमा सैर गर्न थाले, सुनसान सडकमा ।

जर्दा पानको मस्तिमा गुनगुनाउदै विस्तारै साइकल हाँक्दै एक घण्टापछि घरतर्फ हिँडे । अदालत भवनको सुरक्षार्थ बसेको सेनाले “हल्ट” भनेपछि यथार्थको धरातलमा आइपुगे । 

कर्फ्यू लाग्न पच्चीस तीस मिनेट बाँकी नै थियो तर शाही शासनको सेना न ठहर्यो । घोक्राउँदै, पिट्दै लगिहाल्यो, शाही आशीर्वाद दिँदै । 

भोलिपल्ट मेजरले कर्मचारी परिचयपत्र हेरेपछि हप्काउँदै समयमै घर जानु, बाहिर ननिस्कनु भन्ने पाठ पढाएर छाडिदियो । 

अम्मलले सधैँ अप्ठेरो पार्छ, यो कुरा त मान्नै पर्दछ । अल्कोहलप्रेमी भेट्टाएको छु, नालीमा मुख जोतेको । 

कुकुरले रद्दी बस्तु ठानी तुक्र्याइ दिएको । चाहिँदो नचाहिँदो बोलेर झगडा निम्त्याएको । अम्मलीले भन्न सक्दछ— म होइन अर्थात् मैले होइन, अम्मलले गराएको हो । अम्मलका बसमा परेकाहरूलाई सम्भव छ । 

प्रत्येक सभ्यता र संस्कारितामा पाइने सम्भावना छ । तिनीहरू अल्छी हुन्छन्, समाज बहिस्कृत हुन्छन्, सहयोग पाउँदैनन् । 

यसकारण अमर्यादित हुन्छन्, सभ्य समाजले रुचाएको हुँदैन । यस मानसिकताको ब्यूँह भत्काउन सक्यो भने मात्र अम्मल त्यागेर सहज बन्न सकिन्छ । अन्यथा सहजतालाई अम्मलीहरू अशिक्षा र असभ्य भन्ने गर्छन् ।

अम्मलीहरू इष्टमित्रलाई टाढा भगाउने गर्छन् । धन सम्पत्ति मात्र होइन आफ्नो स्वास्थ्य बिगार्छन् । भन्ने गर्छन् “गम भुल्न र पीडा लुकाउन पिउन शुरु गरेँ । कहिले म रक्सीको दास बन्न पुगेँ थाहै भएन । सूर्यास्त भएपछि छट्पटाउने गर्छु, रक्सीको नशामा मात्र मुक्ति पाउँछु । यथार्थमा नशामा हराउने गर्छु ।”

यस्तै भन्छन् रक्स्याहाहरू । गाँजाका अम्मलीहरू त्यस्तै समाज खोजी हिँड्छन् । त्यहाँ समाजले राम्रो नजरले नहेरेकाहरूको जमघट हुने गर्छ । उनीहरू धूवाँमा जीवन विसर्जित गर्छन् ।

    आरम्भमा त चुरोट भरेर गाँजाको नशा लिन्छन् । गाँजाको नशाले चिलिम समात्न लगाउँछ । दिमाग सधैँ नशाको लागि लालायित हुन्छ ।

    श्रम गर्ने जाँगर हराउँदै जान्छ । दम खोकीले पछ्याउँछ । उनीहरूको गाँजाको अम्मल चाँडै बुढ्यौली ल्याउने साधन बन्छ । यो कुरा पक्का हो । अम्मलीहरू अम्मल सेवन गर्दा तृप्त, कृतार्थ र तुष्ट अनुभव गर्छन् ।

    अम्मलले दिने तुष्टि के जीवनोपयोगी हो त ? जीवन प्रगतिपथमा लगाउन अम्मलले महत्वपूर्ण भूमिका निभाउँछ त ? भाङको गोला सेवन गर्नेहरू भन्ने गर्छन्, नशा सात्विक भयो भने मात्र समाजको मङ्गल हुन्छ । 

भाङ, गाँजा खानेहरू झगडालु स्वभावका हुँदैनन् । अल्कोहल सेवनकर्ता अधिकांश झगडालु स्वभावका हुन्छन् । व्यक्तिको स्वभाव अनुसार अम्मल चयन गर्ने गरिन्छ । समाज र सङ्गतले अम्मल चयन गर्ने गरिन्छ ।

 शान बढाउन नशा सेवन, पान खानु प्रवृत्ति बनिसकेको छ समाजमा । अम्मलको प्रतिकार विरोध गर्न सकिँदैन र त चुनौती छ । अक्सर पाइने गरे झैँ चुरोटका अम्मली जन्तीको बसमा भेट्टिएका ती भलाद्मीले चुरोट झ्यालबाट फालेर सबैलाई साक्षी मानेर “अबदेखि चुरोट नखाने” किरिया खाए । किरिया खानु एउटा कुरा हो, पालन गर्नु अर्को । सज्जन चुरोटका आशक्त थिए ।
    
चुरोट भक्त थिए, भलादमी बनी टोपल्थे । कुलतले गर्दा चुरोटको तलतल लाग्यो कि उनी शौचालय जाने गर्छन् रे अचेल ।

नैतिकताको कुरा गर्ने हो भने ओम शान्ति शिविरमा लज्जित भएकाले त सुर्ती खानु त के मुखै नहेर्नुपर्ने हो, तर उनले आफ्नो कुलतलाई लगाम लगाउन सकेनन् । 

पान खाएर शान सम्झनेहरूको कमी छैन । पानमा हालिने केमिकलयुक्त गुट्का र सूर्तीले मुख, घाँटी, गिजा, जिब्रोमा क्यान्सर हुने गरेको पानको खानी भारतका पत्रपत्रिकामा बरोबर पढ्न पाइन्छ । 

पानमा यौन उत्तेजक कुरो मिसाएर भर्खर पान खान थालेकी युवतीलाई खुवाएर अस्मिता भक्षण गरेको पनि थाहा पाएको छु । यसैगरी पानमा नशालु पदार्थ हाली क्षणिक मस्तीमा भुलेको पनि जानकारी छ । 

सजिलै उपलब्ध भएसम्म पान खानु त ठीकै हो । पानको लागि पाँच किलोमिटर वाहनमा जानु कति उचित हो यसतर्फ पनि सोच्नु पर्दछ । मात्र अम्मलको लागि स्थिति नबुझी हिँड्नुलाई राम्रो भन्न सकिन्न । 

एकजना पानचीले पान खाएर अबेला टहल्दै आउँदा मुन्द्रेहरूले फेला पारी मोबाइल, पैसा, सिक्री र घडी मात्र होइन छुराको चोट पनि खाएको पाएको छु । 

अल्कोहल पिउँछ वा अल्कोहलले पिउँछ— यसको सही जवाफ मैले पाउन सकेको छैन ।  

मेरा थुप्रै साथी मस्तसँग अल्कोहल पिउने गर्छन् । कतिपयलाई अल्कोहलले अर्कै लोकमा लगिसक्यो । कसले कसलाई पियो म भन्न सक्तिनँ । 

मलाई थाहा छ कुलतमा लागेकाहरू बरोबर किरिया खाने गर्छन् । “मैले ज्ञान प्राप्त गरेँ अब कहिल्यै गाँजाको सेवन गर्दिन । कसैले जतिसुकै कर गरोस् अब म भाङ खान्नँ ।” 

तासको कुरो चल्दा मैले गज्जु बाबुलाई बिर्सनु हुन्न । उहाँ तासको प्रेमी, कोही नहुँदा एक्लै भए पनि तासको पत्तासँग खेलिरहेको धेरै पटक देखेको छु मैले । 

एकदिन काम विशेषले उहाँको घर गएको थिएँ । मलाई तास खेल्न कर गर्न थाल्नुभयो । मैले पछि थाहा पाएँ तास खेल्नेसँग पैसा छैन भने सापट दिएर पनि खेल्नु पर्ने ।

जसको प्रेरणाले म यो निबन्ध लेख्दै छु उनै बेचु काकाको करामत यहाँ उल्लेख गरिन भने यो अधुरो अपुरो रहनेछ । 

बेचु काका लेखनदास हुनुहुन्थ्यो । शनिबार अथवा फुर्सदको बेलामा मात्र तास खेल्ने गर्नुहुन्थ्यो । तास खेलेपछि जित्नु हार्नु स्वाभाविकै हो । 

गोविन्द काका बिरामी हुनुहुन्थ्यो । उहाँको अन्तिम अवस्था भएको हुँदा हेर्न बुझ्न र घर परिवारकालाई सान्त्वना दिन हामी त्यो घरमा जाने गथ्र्यौं ।त्यो घरमा सान्त्वना दिने मानिसहरूको जमघट भएपछि तासको खेल हुनु त स्वाभाविक नै हो । एकदिनको कुरा हो बेचुकाका नराम्ररी हार्नु भएको रहेछ । उहाँमा क्रोध निकै बढ्यो । 

तास खेल्ने अवगुण हो, त्यसमाथि क्रोधित हुनु त राम्रो होइन ७६ वर्षका बुढाले त्यहाँ भएको तास च्यातचुत पारिदिनुभयो । 

“अब हम किजात तास नखेलम्, गौ मारी पाप हम किरिया खैली एक नखेलम्, दु नखेलम्, तीन नखेलम्” भन्दै अब आइन्दा तास नखेल्ने किरिया खाएर खुट्टा बजार्दै बेचुकाका त्यहाँबाट निस्कनुभयो ।

मानौँ सम्पूर्ण कुलतबाट मुक्ति पाएर हलुङ्गो बनेको झैँ देखिनु भएथ्यो । बेचुकाका बिरामी हेर्न आउनु हुन्थ्यो । केहीबेर भलाकुसारी गरी फर्कनुहुन्थ्यो । 

पाँचौँ दिन तास खेलिरहेको ठाउँमा टुसुक्क बस्नुभयो । छैटौँ दिन एकजना केटालाई “बउआ हट् त हमरा के तनी खेले दे ” भन्नुभयो ।

खेलाडी मध्येकै एकजनाले “काका अपने त किरिया खाइले रहि तास नखेलम् कहके” भन्यो । 

बेचुकाका पड्कनुभयो— “कैसन किरिया, जन्म देवेवाला माइ बापके किरिया त तेह्र दिनमे पूरा होजाला तासके किरिया त तेर घण्टामे पूरा होगेल् । किरिया किरिया कहके काहे रट लगारहल् छे रे ।”
            
              



नयाँ