arrow

डोरम्याट

logo
छविरमण सिलवाल,  
प्रकाशित २०८० चैत ३ शनिबार
chhabiraman-silwal-80-12-03.jpg

महाराज, 
सदियाैँदेखि मैले
खाइरहेछु हजुरको लात
भन्नुस् न अब कतिन्जेलसम्म चल्नेछ
मेरो छातीमाथि हजुरको क्रिडा ?
मेरो छातीमा ड्याङ ड्याङ 
बुट बजाउँदै 
मलाई फोहरी बनाएर 
भित्र छिर्नुहुन्छ सुकिलो तपाई
त्यतिबेला लाग्छ, 
म हजुरहरूकै 
लात खानै जन्मेको हुँ 
महलभित्र के के गर्नुहुन्छ 
त्यसको प्रत्यक्ष साक्षी म 
बाहिरै फोहर र लात खाएर बसेको छु, 
सुकिलो पहिरनमा 
मैला कर्तुत गर्ने हजुरजस्ता थुपै्र महाराजहरू  
जसरी म र हाम्रा छातीमाथि
आफ्ना फोहरी तलुवाहरू घसारेर 
शानसँग भित्र पस्नुहुन्थ्योे
त्यसैगरी समयले उहाँहरूमाथि 
तलुवा मात्रै घिसारेन
परिवर्तनको लात्ते भकुण्डो नै हानिदियो 
ठीक हजुरलाई जस्तै
उहाँहरूलाई पनि
धेरै पटक सम्झाउन खोजेको हुँ 
तर जमीनको आवाज सुन्ने फुर्सद कहाँ !
र त उहाँहरू समयको घट्टमा मजाले पिँधिनु भयो 
महाराज,
यो आलिशान दरबारले 
धेरै महाराजहरूलाई 
निलेको समयका साक्षी हामी हाँैं !
दरबार छिर्न हाम्रै छाती चाहिन्छ
तर हाम्रो स्थान सधैँ बाहिरै हुन्छ, 
इतिहासमा 
सबैले जस्तै 
महल छिर्दामात्र हाम्रो साथ खोज्नुभयो 
जरूर हो
हाम्रो मुक्तिको लागि लड्नु भएको 
जेलनेल खानु भएको 
हाम्रो विश्वासले पनि भन्यो
हजुरलाई सफा बनाएर यो दरबार छिराएपछि
हाम्रा पनि सुखका दिन आउने छन् 
तर वर्षौँसम्म पनि हजुरले बाँडेका सपना साकार नहुँदा
हामीले आफ्नै भाग्यलाई दोष दियौँ
दरबार छिर्दा
हजुरले बाहिरै फुकाल्नुभएको हात्तीछाप चप्पल 
अहिले पनि यी जस्ताको तस्तै छ यहाँ,
हजुरले चप्पल फुकालेकै दिनदेखि त हो 
हाम्रा छातीमा बुट बजार्न थाल्नुभएको ! 
हो, त्यही दिनदेखि नै हो
हाम्रो दुःखको आदिम घाउ 
अझै गहिरोसित टन्किन थालेको ! 
महाराज, 
कतिन्जेलसम्म चल्नेछ
हाम्रो छातीमाथि हजुरको राज ?
(कवि सिलवालको बजारमा जाने तर्खरमा रहेको कवितासङ्ग्रह डोरम्याटबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ