- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीचको खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाल २–० ले पछि परेको छ । खेलको १४ औं मिनेटमै नेपालले गोल खान पुग्यो । त्यस्तै ४२ औं मिनेटमा अर्को गोल खाएको हो ।
घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने राम्रो अवसर भएको भए पनि मध्यान्तरसम्म नेपाल २–० ले पछि परिसकेको छ । नेपालको शुरुआती ११ मा मुख्य प्रशिक्षक कुमार थापाले सावित्रा भण्डारी साम्बालाई राखेका छैनन् । डेंगीले गर्दा पछिल्ला खेलमा खेल्न नसकेकी साम्बाले यो खेलमा पनि खेल्ने टुङ्गो छैन ।
गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु, दिपा शाही, प्रिती राई र रश्मीकुमारी घिसिङ मैदानमा रहेका छन् ।
नेपाल पाँचौं पटक फाइनल खेलिरहेको छ । पहिलो उपाधि जित्नका लागि नेपाललाई राम्रो अवसर रहेको छ । नेपालले यसअघि चार पटक फाइनल भारतसँग हारेको थियो । एक पटक भने नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।
यसपटक नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो । नेपालले पहिलो पटक साफमा भारतलाई हराएर कीर्तिमान राख्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालले साफमा बंगलादेशबाट अहिलेसम्म हार बेहोरेको छैन । तर यो फाइनल भने नेपालका कतै प्रतिकुल हुने त हैन भन्ने चिन्ता फुटबलप्रेमीमा बढेको छ ।