arrow

डेंगीको महामारी नियन्त्रण बाहिर, २१ हजार बढी संक्रमित, २७ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
dengue--ji-ha.jpeg

काठमाडौं । कोरोना भाइरसको महामारीले थलिएको नेपालमा हाल डेंगी महामारी नियन्त्रण बाहिर गएको छ । देशभर डेंगी संक्रमित २१ हजार नाघेका छन् । पछिल्लो केही हप्तादेखि डेंगीका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्ने गरेका छन् । अर्थात् डेंगीले कडा रुप लिँदै गएको छ । 

अहिले उपत्यकाका हरेक जसो अस्पतालमा डेंगीका बिरामीहरु रहेका छन् । त्यस्तै तराई भेगमा पनि हरेक अस्पतालमा डेंगीका बिरामीहरु रहेका छन् । कडा खाले डेंगी लागेसँगै अहिलेसम्म सरकारी तथ्याङ्कअनुसार २७ जनाको मृत्यु भइसकेको छ । 

अस्पतालमा पुग्ने बिरामीहरु गम्भीर स्वास्थ्य समस्या लिएर पुग्ने गरेका छन् । कोरोना भाइरसका लक्षणजस्तै देखिँदै आएकामा पछिल्ला केही दिनदेखि भने बिरामी बेहोस हुने र रक्तश्रावसमेत हुने गरेको छ । 

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउने गरेको बताएका छन् । उनले पहिले डेंगी भइसकेका बिरामीलाई दोस्रो पटक डेंगी हुँदा कडा खालको लक्षण देखिएको बताए । 

बिरामीलाई गाह्रो नपरी अस्पताल नजाने भएकाले पनि समस्या बढेको चिकित्सकहरुको भनाइ छ । पहिले ज्वरो आएर सिटामोल खाएर निको भइसकेको बिरामीलाई केही दिनपछि झन् कमजोर गर्दै लगेको उनीहरुको बुझाइ छ । 

पछिल्लो समय बान्ता हुँदा, खोकी लाग्दा, गिँजा–नाकबाट रगतसमेत देखिन थालेको छ । 

सरकारको बेवास्ता
निकै खतरनाक शैलीले डेंगी फैलदासमेत सरकार भने मौन देखिएको छ । तीन तहका सरकारले कुनै विशेष कदम चालेका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने स्वास्थ्य मन्त्रालयमा डेंगी प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको छ । तर मन्त्रालयले वास्ता गरेको छैन । 

सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ । तर यो अभियान घर–घरमा संक्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु उपयुक्त उपाय भए पनि व्यवहारमा लागु हुन नसकेको विज्ञको तर्क छ । 



नयाँ