arrow

दुई दर्जनविरुद्ध भ्रष्टाचारको मुद्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
CIAAoffice.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार बाँके कोहलपुर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो । 

यसैगरी, सप्तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको र  जिल्ला कैलाली श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीविरुद्ध शैक्षिक योग्यताको झुट्टा ९नक्कली० प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरिएको हो । 

जिल्ला सुर्खेत, साविकको घुमखहरे गाविसका तत्कालीन गाविस। सचिव खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत चारजना उपर सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पु-याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको जानकारी दिएका प्रवक्ता भण्डारीले  भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु-याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको बताए । 

यसैगरी डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पु-याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ