क्षुद्रग्रहसँग नासाको अन्तरिक्ष यान ठोक्कियो, वैज्ञानिकहरुमा खुसियाली
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
2.9k
Shares
काठमाडौं । पृथ्वीमा ठोक्किन आउने विनाशकारी क्षुद्रग्रहहरुको दिशा परिवर्तन गर्न त्यसमा पृथ्वीबाट पठाइएको अन्तरिक्ष यान ठोक्काउनका लागि डिजाइन गरिएको एक अभूतपूर्व परीक्षणमा नासा सफल भएको छ ।
नासाको डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट (डार्ट) अन्तरिक्ष यान सोमबार दिउँसो पृथ्वीबाट करिब १ करोड १० लाख किलोमिटर टाढा रहेको एस्टेरोइड डिमोर्फोसमा ठोक्किन सफल भएको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सीले वाशिंगटन डीसी बाहिरको मिसन अपरेशन सेन्टरबाट परीक्षणलाई प्रत्यक्ष प्रसारण गरेको थियो।
डार्टको आफ्नै क्यामेराले क्षुद्रग्रहमा ठोक्किनु अघि खिचेको तस्बिरले डिमोर्फोस क्षुद्रग्रह फुटबल स्टेडियम जत्रो रहेको देखाएको छ भने, अन्तरिक्ष यान डार्ट भने दुई वटा सोलार प्लेट जोडिएको भेन्डिङ मेसिन आकारको रहेको थियो ।
क्षुद्रग्रहको नजिक अन्तरिक्ष यान पुग्दै गएपछि ठोक्किएसँगै सिग्नल समाप्त भएको थियो र यसले डार्ट अन्तरिक्ष यान डिमोर्फोसमा ठोक्किएको ठानिएसँगै वैज्ञानिकहरूले खुसी मनाएका थिए ।
'विश्वको पहिलो ग्रह रक्षा परीक्षण मिसनको लागि प्रभाव पुष्टि भयो,' लाइभ स्ट्रिममा देखा परेको ग्राफिकसँगै लेखिएको थियो। अन्तरिक्ष यानले क्षुद्रग्रहको गतिलाई सरासर काइनेटिक फोर्स मार्फत परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर निर्धारण गर्न यो मिशन तयार गरिएको थियो ।
यति सानो अन्तरिक्ष यानले समेत यो क्षुद्रग्रहले पृथ्वीलाई हानिगर्ने बाटोबाट अन्त मोड्न सकिने वैज्ञानिकहरूले बताएका छन्। अर्को महिना जमिनमा आधारित टेलिस्कोपबाट अवलोकन पूरा नभएसम्म यसको सफलता भने पुष्टि हुने छैन ।
'यो एक चुनौतीपूर्ण परीक्षण हो र यसैले हामीले यो टेक्नोलोजीको आवश्यकता भन्दा पहिले नै यो प्रविधिको विकास गर्न यी पहिलो चरणहरू लिइरहेका छौं,' मिसन समन्वय नेतृत्वकर्ता न्यान्सी चाबोटले भनेकी छन् ।