arrow

आन्तरिक रस्साकस्सी

गुरुङ र अधिकारीको लडाइँले गण्डकीको सरगर्मी बढ्दो, आँखा मुख्यमन्त्रीको कुर्सीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
prithiv-subbha-gurung-khagaraj-adhikari.jpg

काठमाडौं । एमाले गण्डकी प्रदेशमा दुई धार देखिएको छ । संघीय संसदको निर्वाचनमा अलिक राम्रो मानिएको गण्डकी प्रदेशमा दुई नेताहरुबीच टकराव देखिएपछि पार्टीभित्रै दुई धार निर्माण भएको हो । समानुपातिक टिकट वितरणदेखि संघीय संसद र प्रदेशमा समेत दुई धार देखिएको छ ।

 ‘गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भर्सेस खगराज अधिकारी भन्ने हो दुवै नेताको जुँगाको लडाइँले पार्टीलाई हानि पुर्याउँदै छ’, गण्डकीबाट प्रतिनिधित्व गर्ने एक नेताले भने । 

एमालेको दशौं महाधिवेशनदेखिनै पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच बोलचाल बन्द भएको अहिलेसम्म कायमै छ । उनीहरुबीच समन्वय नहुँदा जिल्ला कमिटी राम्रोसँग चलयामान हुन सकेका छैनन् । साथै सचिव पद्मा अर्याल पनि कसलाई साथ दिने भन्नेमा अन्यौलमै छिन् । 

गत निर्वाचनमा नेकपा एमालेमा प्रदेशसभाको संसदीय दलको नेता बन्ने उद्देश्य राखेर एमालेका तत्कालीन सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ गण्डकीको प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । ‘पार्टीको सचिव र संगठन विभाग प्रमुख प्रदेश सभामा किन आउँछ ? मुख्यमन्त्री बन्न नै आएको हो नि । यसमा सबै प्रष्ट हुनुपर्छ’, उनले भनेका थिए । अहिले पनि सुब्बा प्रदेश सभाका लागि सिफारिस भएका छन् । 

०७४ को निर्वाचनमा गुरुङसँगै नेकपा एमालेमा स्थायी समिति सदस्य किरण गुरुङ पनि प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्न आए । उनले पनि आफूलाई मुख्यमन्त्रीकै दाबेदारका रुपमा उभ्याए । ‘स्वभाविक रुपमा मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशसभामा प्रतिस्पर्धा गर्न आएको हो’ उनले भनेका थिए । त्यतिबेला उनीहरुबीच मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा नै चलेको थियो । 

कास्कीमा एमालेमा प्रभावशाली नेता खगराज अधिकारीले भने प्रदेशको मुख्यमन्त्री बन्नेतर्फ चासो राखेका थिएनन् । स्वास्थ्यमन्त्री बनेका अधिकारी गत निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भई छोटो अवधि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका अधिकारीले दशौं महाधिवेशनमा पदाधिकारीको अपेक्षा गरेका थिए । तर संगठन विभागमा चित्त बुझाए ।

संघीय मन्त्री बनिसकेका पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्य निर्वाचित बनेर एमाले गण्डकीको संसदीय दलको नेता चयन हुँदै गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्न सफल भए । 

मुख्यमन्त्री बन्नकै लागि गुरुङसँगै प्रदेश ओर्लेका किरण गुरुङ प्रदेश सभामा विजयी भएर संसदीय दलको नेता बन्न पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धा गरे । तर, उनी पराजित बने । पराजित बनेका किरणले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । अहिले  प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङको प्रदेश निर्वाचन क्षेत्र ख बाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि पृथ्वी सुब्बा गुरुङ सिफारिस भएका छन् । 

फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने उद्देश्यसहित गुरुङलाई प्रदेशमा निर्वाचन लड्न लगाइएको हो । यता कास्कीको क्षेत्र नम्बर १ प्रदेश क बाट प्रदेश सभा सदस्य उम्मेद्वारको लागि खगराज अधिकारी सिफारिस भएका छन् । उनलाई पनि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने उद्देश्यसहित सिफारिस गरिएको एमाले कास्कीका नेताहरुले बताएका छन् ।

 ‘यहाँ दुवै नेताहरुको लडाइ छ भनेर यसरी स्पष्ट हुन्छ’, एमाले कास्कीका एक नेताले भने । गण्डकी प्रदेशमा अझ खासगरी कास्कीमा एमाले पूर्णतया पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको पक्षमा विभाजित छ । 

एमालेको जिल्ला अधिवेशन र हालैसम्पन्न स्थानीय तहको निर्वाचनमा समेत दुई पक्षीय नेता कार्यकर्ता एक अर्काका पक्षका कार्यकर्ताको विरुद्धमै लागेका थिए । पोखरा महानगरमा मेयरका उम्मेद्वार बनेका कृष्ण थापा गुरुङ पक्षधर नेता कार्यकर्ताको असहयोगकै कारण पराजय भएको अधिकारी पक्षको आरोप छ । यो विवाद अहिले केन्द्रसम्म नै पुगेको छ । 

यही बीचमा गुरुङ र अधिकारी प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सिफारिस हुनुले निर्वाचित भएमा दुवैजनाले संसदीय दलको नेतामा दाबी गर्नेछन् । एमाले नेता किरण गुरुङ भने यसपालि तनहुँबाट प्रतिनिधि सभा सदस्यकै लागि उम्मेदवार बन्ने तयारी छन् । 

प्रदेशको प्रतिस्पर्धामा आफू नरहेको र आफू संघतर्फ नै निर्वाचन लड्ने बताएका छन् । सुब्बा र अधिकारीको लडाइँले यसपटक एमाले गण्डकीलाई निकै प्रभावित पार्ने बताइएको छ ।

 ‘उनीहरु दुवैको लडाइँका कारण किरण गुरुङ भने संघीय संसदको निर्वाचनतर्फ लागेका हुन् । उनी यसपटक प्रदेशमा प्रतिस्पर्धा गर्दैनन्’, एमाले गण्डकी प्रदेशका एक पदाधिकारीको भनाइ छ । 

किरण गुरुङ आफू भने स्वाभाविक रुपमा संघको टिकट लिएर संघीय संसदमा जान लागेको बताउँछन् । ‘प्रदेश भन्दा संघमा जान चाहेको हुँ तर टिकट निर्धारण भएको छैन, पार्टीले टिकट दिएपछि थप कुरा गरौँला’, एमाले स्थायी कमिटी सदस्यसमेत रहेका किरण गुरुङले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ