arrow

बलात्कार आरोपी सन्दीप लामिछाने फर्किदै, प्रहरीले एयरपोर्टबाटै पक्राउ गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
sandeep-lamichhane2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज नेपाल आउँदैछन् । उनी बिहान १० बजे स्वदेश फर्किने फेसबुकमार्फत जनाएका छन् । 

उनले कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको जानकारी दिएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने छन् । अर्थात् काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको लामो समयपछि वेष्ट इन्डिजबाट फर्किन लागेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो । 

सन्दीपले आफू सहजै प्रहरीको जिम्मामा नरहने स्पष्ट पारिसकेका छन् । अर्थात् निकै समय लगाएर फर्कदै गरेका लामिछानेले आफू एयरपोर्टमाा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका कारण पनि उनी मुद्दा लड्न तयारीका साथ आएको अनुमान गरिएको छ । 

१७ वर्षीया नाबलिग किशोरीले गत भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।

ती किशोरीको जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । 

लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध टी–२० क्रिकेट शृंखला खेल्न भदौ ६ गते नैरोबी गएका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका थिए । त्यहीँ छँदा यहाँ उजुरी परेपछि उनी कानूनी प्रबन्ध मिलाउनका लागि उतै बसेर आज मात्र फर्किन लागेका हुन् । 

जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरेको थियो । सीसीटीभीमा ती युवती र सन्दीप देखिएका थिए । प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ ।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान थालेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

सन्दीप नेपाली क्रिकेटमा कम उमेरमै सर्वाधिक सफलता हासिल गर्ने व्यवसायिक खेलाडी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ