arrow

एएफसी यू–१७ एसिया कप छनोटमा नेपालले भियतनामसँग खेल्दै, नीति काउन्टर अट्याकको

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
nepal-u17-football-2079-06-21.jpg

भियतनाम । एएफसी यू–१७ एसिया कप छनोट फुटबलको दोस्रो खेलमा नेपालले आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ ।

फु थोस्थित भियत त्रिस्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो ।

भियतनाम भने लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा भियतनामले चाइनिज ताइपेईलाई ४–० ले हराएको थियो । चार टिम सहभागी समूह एफको अन्तिम खेलमा नेपालले आइतबार चाइनिज ताइपेईसँग खेल्नेछ ।

छनोटको समूह विजेता एसिया कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीलेसमेत एसिया कप खेल्नेछन् ।

आजको खेलको नेपालको रणनीति 
नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन्। ‘भियतनाम बलियो टिम छ। तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन। जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो । त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ। अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ,’ श्रेष्ठले भने । 

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेलुपर्ने बताउँछन्। ‘हामी डिफेन्ड गर्दा समूहमा, अट्याक गर्दा पनि समूहमै छौँ । व्यक्तिगत कौशल भन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो। पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो । आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस् भनेर चनाखो रहनेछौँ,’ श्रेष्ठले भनेका छन् । 

नेपाली टिमका कप्तान प्रशान्त लक्षम पनि अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताउँछन् । पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ। ‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टिम हो भियतनाम। भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ। हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ। प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ,’ लक्षमले भने। (एनएसजेएफको सहयोगमा)



नयाँ