arrow

प्रतिनिधि सभा-प्रदेश सभा निर्वाचन डडेल्धुरा 

प्रतिस्पर्धीसँग सहकार्य गरेर चुनाव जित्ने देउवा र मल्लको दाउ

logo
राम धामी,
प्रकाशित २०७९ असोज ३० आइतबार
deuba-malla-dadheldhura.jpg

डडेल्धुरा । सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । 
 
डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरीत पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका हुन ।
 
प्रधानमन्त्री देउवाले मात्रै होइन, उनीसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेस (वीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा झिनो मतले पराजित डा. तारा जोशीसँग सहकार्य गरिरहेका छन् ।

शनिवार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस (वीपी) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मल्ल र सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गरेका छन् । 

प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा नेकपा (एमाले)सँगको गठबन्धन तोडेर भए पनि मल्लले आफ्ना निकटतम प्रतिस्पर्धीसँग सहकार्य गर्नु संयोग मात्रै नभएको जिल्ला राजनीतिका जानकारहरू बताउँछन् । नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले स्वतन्त्र उम्मेदवार डा. जोशीलाई समर्थन गरेको छ भने डा. जोशी लोकप्रिय नेताका रूपमा जिल्ला राजनीतिमा साढे तीन दशकदेखि क्रियाशील छन् ।

नेकपा(एमाले)ले नेपाली कांग्रेस (वीपी) का उम्मेदवार मल्ललाई समर्थन गर्दै चक्रप्रसाद स्नेहीले दर्ता गराएको उम्मेदवारी फिर्ता लिएको थियो । एकीकृत समाजवादीका नेता डा. जोशीलाई समर्थन गरेको भन्दै एमाले डडेल्धुराले प्रतिनिधि सभा सदस्य पदमा मल्ललाई सघाउन नसकिने जनाएको छ । एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी फिर्ता लिएपछि प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा उम्मेदवारी दर्ता गराएका गणेशप्रसाद जोशीको उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस (वीपी) डडेल्धुराले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा एमालेसँगको चुनावी गठबन्धन कायमै रहेको जनाएको छ ।

नेपाली कांग्रेस (वीपी)सँग सहकार्य गर्न नहुने अडानमा रहेका एमाले नेता विक्रमबहादुर शाहीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टी विभाजनका बेला एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका शाहीले केही दिन अघि मात्रै एमाले प्रवेश गरेका थिए । शाहीको समर्थनमा एमालेका केही जिल्ला स्तरीय नेताहरू खुलेरै प्रचार गरिरहेकाले नेपाली कांग्रेस (वीपी) का उम्मेदवार मल्ललाई एमालेबाट प्राप्त हुने केही भोटमा क्षति पुग्न सक्ने देखिएको छ । यसबाट प्रधानमन्त्री देउवालाई चुनाव जित्न केही सहज हुनेछ । 

२०४८ यताका सबै निर्वाचनमा विजयी भएका प्रधानमन्त्री देउवा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा पनि आफ्नो इतिहास कायमै राख्ने दाउमा छन् । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेल्धुराबाट विजयी भएका थिए । उनी २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली-६ बाट पनि विजयी भए । सार्वजनिक रूपमै आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको दाबी गर्ने प्रधानमन्त्री देउवा आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सात वटा स्थानीय तह छन् ।


हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५२ वटै वडाहरूमा अध्यक्षका उम्मेदवारहरूले पाएको एकीकृत मतमा नेपाली कांग्रेस अगाडि छ । नेपाली कांग्रेसले २१ हजार सात सय ३५, नेपाली कांग्रेस (वीपी) र नेकपा (एमाले) को गठबन्धनले १४ हजार ५१, माओवादी केन्द्रले १२ हजार आठ सय र एकीकृत समाजवादीले पाँच हजार ४१ मत पाएका छन् । त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले दुई हजार पाँच सय ४८ मत पाएका छन् ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस र माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार प्रधानमन्त्री देउवालाई जित निकाल्न कठिन देखिँदैन । उनलाई चुनाव जित्न नेपाली कांग्रेसकै मत पनि पर्याप्त हुने देखिन्छ । त्यसमा पनि सत्ता गठबन्धनको बलियो दल माओवादी केन्द्रले सहयोग गर्दा प्रधानमन्त्री देउवा थप बलियो बनेका छन् । तथ्याङ्कमा प्रधानमन्त्री देउवा जति बलियो देखिए पनि राजनीतिक पुँजी भने त्यति सशक्त हुन सकेको छैन । पार्टीभित्रकै असन्तुष्टिले देउवाको साथ छोडेर गएकाहरूको समूह डडेल्धुरामा नेपाली कांग्रेस (वीपी)को नाममा बलियो बन्दै गएको छ । 

मनोमानी गरेको भन्दै पार्टी केन्द्रमा पनि उनका नीतिप्रति विमति चर्किन थालेको छ । पार्टी केन्द्रदेखि डडेल्धुरासम्मको असन्तुष्टिलाई जति सहज तरिकाले सम्बोधन गर्छन्, प्रधानमन्त्री देउवाको सातौँ संसद् यात्रा उति नै सहज हुने स्थानीय अगुवाहरू बताउँछन् । नेपाली कांग्रेस (वीपी)का तर्फबाट प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गरिरहेका युवा नेता मल्ल स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने पनि त्यसपश्चात् आफ्नो पार्टीले जिल्ला स्तरमा सङ्गठन बलियो बनाएकाले चुनाव जित्न सहज हुने दाबी गर्छन् ।

२०६४, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफूसँग पराजित माओवादी केन्द्रका नेता भट्टको सहयोगमा चुनाव जित्ने दाउमा रहेका प्रधानमन्त्री देउवालाई माओवादी केन्द्रका सबै मत पाउन चुनौती हुने देखिएको छ । प्रधानमन्त्री देउवाले अगामी निर्वाचनपछि भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले भट्ट प्रदेशसभामा चुनाव लड्न राजी भएका हुन । 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका भट्टले प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले) का पठानसिंह बोहरासँग प्रतिस्पर्धा गरिरहेका छन् । बोहरा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् । बोहराले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को सहयोगमा बाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचन जितेका थिए । 

भट्टका मुख्य प्रतिस्पर्धी प्रदेशसभा ‘क’ मा नेकपा (एमाले) का उम्मेदवार बोहराले स्थानीय तहमा आफ्नो पार्टी तेस्रो भए पनि तीन वर्ष प्रदेश सरकारमा बसेर भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुने कामहरू आफूले गरेको गराएकोले मुख्य जित्ने आधार त्यही भएको बताए । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा र स्वतन्त्र उम्मेदवार डा. जोशीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

राजनीतिक दलहरूबाट वाक्क दिक्क भएर स्वतन्त्र बन्ने प्रयासमा रहेका युवाहरूमाझ लोकप्रिय बन्न थालेका गुल्मीका युवा सागर ढकालले पनि प्रधानमन्त्री देउवालाई आराम दिन युवालाई विजयी बनाउनु पर्ने नारा अघि सारेका छन् । निर्वाचन घोषणा भएदेखि डडेल्धुरामा घरदैलो अभियान चलाई रहेका ढकालले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट इन्जिनियर महेश धामीसँग सहकार्य गरिरहेका छन् । ढकालले सबै राजनीतिक दलहरूको मत काट्न सक्ने भए पनि प्रधानमन्त्री देउवाको मत बढी काट्न सक्ने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ