arrow

ओलीको व्यवहारले रावलको चरित्र विचलित हुँदै, झपटलाई ‘चुनावी झापड’ हान्ने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
oli-rawal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण टिकट नपाएका भीम रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका आधिकारिक उम्मेदवार झपट बोहोरालाई सहयोग नगर्ने भएका छन् । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई सर्वसम्मत सिफारिस गरे पनि पार्टी अध्यक्ष ओलीले टिकट नदिएपछि पार्टीका सबै उम्मेदवारलाई निर्वाचन जिताउन आह्वान गरेका रावलले अछाम क्षेत्र १ मा भने असहयोग गर्ने भएका छन् । ‘उहाँले अछाममा कोही कसैलाई सहयोग गर्ने नीति लिनुभएको  छैन’, रावलको सचिवालयका एक सदस्यले भने ।  

२०४८ सालदेखि अछाममा उठ्दै आएका निवर्तमान सांसद रावललाई एमाले अध्यक्ष ओलीले यसपटक टिकट दिएनन् । रावलको टिकट खोसेर ओलीले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका झपट बोहरालाई टिकट दिई पठाए । विवादास्पद छविका बोहोरामाथि सम्पत्ति  शुद्धीकरणमा उजुरी परेको छ । 

ओली सरकार हुँदै २०७६ मा सो उजुरी परेपछि अत्तालिएर केपी ओलीको पक्षमा लागेको बोहोरा विवादास्पद व्यापारी हुन् । अछाम १ मा रावललाई पाखा लगाउँदै बोहरालाई टिकट दिएपछि एमालेमा असन्तुष्टि चर्किएको मात्र होइन अछाममा कार्यकर्ताहरुले पार्टी नै छाडेका थिए । 

उनीहरुले सामूहिक राजीनामा दिएका थिए । नेकपा विघटन भएर एमाले र माओवादी ब्युँतिएपछि बोहरा एमालेमै रहेका थिए । त्यस क्रममा उनले सुदूरपश्चिम प्रदेश सभा सदस्य पद गुमाएका थिए । ‘बोहोराले त्यतिबेला पद गुमाएका थिए । ओलीले गुन तिर्न खोज्दा एमालेभित्र असन्तुष्टि मात्र उत्पन्न भएको छैन, यसले देशभरका कार्यकर्ताहरुलाई लज्जबोध गराएको छ’, एमालेका एक सचिवालय सदस्यले भने ।

रावलले टिकट नपाएको विरोधमा जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला सदस्य, क्षेत्रीय निर्वाचन कमिटी, पालिका तथा वडा कमिटीका करिब तीन सय बढी नेता कार्यकर्ताले राजीनामा दिएका थिए ।

त्यति मात्रै होइन मनोनयनका क्रममा बोहरालाई एमालेका असन्तुष्ट नेता कार्यकर्ताले कालो झण्डा देखाएर एमाले जिन्दावाद, अध्यक्ष ओली मुर्दावादको चर्को नाराबाजी गरेका थिए । 

टिकट नपाएका रावलले गत बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको गरेर ओलीमाथि तीन दर्जन आरोप लगाउदै पार्टीका कार्यकर्ताहरुलाई एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । 

सत्ता गठबन्धनविरुद्ध एकताबद्ध भएर चुनावमा जाने नीति लिएको एमाले आन्तरिक विवादमा परेपछि अहिले समस्या भएको छ । अछाम १ मा एमालेबाट उम्मेदवार बोहरालाई आगामी चुनावमा असन्तुष्ट रावलनिकट नेता कार्यकर्ताले असहयोग गर्ने देखिएपछि त्यहाँको चुनावी माहोल नै बिग्रिएको छ । 

पार्टीको तल्लो कमिटीको निर्णयविपरीत केन्द्रले रावललाई टिकट नदिएर ठूलो गल्ती गरेको एमालेका देशभरका केही कार्यकर्ताहरु पार्टीको संस्थापन पक्षप्रति रुष्ट रहेका छन् । 

‘लामो समयदेखि चुनाव लड्दै आएका अनुभवी, राष्ट्रवादी छवि बनाएका नेतालाई बाइपास गरियो, पार्टीको तल्लो कमिटीको निर्णयविपरीत सिफारिस नै नभएकालाई टिकट दिएन । यसले देशभर असर गर्दैछ’, एमालेका एक सचिवालय सदस्यले भने ।

गत बिहीबारको पत्रकार सम्मेलनमा रावलले अछाम १ मा बोहरालाई सहयोग गर्ने वा नगर्ने बारेमा स्पष्ट जवाफ दिएका थिएनन् र अहिले पनि मुख खोलिसकेका छैनन् । 

‘अछाममा लामो समयदेखि पार्टी निर्माण गर्दै आएको हुँ, त्यहाँका जनता र कार्यकर्ताले सर्वसम्मत सिफारिस गरे, अब उनीहरुको भावलाई गम्भीर रुपमा हेर्छु,’ रावलले भनेका थिए । उनी निकटका एक नेताका अनुसार रावलले झपडलाई चुनावमा असहयोग गरेर झापड हान्ने योजना बनाएका छन् । 

त्यहाँको जिल्ला कमिटी बैठकले पनि कुनै निर्णय गरिसकेको छैन । यतिबेला निर्वाचनको प्रचार प्रसारमा जानुपर्ने बेलामा अछाम जिल्ला कमिटी अन्यौलमै बसेको छ । 

पार्टीको चितवनमा सम्पन्न १० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए। उनी अध्यक्षमा ओलीविरुद्ध चुनाव लडेका थिए । त्यसपछि उनीहरु दुई बीचको सम्बन्ध बिग्रिएको थियो । त्यसको झोँकमा ओलीले रावललाई पटक पटक धोका दिँदै आएका छन् । अपमान र अवमूल्यन गर्दै आएका छन् । 

एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए । 

रावलले अछामबाट २०४८ सालदेखि नै चुनाव लडिरहेका छन् । ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए । 

रावलले ०५६ सालमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। 

०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटी सांसद बनेका थिए । 

अछाम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ