arrow

पत्रकार महासङ्घको तालिम केन्द्रका लागि चुकेले जग्गा प्रदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
FNJ-Nepal-patrakar-mahasangh.jpg

काठमाडौँ। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने भएका छन् ।

चुकेले आफ्ना बुबा अनन्तलाल चुके र आफ्नी आमा गङ्गादेवी चुकेको नाममा महासङ्घलाई नारायणगढ बजार नजिकैको १० धुर जग्गा निःशुल्करुपमा उपलब्ध गराउन आज सम्झौता सम्पन्न भएको छ । सो जग्गाको बजार मूल्य रु एक करोड हाराहारी पर्ने बताइएको छ ।

जग्गा दाता चुके र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महासङ्घको पदाधिकारीको उपस्थितिमा भएको सम्झौतामा तीन महिनाभित्रमा जग्गा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ ।

भरतपुर महानगरपालिका–३, बेलचोक नजिकै कृष्णमार्गमा रहेको चुके परिवारको जग्गा रहेको क्षेत्रमध्येबाट बालगोपालको नाममा रहेको जग्गा उनले महासङ्घलाई उपलब्ध गराउन लागेका हुन् ।

यसअघिदेखि नै उनले आफ्ना बुबा अनन्तलाल र आमा गङ्गादेवीको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्ने भएका छन् । जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासङ्घले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कट्ठा सार्वजनिक जग्गा महानगरपालिकाले यसअघि नै संरक्षणका लागि महासङ्घलाई दिने निर्णय गरिसकेको छ ।

शाखा अध्यक्ष अधिकारीका अनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ । जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने उनले बताए ।

भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।

जग्गादाता चुकेले पत्रकारको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाका नाममा जग्गा दिने निर्णय गरेको बताए । उनी चितवनका सामाजिक व्यक्तिका रुपमा परिचित छन् । महासङ्घले यसअघि बाइपास सडकमा महानगरपालिकामार्फत जग्गा लिन गरेको प्रयास सो जग्गा वनको भएसँगै रोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ