arrow

सप्तरी २ क मा तीन उम्मेदवारबीच कडा टक्कर, जसपाका शैलेन्द्र कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
election-2079-final1.jpg

सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ क मा प्रदेश सभा सदस्य पदका लागि तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष सतिश सिंह र लोसपाका नेता सरोज मंडलबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट सरोज मंडल, एमाले–जसपा गठबन्धनका तर्फबाट मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र साह र जनमत पार्टीबाट सतिश सिंहले उम्मेदवारी दिएका छन् । यस मध्ये शैलेन्द्र र सरोज पुरानै प्रतिस्पर्धी हुन् । 

२०७४ को चुनावमा मन्त्री साह १० हजार ५ सय ७० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी मंडलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए ।

शैलेन्द्रको पक्षमा छैन गणित
३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा सत्तारुढ गठबन्धन दलले यस क्षेत्रमा कुल २१ हजार ५ मत पाएको देखिन्छ । 

यसैगरी एमाले–जसपा गठबन्धनले कुल ७ हजार ४ सय ३६ मत प्राप्त गरेको थियो । यसरी स्थानिय तह निर्वाचनमा दुवै गठबन्धनले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने सत्तारुढ गठबन्धनका उम्मेदवार सरोज मंडल एमाले–जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साह भन्दा झण्डै १४ हजार मतले अगाडि रहेको देखिएको छ । 

अंक गणितले कमजोर देखापनि मन्त्री साहलाई जसपा अध्यक्ष उपेन्द्र यादवको साथले बलियो बनाउने आकलन गरिएको छ । तर यादव आफैं सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा १२ हजार भन्दा बढी मतले पछाडि छन् ।

कुल ४९ हजार ९ सय १८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा तिलाठी कोइलाडी, छिन्नमस्ता र महादेवा गाउँपालिकाको ४ वटा वडा पर्दछ । 

स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकामा कांग्रेस र छिन्नमस्ता तथा महादेवा गाउँपालिकाको प्रमुख पद लोसपाको पोल्टामा गएको छ । यो क्षेत्रमा पर्ने ३ पालिका मध्ये कुनै पनि पालिकाको प्रमुखमा जसपाले जित्न सकेको छैन ।

जित्ने दाउमा सिंह
२०७४ को स्थानीय तहको निर्वाचनमा राजपाबाट चुनाव जितेर तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष भए सतिश कुमार सिंह । तर यसपालिको निर्वाचनमा उनी लोसपाबाट सोही गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लडे पनि जित्न सकेनन् ।

केही महिना अघि मात्रै जनमत पार्टी प्रवेश गरेका सिंह निर्वाचन क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा पनि बलियो पकड रहेको स्थानीयहरु बताउँछन् । 

यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका जनमत पार्टीका अध्यक्ष डा सिके राउतको साथले पनि सतिश बलियो उम्मेदवार रहेको स्थानीयहरुको बुझाई छ । आफ्नो पार्टीको मतसँगै दुवै गठबन्धनकोसमेत मत तानेर चुनाव जित्ने दाउमा छन् उनी । 

यसले पनि मन्त्री शैलेन्द्रलाई चुनाव जित्न चुनौति थपिएको छ ।

आ–आफ्नै दाउमा तीनै उम्मेदवार
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ क मा कडा प्रतिस्पर्धामा रहेका तीनै उम्मेदवार आ–आफ्नै दाउमा छन् । मन्त्री शैलेन्द्र साह गएको ५ वर्षमा गरेको विकासीय कामलाई आफ्नो मुल एजेण्डाको रुपमा प्रस्तुत गरेर चुनाव जित्ने दाउमा छन् भने सत्तारुढ गठबन्धनका सरोज मंडल गठबन्धन दल संग रहेको मत संरक्षण गर्दे चुनाव जिते आफ्नो निर्वाचन क्षेत्रमा रोजगारीको अवसर सृजना गरेर बेरोजगारी समस्यालाई निरुत्साहित बनाउने एजेण्डा प्रस्तुत गरेर चुनाव जित्ने दाउमा छन् । 

यसैगरी अर्का प्रतिस्पर्धी शतिश सिंहले जनमत पार्टीले उठाउँदै आएको किसानको समस्यालाई आफ्नो मूल एजेण्डाको रुपम प्रस्तुत गर्दे दुवै गठबन्धनमा रहेका मतदाताबाट भोट तानेर चुनाव जित्ने दाउमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ