arrow

बल प्रयोग गरी ताइवान कब्जा गर्ने सीको योजना

logo
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
china-taiwan -flag.jpg
फाइल तस्बिर

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनपिङले ताइवानलाई जसरी पनि कब्जा गर्ने योजना अघि सारेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त योजना अघि सारेका हुन्। 

पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले ताइवानमा पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्। सीले सो बाचा गर्दा हलमा सबैभन्दा धेरै तालीको गड्गडाहट सुनिएको थियो।

‘हामी अधिकतम विनम्रताका साथ शान्तिपूर्ण पुन एकीकरणको प्रयास गरिरहनेछौँ। तर, बल प्रयोगलाई त्याग गर्ने बाचा गर्दैनौँ। र, आवश्यक सबै उपाय लगाउने विकल्प हामी खुला राख्छौँ। यो सम्पूर्ण रूपले बाहिरी शक्तिको हस्तक्षेप र ताइवानको ‘स्वतन्त्रता’ खोज्ने केही पृथकतावादी शक्तितर्फ लक्षित छ। यो हाम्रा ताइवानका देशभक्तहरूप्रति लक्षित छैन,’ सीले भने, ‘हाम्रो देशको पूर्ण पुन एकीकरण गर्नपर्छ। र, निस्सन्देह, गरिनेछ।’

ताइवान मामिला समाधानका लागि पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने उनको भनाइ थियो।  तर, पार्टीले सधैँ ताइवानका देशभक्तहरूलाई सम्मान गर्ने, ख्याल गर्ने र तिनको फाइदाको लागि काम गर्ने उनले बताए। 

‘ताइवान मुद्दाको समाधान चिनियाँ जनताको मात्र चासोको विषय हो। यसको निर्णय चिनियाँ जनताले नै गर्नेछन्,’ सीले थपे। हङकङ र मकाओका लागि एक मुलुक दुई व्यवस्था नै उत्तम व्यवस्था भएको उनको भनाइ थियो। 

ती क्षेत्रहरूले उच्च स्वशासन प्राप्त गर्ने र त्यहाँ देशभक्तहरूले प्रशासन चलाउने उनले बताए। यसअघि ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीन ताइवान र अमेरिकाप्रति आक्रोशित बनेको हो। 

यसअघि जुन विश्लेषणहरू गरिएका थिए, चिनियाँ राष्ट्रपतिले अन्ततः त्यसलाई सार्वजनिक रूपमा नै पुष्टि गरिदिएका छन्। यसअघि सीपीसीको २० औँ राष्ट्रिय सम्मेलनपछि सी थप शक्तिशाली बन्ने र उनले ताइवानलाई कब्जा गर्ने नीति अँगाल्ने विश्लेषणहरू गरिएका थिए। 

ताइवानको मेनल्याण्ड अफेयर्स काउन्सिल (एमएसी) द्वारा कमिसन गरिएको श्वेतपत्रले सीपीसीले ताइवान मुद्दाको समाधानका लागि पार्टीको समग्र रणनीतिमा केन्द्रित हुने नीतिहरू घोषणा गर्ने बताएको थियो।

पहिलो, यसले "स्वतन्त्रता विरुद्ध एक चीन" अडानलाई समर्थन गर्ने र विदेशी हस्तक्षेपको विरोध गर्ने त्यसपछि कूटनीतिक दबाब र सैन्य अभ्यास बढाएर, चीनले एकै साथ तथाकथित 'ताइवान स्वतन्त्रता बलहरू' लाई दमन गर्दै ताइवान कब्जा गर्ने एमएसीले जनाएको थियो। 

चिनियाँ राष्ट्रपतिले पनि अन्ततः ताइवान कब्जा गर्ने योजना सार्वजनिक गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ