arrow

 ‘हाइ हाइ गगन दाइ...’ चुनावी गीत सार्वजनिक [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
hi-hi-gagan-dai.jpg

काठमाडौं । आगामी ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधबार ‘हाइहाइ गगन दाइ...’ बोलको गीत सार्वजनिक भएको हो । 

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।

यसैगरी पहिलो अन्तरामा गगनले मन्त्री हुँदा र अहिलेसम्म गरेका कामहरू चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको ‘प्रोजेक्ट गभर्मेन्ट’को यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ । 

गीतमा देशलाई नयाँ जीवन दिन सक्ने पात्रको रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा गगनलाई प्रधानमन्त्री बनाइनु पर्ने भाव व्यक्त छ । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजन विशम आचार्यले गरेका हुन् ।

विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्द अनुसारका फुटेज राखिएका छन् । 

गगन थापा तेस्रो पटक काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै छन् । यसअघि दुवै पटक उनी विजयी भएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ