arrow

बेलबारी गोल्डकप : डाँगीहाट सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
belbari-cup.JPG

सुन्दरहरैँचा ।  मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी बुद्व एयर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  

पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको चुनौतीलाई  टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पछि पार्दै  आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको  हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

उत्कृष्ट प्रदर्शन गरेको झापा खेल समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भएको थियो । 

टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको जाली चुम्न  सकेन । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गर्न सफल भए । एन्जल गुरुङ र प्रशान्त लक्समको प्रहार बाहिरियो । लोकेन्द्र लिम्बूको कडा प्रहारमा डाँगीहाटका गोल रक्षक किशोर गिरीले रोके  । 

आयोजक डाँगीहाटका सुशील राईको प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले असफल परि दिए । झापाका रजिन सुब्बाको १५ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले समाए ।अभिषेक गुरुङले १९ औँ मिनेटमा सुनौलो अवसर पाए पनि गोल गर्न सकेनन् । झापाका आशिष चापागाईंले ४३ औँ मिनेटमा प्रहार गरेको  खुल्ला बलमा गोलरक्षक गिरी बाधक बनिदिए । 

खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक गिरी घोषित भएर  रु ५ हजार नगद पुरस्कार पाए । तेस्रो दिनको खेल उदघाटन नगर उप प्रमुख नितु थापा कोइरालाले गरेकी थिइन्।

२३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रु ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउँने खेल प्रबक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । शुक्रबारको खेल  सहलेस युथ क्लब सिरहा र क्यामरूनको एभिनीयर फुटबल क्लबबीच हुने  खेल संयोजक भाइकुमार गुरूङले बताए।



नयाँ