arrow

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
kulman-suwal.jpg

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त,  भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । 

सबस्टेसनका उपकरणहरू जडान धमाधम भइरहेको छ । १३२-३३-११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।    

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरूको प्रगति, आगामी दिनमा नवलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ ।

‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिँदा पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरूबाट आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीँबाट विद्युत् आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत् आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि  सुनवल (भुमही)-हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ ।

नवलपरासीको सुनवल नगरपालिका-१३मा निर्माण २२०-१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ ।  

प्राधिकरणले नयाँ बुटवल -बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।



नयाँ