अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अपिल
बढ्दो गर्मीमा ओभरलोडको समस्या
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
189
Shares
काठमाडौँ । बढ्दो गर्मीका कारण विद्युत्को माग अत्यधिक बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले ग्राहकहरूलाई अनुरोध गरेको छ ।
गर्मीको मौसममा विद्युतीय खपत ह्वात्तै बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्मरमा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले बताए ।
अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने र जल्ने जस्ता गम्भीर प्राविधिक समस्याहरू आइरहेका छन्, जसले गर्दा नियमित विद्युत् आपूर्तिमा अवरोध सिर्जना भएको छ । यसका साथै नेपाल विद्युत् प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सबस्टेशनलाई अटोमेसन गर्न लागेकाले समेत विद्युत् आपूर्तिमा केही समस्या थपिएको प्रमुख चौधरीले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको सबस्टेशनमा १० वटा पिलरको फिडरलाई अटोमेसन गर्ने कार्य अगाडि बढाइएको थियो । वैशाख १६ गतेदेखि सुरु गरिएको उक्त अटोमेसन कार्य हाललाई रोकिएको छ भने वितरण केन्द्रबाट दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।
यस केन्द्रको कुल विद्युत् आपूर्ति क्षमता १८० मेगावाट रहेको छ, जहाँका दुईवटा सबस्टेसनबाट ९०–९० मेगावाट विद्युत् आपूर्ति हुने गर्दछ । भरतपुर वितरण केन्द्रबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् पठाइने गरिएको छ ।
हाल यस केन्द्रमा कुल ७५ हजार ग्राहक आबद्ध छन् । सबै ग्राहकले गर्मीको समयमा एकैपटक एसी, कुलर जस्ता धेरै विद्युत् खपत गर्ने सामग्रीहरू चलाउँदा प्रणालीमा ओभरलोडको समस्या आएको प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्तिलाई सहज र नियमित बनाउन उपभोक्ता आफैँले पनि सचेतता अपनाई पिक आवरमा कम विद्युत् खपत गर्न प्राधिकरणले आग्रह गरेको छ ।