arrow

गण्डकको खाली जग्गामा सौर्य विद्युत् उत्पादन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
gandak-urja.jpg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६ मेगावाट सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले नपलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको हो । केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौर्य विद्युत् आयोजना निर्माण गरिने छ ।

गण्डकसहित लमजुङ स्थित मध्मयर्स्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिने छ । आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो रहेको छ । आयोजना निर्माणका लागि जर्मन सरकारद्वारा केएफडब्लू विकास बैङ्कमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुने छ । अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेहोर्ने छन् ।

मर्स्याङ्दी र झुप्राखोला जलविद्युत केन्द्रमा क्रमशः  करिब १ र २ मेगावाटका सौर्य विद्युत् राखिने छ । सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री राखिने छैन । एक वर्षभित्र ठेक्कापट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।



नयाँ