arrow

कर्मचारीहरुसँग नेता केसीको छलफल, छिटो छरितो काम गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
arjun-narasingh-kc-nuwakot-karmachari.jpg

नुवाकोट । नेपाली कांग्रेसका नेता एवं नुवाकोटबाट प्रतिनिधि सभामा निर्वाचित अर्जुननरसिंह केसीले जनताले सास्ती नपाउने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । 

प्रतिनिधि सभामा निर्वाचित भैसकेपछि पहिलो पटक जिल्लास्थित कर्मचारीहरूसँग  नुवाकोटका जनताको समस्याबारे छलफल गर्दै आवश्यक कदम चाल्न आग्रह गरेका हुन् । 

नागरिकता प्राप्त गर्न जिल्ला प्रशासन कार्यालयले दिएको सास्तीलाई हटाई नियमसम्मत तर सहज व्यवस्था गर्न पनि उनले आग्रह गरेका छन् । 

राष्ट्रिय परिचयपत्रका लागि महिनौं पालो कुर्नुपर्ने झण्झट हटाउन के कसरी सहज बनाएर नागरिकलाई सोही दिन परिचय पत्र प्राप्त गर्ने प्रबन्ध गर्न सकिन्छ भन्ने बारेमा नेता केसीले कर्मचारीहरुसँग छलफल गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृतलाई प्रजिअले अधिकार प्रत्यायोजन गरी सम्वन्धित पालिकावाटै परिचयपत्र भर्ने व्यवस्था गर्न सहज असहज के होला भनेरसमेत उनले चासो राखेका छन् । 

त्यस्तै नेता केसीले मुआब्जा विवादका कारण स्तरोन्नति रोकिएको गंगटे ढुगें सडकमा भएको खाडलका कारण दुर्घटना बढ्दो रहेको भन्दै खाल्डाखुल्डी तुरुन्त आयोजना वा नगरपालिका कसले पुर्ने हो यकिन गरी तुरुन्त पुर्ने प्रबन्ध गर्नसमेत आग्रह गरेका छन् । 

कृषकलाई मल अभावको कारण खेतीबाली लगाउन भएको समस्याबारे उनले कर्मचारीसँग भने, ‘कसले कुन तहले कसरी कृषकलाई मल सहज वितरण गर्ने हो छलफल गरेर कार्यालयले सम्बन्धित ठाउँमा माग गरेर जानकारी गराउँ । मैले मेरो ठाउँबाट कता कसलाई भन्नुपर्ने हो तयारी गरौं ।’

नेता केसीले त्रिशुली अस्पतालमा सामान्य उपचार पनि नगरी राजधानी रिफर गरिएको गुनासो उपचार गराउन गएका विभिन्न व्यक्तिबाट आएको सन्दर्भमा कुन विषय, के कति चिकित्सक रिक्त रहेको वा भएर काम नगरेको वा के हो ? भनी जानकारी मागेका थिए । 

शान्ति सुरक्षा, सुशासन र अधिकतम जनताको सेवाको लागि सबै कार्यालय जनतामैत्री बन्नुपर्नेमा जोड दिँदै नेता केसीले कार्यालयको सेवा प्रवाह सम्बन्धी जनगुनासो नआउन अधिकतम प्रयत्न गर्न पनि कर्मचारीहरुलाई आग्रह गरेका छन् । 

उनले अलपत्र रूपमा रहेको रानीपौवा पिपलटार सडक यथासिघ्र समस्याको  पहिचान गरी सम्बन्धित निकायमा विशेष पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ