arrow

मकवानपुर प्रहरी कार्यालय भित्रै पत्रकारमाथि आक्रमणको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
mm.jpg

हेटौँडा। जिल्ला प्रहरी कार्यालय परिषर भित्रनै आज पत्रकारहरूमाथि आक्रमण प्रयास भएको छ। पत्रकारमाथि कुटपिट भएको विषयमा उजुरी दर्ता गर्न पुगेका पत्रकारहरूमाथि उल्टै तरुण दलका युवाहरूले आक्रमणको प्रयास गरेका हुन्। प्रहरी कार्यालय परिषर भित्र रहेका पत्रकारहरूलाई बाहरिबाट आएका काँग्रेस निकट तरुण दलमा आबद्ध युवाहरूको समूहले आक्रमण प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितर वितर बनाएका थिए।

चुनावको समयमा नेपाली काँग्रेसभित्र भएको घात, अन्तर्घातको विषयमा बागमती एक्सप्रेस साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएपछिको विवाद बढ्दै गएपछि पत्रकारलाई कुटपिट समेत गरिएको हो। बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि कुटपिट गरेका हुन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको पल्पसा होटेलमा उनीहरूमाथि हमला भएको पत्रकार बञ्जराले बताए। नेपाली काँग्रेसका युवा नेता राजेश भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँ सहित करिब एक दर्जन कार्यकर्ताको समूहले आक्रमण गरेको बञ्जराको भनाई छ। आक्रमणबाट रिजालको दाहिने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाइते भएका छन्।

घटनाबारे जानकारी दिँदै प्रत्यक्षदर्शी समेत रहेका नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले भेटवाल सहितको कार्यकर्ताले पत्रकारमाथि हमला गरेको बताए। आफूले छुट्टाउन खोज्दा समेत उनीहरूले निरन्तर कुटपिट गरेको मगरको भनाई छ।

आक्रमण गर्ने भेटवाल सहितका काँग्रेस कार्यकर्ताहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गर्न लागिएको बञ्जराको भनाई छ। घटनाको निन्दा गर्दै नेकपा एकीकृत समाजवादी नटिक समाजवादी प्रेस सङ्गठनले दोषीलाई कारबाहीको माग गरेको छ।

पत्रकारमाथि आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, जिल्ला समिति, प्रेस चौतारी मकवानपुर, प्रेस सेन्टर लगायतका पत्रकार आबद्ध सङ्घसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन्। दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नका लागि पत्रकार आबद्ध सङ्घसंस्थाहरूले माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ