- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । कतार विश्वकप फुटबलमा टोली क्वार्टरफाइनलबाटै बाहिरिएपछि उनी बर्खास्तीमा परेका हुन् ।
विश्वकै चर्चितमध्येका एक खेलाडी एवं पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई विश्वकपको राउन्ड अफ सिक्सटिन र क्वार्टरफाइनलमा बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।
पहिलोपटक क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेसँगै पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।
सान्तोसले पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका थिए । पोर्चुगल फुटबल महासंघसँग उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनशिपसम्मका लागि सम्झौता गरेका थिए ।
तर उक्त सम्झौता अगाबै उनी बर्खास्तीमा परेका हुन् ।
६८ वर्षीय सान्तोस सन् २०१४ को सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए । ‘हामी अर्को प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ महासंघले भनेको छ । सन् २०२४ युरोको लागि संघले होजे माउरिन्होलाई एक नम्बरमा राखेको छ ।
अहिले माउरिन्हो सिरी ए क्लब रोमामा आवद्ध छन् । यद्यपि, उनलाई युरोपका ठूला क्लबहरु पोर्टो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले लक्ष्यमा राखेका छन् ।
माउरिन्होले चेल्सीबाट तीन प्रिमियर लिग, इन्टरबाट दुई सिरी ए र रियलबाट ला लिगा उपाधि जितेका छन् ।
सान्तोष टोलीमा रहँदा पहिलो पटक पोर्चुगल युरो २०१६ च्याम्पियन रह्यो । उनको प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो पनि खेलेको थियो ।