arrow

पुरस्कृत सफा शहर हेटौंडा अव्यवस्थित डम्पिङले चुनौती बन्दै

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष ३ आइतबार
fooo.jpg

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा देशकै सफा शहरको रुपमा परिचित शहर हो । हेटौंडा पटक-पटक सफा शहरको रुपमा पुरस्कृत भएको छ । २०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएर ५ लाख रुपैयाँ पुरस्कार पाएको हेटौंडामा फोहोर व्यवस्थापन भने निकै जटिल बन्दै गएको छ । 

घर, शहर र उद्योग कल कारखानाबाट निस्किएका फोहर व्यवस्थापन उचित रुपमा हुन नसक्दा केही वर्षमै फोहर व्यवस्थापनको चुनौती विकराल बन्ने निश्चित छ । 

हाल हेटौंडा १० स्थित राप्ती खोलाको किनारको सिसौघारीमा डम्पिङ साइड बनाइएको छ । तर निकै अव्यवस्थित गरी जताततै फोहर फालिने गरिएको छ । वर्गीकरण नगरिएका फोहोर जताततै फालिंदा वरिपरी दुर्गन्ध त फैलिएको छ नै प्लास्टिकजन्य फोहरले वातावरणमा नराम्रो असर गरिरहेको छ ।

हेटौंडाको फोहर व्यवस्थापन गरिँदै आएको डम्पिङ साइड भरिंदो अवस्थामा छ । हाल संकलन गर्दै आइएको फोहोर दिनहुँ एस्काभेटर लगाएर हेटौंडा उपमहानगरपालिकाले पुर्ने काम गर्छ तर यसको विकल्प भने खोजिएको छैन । डम्पिङ साइडको नजिकै बसोबास गर्दै आएका स्थानीयहरु फोहरको गन्धको कारण आजित छन् । उपमहानगरपालिकाले गन्ध फैलन नदिनसमेत कुनै चासो दिएको देखिंदैन ।

हालको हेटौंडा उपमहानगरपालिकाको फोहरको परिमाण केही वर्षयता दोब्बर भएको छ । अर्कोतर्फ सफाई कर्मचारीसमेत निकै कम हुँदा हेटौंडा बजारमैसमेत फोहर संकलनमा चुनौती शुरु भएको छ । संकलन भएको फोहर व्यवस्थापनमासमेत थप समस्या देखिए पनि यसको दीर्घकालीन समाधानतर्फ उपमहानगरपालिकाको त्यति ध्यान गएको छैन ।

हेटौंडा १० को झण्डै २० बिगाहा जग्गामा अहिले जथाभावी रुपमा फोहर थुपार्ने गरिएको छ । प्लास्टिक जन्य फोहरको पाहाड नै बनिसकेको छ तर यसतर्फ सम्बन्धित निकायको चासो छैन भने अर्कोतर्फ फोहरको वर्गीकरण गरी व्यवस्थापन गर्ने गरी ७ वर्षअघि बनाइएको योजना योजनामै थन्किएको छ ।

हेटौंडा उपमहानगरपालिकामै एउटा यस्तो उद्योग छ जसले फोहरलाई व्यवस्थित रुपमा नष्ट गरी बिजुली उत्पादन गर्ने मेशिन बनाएर जापान निर्यात गर्ने गर्छ ।

फोहरको दीर्घकालीन व्यवस्थापनमा अब पनि हेटौंडाले नसोच्ने हो भने अबको केही वर्षभित्रै देशको राजधानी काठमाडौंमा जस्तै प्रदेश राजधानी हेटौंडामा पनि फोहर व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ