arrow

कोठा नम्बर २०१ मा कोसँग बिताए प्रचण्डले ७५ मिनेट ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई नयाँ सरकार गठनको आह्वान गरेसँगै नेताहरुको दौडधुप बढेको छ । सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला शीर्ष नेताहरुको भेटघाट बढेको छ । निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको दौडधुप बढेको हो । 

गठबन्धनको निरन्तरता र नयाँ सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका शीर्ष तथा दोस्रो तहका नेताहरुले दिनहुँ सामूहिक तथा छुट्टाछुट्टै भेटघाट गरिरहेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफ्नो मिशनमा क्रियाशील रहेका छन् । 

शनिबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । आइतबार पुनः भेटेर सोही कुरा दोहोर्याएका छन् । 

‘शनिबार उहाँले प्रधानमन्त्री देउवालाई भेटेर नयाँ सरकारमा आफू प्रधानमन्त्री बन्ने प्रस्ताव गर्नुभएको थियो, आज त्यसलाई अलि परिपक्व बनाउने विषयमा कुराकानी गर्नुभएको छ’, माओवादीका एक पदाधिकारीले भने । 

ती पदाधिकारीका अनुसार शनिबार बिहान २ घण्टा नारायणकाजी श्रेष्ठसँग छलफल गरेर बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । 

तर शेरबहादुर देउवाले संसदीय दलको निर्वाचनपछि मात्रै यो विषयमा कुरा गरौंला भनेर फर्काए पनि आइतबार त्यही कुरालाई दोहोर्याएको स्रोतको दाबी छ । 

आइतबार बालुवाटारबाट फर्केका प्रचण्ड दिउँसो पुनः होटक याक एण्ड यति होटलमा पुगेका थिए । त्यहाँ उनले गोप्य भेटघाट गरेका थिए । 

होटलको २०१ नम्बर कोठामा पुगेका उनले त्यहाँ कोसँग कुराकानी गरे भन्ने बारेमा केही खुलेको छैन । 

उनी त्यहाँ १ घण्टा १५ मिनेट बसेका थिए । सवा घण्टासम्म उनले कोसँग कुराकानी गरेका थिए भन्ने बारेमा आफ्नै पार्टीका पदाधिकारी र सचिवालयलाई समेत जानकारी दिएका थिएनन् । 

उनी त्यहीँ रहेका बेला भारतीय दूतावासबाट रअका नेपाल प्रमुख राघवप्रसाद भाटनागर पनि बाहिर निस्केका थिए । तर उनीहरुबीच भेटघाट भए नभएको बारेमा स्रोतले कुनै पुष्टि गरेको छैन ।

यसैबीच, पछिल्लो पटक वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका वामदेव गौतमसहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले गोप्य छलफल गरेका छन् । 

केही समययता सक्रिय राजनीतिमा नदेखिएका गौतम भेटघाटका लागि एस पार्टीको कार्यालयमा पुगेका थिए ।  

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र गौतमबीच छलफल भएको थियो । 

गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेस माओवादी र एकीकृत समाजवादीलाई बाहिरै राखेर सरकारको नेतृत्व लिने तयारीमा लागेपछि वामखेमा पनि छुट्टै रणनीति बनाउन जुटेको हो । 

यसअघि माओवादी र समाजवादीका नेताहरुले विभिन्न तहमा नियमित कुराकानी गरिरहेका छन् भने एमालेका दोस्रो र तेस्रो तहका नेताहरु पनि संवादमा छन् । यही क्रममा माओवादीले समाजवादी केन्द्र स्थापनाको प्रस्ताव गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ