arrow

अदुवाभन्दा पिँडालु महँगो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
pidalu.jpg

दिपायल । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।

कमै मात्रामा उत्पादन हुने र  कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र  अत्तरियालगायतका  बजारमा  बिक्री भइरहेको छ ।

डोटीको बडीकेदार , जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यवसायरुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार-२ का नरबहादुर शाहीले बताए । उनले भने, “अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हाँै । ” 

उनले पिँडालु बिक्रीबाट वार्षिकरुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको पनि बताए ।  आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेका उनको भनाइ छ  ।

कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा  यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।   पिँडालु खेतीमा सम्लग्न बडीकेदार -५ का तेज कोटकेनीले भने, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन्  ।  पहिले कसैले पनि खरिद नर्गने  पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधँैभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।” स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा कृषि उपज बेच्न बाध्य भएको उनको भनाइ छ । 
 
दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ  आम्दानी भएको बडीकेदार-४ का घनबहादुर ताडीले बताए । साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनको भनाइ छ । 

यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको  किसान ताडीले बताए । यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती  छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेति गरिरहेको उनले बताए ।

किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती  पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांश  किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका  कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । 

यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने , बजारीकारण र  चिस्यान केन्द्रका लागि पहल गरिने उनले जानकारी दिए  ।



नयाँ