arrow

झलनाथलाई राष्ट्रपतिमा अगाडि सारियो, सरकार गठबन्धनकै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
jhalanath-khanal-ncp.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार गठनको पद बाँडफाँडमा सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सारेर आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको छ । संसदमा १० सिट मात्रै जितेको तर राष्ट्रिय पार्टी नभएको एस पार्टीले नयाँ सरकारको गठनमा खनाललाई राष्ट्रपतिमा अघि सारेको हो । 

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसको साथ पाएर पनि इलाम क्षेत्र नं १ बाट नेकपा एमालेसँग पराजित भएका खनाललाई अघि सारेर नेकपा एसले सत्ता बाँडफाँटमा बार्गेनिङ गरेको हो । नेता खनालले पनि पार्टीले राष्ट्रपति पद पाउने भएको अवस्थामा आफू त्यो जिम्मेवारी लिन तयार भएको बताएका छन् । 

‘सरकार गठन गर्दा शक्ति सन्तुलन मिलाउनु पर्ने हुन्छ, त्यसमा नेकपा एसले राष्ट्रपतिको दाबी गर्ने छ त्यसका लागि आफू तयार छु’, खनालले भने । इलाममा आफूलाई षडयन्त्र गराएर हराएको बताउँदै त्यसको लागि सर्वोच्च अदालतमा मुद्धा दायर गरेको पनि उनले बताए । शक्ति बाँडफाँट र सन्तुलन मिलाउने क्रममा नेकपा एसलाई राष्ट्रपति भागमा पर्ने पनि उनको भनाई थियो । 

आइतबारको पार्टी सचिवालय बैठकमा पनि खनालाई राष्ट्रपतिमा अघि बढाउन सकिने गरी प्रस्ताव गरिएको भए पनि त्यसलाई एस पार्टीले बाहिर ल्याएको छैन । उदयपुरमा रहेका एस पार्टीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनबाट सरकार निर्माण गर्ने क्रममा पार्टीले राष्ट्रपतिमा दाबी गरेको,  त्यसमा खनाललाई प्रस्ताव गरिने र त्यो निर्विवाद हुने बताएका छन् ।

 ‘पार्टीको बटमलाइन राष्ट्रपति हो प्रधानमन्त्री होइन त्यसकारण राष्ट्रपतिमा खनाललाई अघि सारिनेछ’, उपमहासचिव खतिवडाले भने । उनले तत्कालै वामपन्थीहरुको सरकार नबन्ने भएकाले खनाल नै राष्ट्रपति बन्नेमा शंका नभएको पनि दाबी गरे । उता खनालले पनि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताएका थिए । 

सोमबार मात्रै एस पार्टीले माओवादीका अध्यक्ष प्रचण्डसँग राष्ट्रपति एस पार्टीको भागमा हुने र त्यसमा खनाललाई प्रस्ताव गरिनेसमेत जनाएको थियो । सरकार बनाउने विषयमा भएको छलफलमा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटघाट भएको थियो । 

सो क्रममा अध्यक्ष नेपालले सरकार बनाउने मध्यमार्गी बाटो अपनाउन समेत आग्रह गरेका थिए । सोमबार दिउँसो मात्रै नेता नेपालले वामपन्थी सरकार बनाउने विषय अल्मल्याउका लागि गरिएको फण्डा मात्रै भएको बताएका थिए । 

पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा वामगठबन्धन भनेर अल्मल्याउन खोजेको तर सरकार भने गठबन्धनकै बन्ने दाबी गरेका थिए । 

उनले गठबन्धनमा रहेका दलहरुले आफ्नो घमण्ड प्रस्तुत गरेमा एस पार्टीले जस्तोसुकै निर्णय गर्नसक्ने भन्दै धम्क्याएका थिए ।  उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्नेमा चासोको विषय भएको पनि बताउँदै धम्क्याएका हुन् । 

राष्ट्रपतिको बार्गेनिङका लागि अध्यक्ष नेपालले सो अभिव्यक्ति दिएको चर्चा पार्टीभित्र हुन थालेको छ । ‘आगामी सरकार गठबन्धनकै बन्नेछ, वामगठबन्धनको बन्दैन’, अध्यक्ष नेपालले भनेका थिए । 

अहिलेको अवस्थामा शक्ति सन्तुलनको विषय भएकाले यो विषयमा छलफल हुनै बाँकी रहेको उनले बताए । ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्नेकुरा चासोको विषय छ । कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलाउमात्रै हो’, अध्यक्ष नेपालले भने ‘कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ