arrow

बाँकेको राप्तीसोनारी र नरैनापुरको विकासका योजना माग्दै 'नमुना'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
namuna.jpg

नेपालगन्ज  । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरू पेश गरेकी छिन् । काठमाडौं पुगेकी उनले अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरू पेश गरेकी हुन् ।

उनले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुङ्गे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार पाँच सय घरधुरीका फुसका छाना हटाउन बजेट, १६ किलोमिटर पक्की नाली निर्माण लगायतका योजनाहरू पेश गरेकी छन् । ‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरू राखेर दुवै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छु । मन्त्रीज्यूहरूसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफल भयो,’ काठमाडौंमा रहेकी सांसद नमुनाले टेलिफोनमा भनिन् । 

आफूले पेश गरेका योजनाहरूको बारेमा दुवै मन्त्रीहरू सकारात्मक रहेको भन्दै केही योजनाहरूमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुने उनले दाबी गरिन् । अहिलेसम्म योजनामा समावेश नभएका यहाँका विभिन्न योजनालाई योजनामा समावेश गरेर बजेट विनियोजन गरिदिन आफूले मन्त्रीहरूलाई आग्रह गरेको सांसद नमुनाले बताइन् । उनले बाँसखुली हुँदै दाङको भौवा नाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रा नालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि माग पेश गरेकी छिन् ।

फुसको छानो हटाउने कार्यक्रम अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत नरैनापुरमा दुई हजार, राप्तीसोनारीमा एक हजार र कोहलपुरमा पाँच सय घर निर्माणका लागि बजेट सुनिश्चित गरिदिन अर्थमन्त्री शर्मालाई आग्रह गरिएको उनले बताइन् । 

‘फुसका छाना विस्थापित गर्नको लागि सोमबार नै मैले पेश गरेका योजना अनुसार बजेटको लागि अर्थमा फाइल गइसकेको छ,’ सांसद नमुनाले जानकारी दिँदै भनिन्, ‘एक दुई दिनमै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्छ होला  ।’

राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकीकृत बस्ती विकास र निर्माण गर्नका लागि सहरी विकास मन्त्री चौधरीलाई उनले आग्रह गरेकी थिइन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुम्भर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरमा ६-६ कोठे भवन तथा सहिद स्मृति सामुदायिक भवन निर्माणको लागि बजेट सुनिश्चित गरिदिनका लागि अर्थ मन्त्री शर्मासँग सांसद नमुनाले छलफल गरेकी हुन् । 

बाँके क्षेत्र नम्बर १ लुम्बिनी प्रदेशसभा १ का मा पर्ने वडाहरूमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङ्गा खोलामा तीन किलोमिटर तटबन्धका लागि समेत बजेट दिन अर्थमन्त्रीसँग उनले आग्रह गरेकी छन् । लुम्बिनी प्रदेश सरकारबाट समेत आफ्नो क्षेत्रमा विभिन्न योजनाहरू परेको भन्दै सांसद नमुनाले त्यतिले मात्र नपुगेर विकास माग्दै आफू काठमाण्डौ पुगेको बताइन् । 

‘प्रदेश सरकारले दिने बजेटले मात्र राप्तीसोनारी र नरैनापुरको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘मलाई त्यहाँका जनताले यसले केही गर्छे भनेर दोस्रो पटक जिताएर पठाएका छन् । जनताकै योजना बोकेर काठमाडौंमा मन्त्रालयका ढोका ढोकामा पुगिरहेकी छु।’

सांसद नमुनाले केही दिन अघि मात्र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर राप्तीसोनारी र नरैनापुरका लागि थप योजना र बजेट विनियोजन गर्न लगाएकी थिइन् । मन्त्री चौधरीसँँगको भेटघाटमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संंगीता सुवेदीको पनि उपस्थिति रहेको थियो।



नयाँ