arrow

संसदको गरिमाः बिमार माधव नेपाल अस्पतालबाट सिधै शपथमा भाग लिन जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
madhav-bimar-deuba-prachanda.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाटै सपथ ग्रहण कार्यक्रममा सहभागी हुने भएका छन् । उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल अस्पतालबाट सिधै संसद भवन गएर सपथ लिएपछि उनी अस्पतालमै फर्कने भएका हुन् । 

समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणी सुवेदीका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य समस्या भएका कारण अस्पतालबाट संसद भवन पुगेर सपथ ग्रहण गरेपछि थप उपचारका लागि अस्पतालमै फर्कने भएका हुन् । 

उनलाई सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अस्पतालले अनुमति दिएको छ । अध्यक्ष नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएपछि तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । 

निमोनियाले ग्रस्त उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सक टोली संलग्न रहेको उनको निजी सचिवालयले जनाएको छ । 

सङ्क्रमण थप फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको जनाइएको छ । यद्यपि हिजोमात्रै प्रधानमन्त्री शेरबहादृुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भेटेका थिए । 

संसदमा आजको शपथ ग्रहण दिउँसो १ बजे शुरु हुनेछ । त्यसअघि १२ बजे सर्वदलीय बैठक बस्नेछ । शपथ ग्रहणपछि चियापान कार्यक्रम हुनेछ । नेता नेपाल स्वास्थ्य स्थितिका कारण चियापानमा भने सरिक हुने सम्भावना कम छ । 



नयाँ