arrow

कास्कीका धनबहादुरको कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
Dhan Bdr Story Photo.jpg

पोखरा । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । ४६ वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका छन् । 

कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भने । 

विसं २०७५मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । “जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम शुरु गरें,” उनले बताए, “बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।” 

गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उनले बताए । “कोरोना शुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो,” पुनले जोड दिए, “तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो । गत वैशाखदेखि भने राम्रै भएको छ ।” 

पछिल्लो समय उनले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आएका छन् । पछिल्लो समय कोइला बेचेर मात्रै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिँदै उनले अहिले तीन मजदुरलाई काम पनि दिए छन् । “कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढि बचत हुन्छ,” पुनले भने । 

उनको मिहेनत, परिश्रम र विदेशमा सिकेको  सीपको प्रयोगले गाउँले पनि खुशी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताए ।

“गाउँमा उद्योग चल्नु गौरवको कुरा हो । जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ,” उनले भने, “यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।” गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताए । दुईवटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाडौँलगायत अन्य शहरमा निर्यात हुने गरेको उनले जानकारी दिए ।

“विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ,” पुनले भने, “बजारको कुनै समस्या छैन । पछिल्लो समय त माग धान्नै गाह्रो छ ।”

बजारको माग धान्नका लागि अझै तीनवटा भट्टी थप्ने उनको योजना छ । पाँचवटा भट्टीको कोइला बिक्रीबाट मासिक रु एक लाखभन्दा बढी रकम बचत गर्ने उद्देश्य लिएका पुनले कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरुलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ