arrow

भारत प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक छ : प्रवक्ता बाग्ची

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
india-mea-spokesperson-arindam-bagchi.jpg

काठमाडौं । भारतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन्।

गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही पुस १० गते नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । 

प्रवक्ता बाग्चीले भनेका छन्, “पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने बित्तिकै हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभयो । नेपालका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसक्नुभएको छ ।” 

दुई देश बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए। नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै उनले भने, “दुई देशका बीचमा रहेको अद्वितीय एवं सांस्कृतिक सम्बन्धलाई बढवा दिँदै मिलेर काम गर्ने आशा राखेका छौँ । द्विपक्षीय सम्बन्धलाई बढाउने कुरामा हामी कुनै कमी हुन दिँदैनौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ