arrow

समाजमा रीतिरिवाजको विकास     

logo
शीतल गिरी,
प्रकाशित २०७९ पुष १६ शनिबार
ritiriwaj-shital-giri-article.jpg

प्रत्येक समाजमा अनेकौं समस्याहरू उत्पन्न भइरहन्छन् । कहिलेकाहिँ कुनै समस्याले यति उग्ररूप धारण गर्दछ कि समाजमा चल्दै आएको मधुर सम्बन्ध विखण्डित हुने खतरा देखा पर्दछ । तर प्रत्येक समाजमा कुनै यस्तो खास शक्ति विद्यमान रहन्छ जसले दैनिक जीवनको क्रियाकलापलाई सरल रूपबाट समाधान गर्नमा सहायक बन्ने गर्दछ । 

यस्ता समस्याहरू चाहे जतिसुकै जटिल किन नहोस् समाजको सम्बन्धमा एक हदसम्म व्यवस्था र स्थायित्व बनाइराख्नमा सामाजिक प्रतिमानको महत्वपूर्ण भूमिका भने रहन्छ । यी प्रतिमान के हुन् ? समाजमा एक अर्कासँग आचरण गराउने अनिवार्य नियम अथवा विधानलाई नै सामाजिक प्रतिमान भनिन्छ । हाम्रो व्यवहार सही छ अथवा गलत, समाज अनुकूल छ या प्रतिकूल, यो थाहा पाउनको लागि समाजमा आचरणरुपी प्रतिमान अथवा तराजु बनेको छ तथा कसी निर्धारित छ । 

यिनै तराजु तथा कसीका आधारमा समाजमा हाम्रो सम्पूर्ण आचरण व्यवस्थित हुने गरेको छ । हामी यिनै प्रतिमान, नियमलाई स्वीकारिरहेका हुन्छौं ।

किनभने यस्ता प्रतिमान सम्पूर्ण समाजको हुन्छ, समाजका ती अभिन्न अंग हुन्छन् जसलाई उल्लंघन गर्नु समाज प्रतिकूल कार्य मानिन्छ ।         

यस्तो प्रतिमानको कुन रूप हुन्छ । एक रूप त्यो हो जो समाजको सबै समूह, व्यक्तिको लागि अनिवार्य रूपमा लागू हुन्छ । दैनिक जीवनमा हामी अनेक चिनजानका मानिसलाई भेट्दछौं । उमेरमा कुनै ठूलो छ भने ढोगेर मान राख्दछौं । बराबरका छन् भने अभिवादन गर्दछौं । हामी हातले भोजन ग्रहण गर्छौं, बालक हुर्काउने हाम्रो आफ्नै तरिका छ । कुराकानी गर्ने, स्वागत सत्कार गर्ने ढंग पनि आफ्नै छ । 

यसप्रकार प्रत्येक समाजमा सर्वस्वीकृत तरीका हुन्छ । स्वीकृत परम्परा, नियम तथा प्रथाहरू हुन्छन् । यी सबै तत्व मिलेर समाजको जीवनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट परिचालित गरिन्छ । यस किसिमको सामूहिक प्रतिमानलाई हामी रीतिरिवाज, रुढी एवं प्रथा भन्दछौं । कुनै पनि समाजको सांस्कृतिक विशेषतालाई बुझ्नको लागि यी अवधारणाहरूको अध्ययन आवश्यक छ । 

हामी विभिन्न परिस्थितिहरूको सामना गर्दछौं । विभिन्न मानिसहरूसँग भेटघाट गर्छौं । हामीले उनीहरूको कसरी अभिवादन गर्नुपर्छ, उनीहरूसँग कसरी बोल्नुपर्छ, ढोगभेट गर्ने, नमस्कार भन्ने अथवा हेलो हाय, यस बारेमा पनि रीतिरिवाज हुन्छ । 

हामी शरीरमा बराबर कपडा लगाउँदछौं । बिहान खाजा खाने, करुवा, अम्खोरा या गिलासले पानी पिउने, यी सबै बनी बनाउ सामाजिक नियम हुन्— तयारी पोशाक जस्तो । प्रत्येक समाजमा यस्तो बनी बनाउ स्वीकृत तरीका हुन्छ । यसलाई हामी रीतिरिवाज, रुढी एवं प्रथाको नामले जान्दछौं । हाम्रो समाजको प्रत्येक व्यक्ति हामीबाट यो अपेक्षा राख्दछ कि हामी समाजका यिनै स्वीकृत रीतिरिवाज अनुसार व्यवहार गरौं ।         
मानिसले आफ्नो विभिन्न आवश्यकताहरूको पूर्ति र पारस्परिक आचरणको नियम तथा जीवन चलाउनको लागि थुप्रै उपायहरू बरोबर आविष्कार गरिरहन्छ । त्यस मध्येको एउटा तरीका रीतिरिवाजलाई पालन गर्नु पनि हो । पारस्परिक जीवन चलाउनको लागी प्रत्येक समाज आफ्नो भौगोलिक र आर्थिक सामाजिक सम्बन्धको आधारमा विभिन्न प्रकारको पृथक रीतिरिवाज विकास गर्दछ । 

यसकारण एउटा समाजको रीतिरिवाज एउटा समाजमा मान्य हुन्छ, त्यहि रीतिरिवाज अर्को समाजमा अमान्य हुन्छ । यसकारण यो भन्नु अवैज्ञानिक हुन्छ कि हाम्रो रीतिरिवाज अरू समाजको तुलनामा राम्रो छ । प्रत्येक समाजको लागि आफ्नो रीतिरिवाज सर्वोत्तम हुन्छ । अर्को शब्दमा, रीतिरिवाज सापेक्ष शब्द हो — आफू आफैँमा न त राम्रो र न त खराब हुन्छ । जुन एउटा समाजको लागि उपयोगी छ । त्यही अर्कोका लागि नहुन पनि सक्छ ।     

प्रत्येक समाजमा खान–पान, शिष्टाचार, भेष–भूषा तथा स्वागत–सत्कारको आफ्नो अलग रीतिरिवाज हुन्छ । समाजको प्रत्येक व्यक्तिले यही अपेक्षा गर्दछ कि अर्को व्यक्ति उसँग त्यसै अनुकूल आचरण गरोस् । उदाहरणको लागिः हामी नेपाली हौँ, हामी अन्य नेपालीबाट यही आशा गर्दछौं कि उसले नमस्कारद्वारा अभिवादन गरोस् । 

बालककालदेखि हामी नेपालीको स्वभाव बनिसकेको छ । यदि हामीले यो तरीकाभन्दा अलग किसिमबाट पनि अभिवादन गर्यौं भने समाजले हामीलाई दोषी घोषित गरी सजाय गर्न सक्दैन । हिजो आज ‘हेल्लो’, ‘हाय’, ‘गुडमर्निङ’— अभिवादनको यो पाश्चात्य तरीका मानिसमा व्यापक हुने गरेको छ । समाजले उनीहरूलाई जबरजस्ती रोक्न सक्दैन । 

यसबाट यो कुरा थाहा पाइन्छ कि रीतिरिवाज पालन गर्नमा हामी सहिष्णु हुन्छौं । रीतिरिवाज चाहे जुन सुकै पनि होस्, कुनै एउटा समाजमा हरेक परिस्थिति अनुकूल एउटा सही रीतिरिवाज हुन्छ ।         

एक समान आवश्यकताको परिस्थितिमा प्रायः अनेक व्यक्तिहरूद्वारा एकसाथ मिलेर अथवा कमसेकम एक ढंगबाट मामूली अथवा सामान्य या सानोतिनो कामलाई पनि बारम्वार दोहोर्याउनाले रीतिरिवाजको विकास हुन्छ ।         



नयाँ