arrow

अबको राष्ट्रपति को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
future-president-uml.jpg

काठमाडौं । आउँदो फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल सकिएसँगै मुलुकले नयाँ राष्ट्रपति पाउनेछ । सत्ता समीकरणका लागि नयाँ गठबन्धन बनेपछि एमालेको भागमा परेकाले एमालेकै कोटाबाट मुलुकले नयाँ राष्ट्रपति पाउने निश्चितजस्तै छ । 

निर्वाचन आयोगले पनि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको तयारी थालिसकेको छ । तर एमालेले कसलाई राष्ट्रपति बनाउला भन्ने बारेमा केही पनि बाहिर आएको छैन । एमालेभित्र राष्ट्रपति बन्नका लागि धेरै पात्रहरु भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको दाहिने हात मानिने जो कोही नेताहरु राष्ट्रपति बन्न सक्ने बताइएको छ । 

नयाँ गठबन्धनसँगै एमालेले ३५ राजकीयसहित डेढ सय संवैधानिक पदमा आफ्ना नेता–कार्यकर्तालाई नियुक्ति दिलाउने अवसर पनि पाएपछि राष्ट्रपतिका लागि पनि एमालेले सोच विचार गरेर मात्रै पठाउने देखिएको छ । 

जसका लागि एमालेभित्र उपाध्यक्षहरु युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यको नाम चर्चामा रहेको छ । नयाँ गठबन्धन बनाउँदै राष्ट्रपति पद एमालेले पाउने तय भइसकेपछि एमालेभित्र रहेका तीन उपाध्यक्ष त्यसबाहेका केही स्वतन्त्र व्यक्तिहरुको पनि चर्चा चल्ने गरेको छ । 

तर एमालेले राजनीतिक व्यक्तिलाई नै राष्ट्रपतिमा पठाउने तयारी गरेको स्रोतको दाबी छ । अहिलेसम्मको अवस्था हेर्ने हो भने एमाले उपाध्यक्ष युवराज ज्ञवाली र सुवास नेम्वाङ राष्ट्रपतिका सबैभन्दा बलिया दाबेदार हुन् । एमालेभित्र ज्ञवाली धेरै शक्ति संघर्षमा नलाग्ने र स्वच्छ छवि भएका नेतामा पर्छन् । अहिलेको अवस्थामा ओलीका सबैभन्दा नजिकका विश्वास पात्र पनि उनै हुन् । 

माधव नेपाल समूहबाट १० बुँदे सहमतिपछि एमालेमै रहेका ज्ञवाली दशौं महाधिवेशनबाट ओलीकै रोजाइमा उपाध्यक्ष भएका हुन् । स्थानीय तहको निर्वाचन र संघीय संसदको निर्वाचनमा पनि ज्ञवालीको भूमिकाबाट ओली सन्तुष्ट रहेका कारण उनको सम्भावना रहेको बताइन्छ । 

तर पनि यो विषयमा नेताहरु धेरै खुलेर चर्चा गर्न चाहँदैनन् । एमाले नेताहरुका अनुसार राष्ट्रपतिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि चर्चा छ । 

तर ज्ञवाली र नेम्वाङको सम्भावना अधिक रहेको उनीहरु बताउँछन् । ज्ञवाली सोझा रहेका कारण नेम्वाङकै संभावना बलियो रहेको पनि उनीहरुको दाबी छ । तर नेम्वाङलाई रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लागेका कारण ओलीले अर्को व्यक्ति रोज्न सक्ने एमाले नेताहरुको भनाइ छ ।

पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोड्न नेम्वाङको भूमिका रहेकाले उनलाई पुरस्कारस्वरुप राष्ट्रपति दिन सकिने संभावना रहेको स्रोतको दाबी छ । 

‘नेम्वाङले अर्का उपाध्यक्ष विष्णु पौडेलसँग मिलेर कांग्रेससहितको गठबन्धन भत्काउन सक्रिय रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासमा लिने काम गरेका कारण पार्टी अध्यक्षले नेम्वाङलाई राष्ट्रपति पद पुरस्कार दिन सकिने संभावना पनि रहेको छ,’ स्रोतले भन्यो । 

अर्कोतर्फ एमालेले अहिले भैरहेको कुनै पनि सिट गुमाउन नचाहेकाले नेम्वाङलाई नपठाएर ज्ञवाली र शाक्यमध्ये एक जनालाई पठाउनसक्ने सम्भावना रहेको स्रोतको दाबी छ । 

शाक्यको हकमा वर्तमान राष्ट्रपति सकारात्मक नभएकाले उनको संभावना कमजोर रहेको कतिपयले बताउँदै आएका छन् । तर पार्टीभित्र भने ज्ञवाली र शाक्यमध्ये एक जनालाई पठाउनु पर्ने मत बुलन्द हुन थालेको छ । 

कतिपयले दुई कार्यकाल पूरा गरिनसकेकाले राष्ट्रपतिमा भण्डारी नै दोहोरिने अनुमान पनि गरेका छन् । तर संविधानको धारा ६४ (२) स्पष्ट रुपमा दुई पटक राष्ट्रपतिमा निर्वाचित व्यक्ति राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । 

तसर्थ उनको सम्भावना देखिँदैन । यद्यपि संविधान जारी भैसकेको दुई वर्ष भनेर अर्थ लगाइएमा उनको सम्भावना रहेको बताइन्छ । तर एमालेले त्यति ठूलो जोखिम मोलेर विद्या भण्डारीलाई नदोहोर्याउने र संविधानको प्रावधानलाई अर्को व्याख्या गरेर आफूलाई आलोचित नबनाउने भएकाले विद्या भण्डारीको सम्भावना निकै कमजोर रहेको स्रोतको दाबी छ । 

कतिपयले एमालेबाट बाहिर रहेका अर्को पार्टी बनाएका माधवकुमार नेपाललाई ल्याएर राष्ट्रपति बनाउनुपर्छ भने पनि एमालेभित्र सो विषयको विरोध हुन थालेकाले त्यो संभावना नरहेको बताइन्छ । 

पार्टी मिले पनि नेपाललाई राष्ट्रपति बनाउने संभावना नभएको एमालेका नेताहरुले बताएका छन् । ‘पार्टी मिलाउन सकिएला तर अहिले नै राष्ट्रपति दिने कुरा संभव छैन’, एमालेका एक नेताले भने । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लामो धारणा राख्दै पार्टी मिले पनि राष्ट्रपति दिन नसकिने संकेत गरिसकेका छन् । एमाले अध्यक्ष ओली यतिबेला एकीकृत समाजवादीसँग एकता गरेर १० सिट बढाउने दाउमा छन् ।

त्यसरी १० सांसद थप्दा एमालेको संख्या ८८ हुन्छ । स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई एमालेमा मिलाउने प्रयास भइरहेको छ ।

त्यसो गर्दा एमाले र कांग्रेसको समान ८९ सांसद हुन्छन् । तर अहिले यो संभावना नरहेको दुवै पक्षका नेताहरुको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ