arrow

जुत्ताचप्पल उत्पादक संघमा भाँडभैलो, गुटले उद्योगीहरु समस्यामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
jutta-chappal-mela.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पेशागत हकहितका लागि स्थापित भनिएको जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) का केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद छताछुल्ल भएर सतहमा आएको छ । संघकै पदाधिकारीहरुले विधान उल्लंघन गरेको भन्दै केही सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

मेलाका नाममा संघका पदाधिकारीले आफूहरु मात्र सहभागी हुने गरी सिन्डिकेट लगाउन थालेको उनीहरुको आरोप छ । त्यसको हिसाबकिताब साधारण सभामा हुने भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका छन् । 

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सदावहार रुपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै वर्षमा दुई पटक मात्र संघ आफैंले मेला गर्ने प्रावधान राखिएको थियो । तर संघ आफैंले बैशाखयता ६ पटक मेला आयोजना गरिसकेको छ । 

संघमा गुट बनेपछि एउटा समूहले भृकुटीमण्डपको सानो चौरमा र संघको नाममा ठूलो चौरमा मेला हुँदै आएको छ । संघले यही वर्ष ६ पटक मेला गरिसकेको छ । यही पुस २१ गतेदेखि फेरि मेला गर्ने भनेर भृकुटीमण्डपको चौर बुक गरिसकेको छ । 

संघले सानो चौरको मेलामा सहभागी हुने जुत्ताचप्पल उत्पादकलाई कारबाही गरेको थियो । उनीहरुलाई विधान नमानेको संघको आरोप छ । जबकि संघका पदाधिकारी आफैंले यही वर्ष ६ पटक मेलामा सहभागिता जनाइसकेका छन् । 

संघको विधानले वर्षको दुई पटक मात्र मेला गर्ने भने पनि कार्यसमितिले मंसिर मसान्तसम्म मेला गर्न दिने निर्णय गरेको थियो । सानो चौरमा मेला गर्ने जुत्ताचप्पल उत्पादकहरुले आफूहरुमाथिको कारबाही फुकुवा गर्नु पर्ने सर्त राखेका थिए । 

त्यसपछि संघले यही पुस ५ गतेसम्म कारबाही फुकुवा गरिएका मेला छाड्नु पर्ने र यदि मेला नछाडेको खण्डमा कारबाही यथावत रहने निर्णय गरेको थियो । 
संघकै नाममा भएको मेलामा सहभागी केही उद्योगीले संघको निर्णय अनुसार पुस ५ सम्म मेला छाडेनन् । 

उनीहरुले यही पुस २१ देखिको मेलामा भने सहभागिता जनाउन पाउने भएका छन् । उता सानो चौरमा भएको मेलामा सहभागिता जनाउनेहरुलाई चाहिँ पाखा लगाउने नियत संघको देखिन्छ । 

संघको विधान मस्यौदा उपसमिति सदस्य अर्जुनकुमार शर्मा विधानमा वार्षिक रूपमा दुई पटक सेल मेला र एक पटक वार्षिक मेला गर्ने गरी मध्यमार्गी बाटो बनाएको अनुभूति गरेकोमा अहिले आएर संघको नामबाट हरबखत ब्यानर मेला लगाइ मेला लगाइएको बताउँछन् । उनले भने, ‘बैशाख, जेठ, भदौ, असोज, कार्तिक, मंसिर र पुसको आजसम्म संघले गरेको मेला विधान सम्मत छ ?’

‘हिजो भृकुटी मन्डपको सानो चौरमा मेला लगाएको भनेर सो मेला विधानविपरीत भयो भनेर संघका सदस्यहरुलाइ कार्वाही गरिएको भनेर प्रचार गरिएको थियो’, उनले भने, ‘आजसम्म संघको नाममा लगाएको मेला के विधान सम्मत छ ?’

यसरी असन्तुष्टि ब्यक्त गर्ने शर्मामात्र हैन, धेरै सदस्य छन् । महासंघले एउटा गुटलाई मात्र प्रश्रय दिएको उनीहरुको आरोप छ । त्यसैले पुस २१ गतेदेखि संघका नाममा हुने मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर, क्यालिबर, मकालु, हाइलाइफ, स्काइ, लेदर विङ्स, उत्सव, बेम्बो, बोस, फुटस्टेप, ह्याप्पी, फिटराइट, टाकुरा लगायतका कम्पनीको सहभागिता नहुने देखिएको छ ।  

मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । शिखर सुज लगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३–४ वटा गुट बने । 

ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग मिलेर मेलामा सहभागिता जनाउन थाले । मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । 

त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो । 

केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । ठूलो चौरमा मेला गर्नेहरु संघको संस्थापन पक्षका जुत्ताचप्पल उत्पादक चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । सानो चौरमा मेला गर्नेहरुलाई चाहिँ उनीहरु विकृति भित्र्याएको आरोप लगाउँछन् । 

अहिले संघको अध्यक्ष नानीराज घिमिरे छन् । यसअघि संघले लगाउने मेलामा सबै जुत्ताचप्पल उत्पादकलाई समेट्नु पर्ने भएकाले टाइटल स्पोन्सर कसैलाई नदिने निर्णय कार्यसमितिले पारित गरेको थियो ।

जुत्ताचप्पल मेला गर्नुअघि सदस्यहरुको भेला आयोजना गरेर टाइटल स्पोन्सर कसैलाई दिने नदिने निर्णय गरिन्थ्यो । अहिले आएर त्यसलाई मिच्दै केही पदाधिकारीले अबैध निर्णय गरेर २१ गतेदेखि हुने मेलाको टाइटल स्पोन्सर किरण सुज मेनुफेक्चररको गोल्डस्टार सुजलाई दिइएको छ । 

आफ्नै निर्णय मिच्ने संघको यो कदमको पनि सबैतिर विरोध भइरहेको छ । शुरुआतदेखि नै मेलामा सहभागिता जनाउँदै आएका चर्चित जुत्ताचप्पल ब्राण्डका उत्पादकहरुले टाइटल स्पोन्सर माग्दा भने संघले सबैलाई समेटेर जाने भन्दै टाइटल स्पोन्सर दिन इन्कार गर्दै आएको थियो । 

जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक संघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा नीति नियम बनाउन लबिङ गर्नुपर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । 

हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ, एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने, उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ