- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । हेटौंडाबाट एक हजार ७ सय ४१ अमेरिकी डलरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।अमेरिकी डलर सस्तोमा साट्न पाइन्छ भनी विभिन्न जिल्लाका मानिसहरूलाई मकवानपुरको विभिन्न स्थानमा बोलाई रकम लुट्ने ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको हो ।
उनीहरूलाई हेटौंडा उपमहानगरपालिका १७ हटिया स्थित सालक पार्कबाट बुधवार जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेका सिन्धुपाल्चोक बाह्रबिसे ३ बस्ने २१ वर्षीय हरि भन्ने सोम बहादुर डुम्जन, वर्ष ३३ को दिवश डुम्जन, वर्ष २८ को कान्छा भन्ने शेर बहादुर तामाङर वर्ष २८ को सुक भन्ने देवा डुम्जन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर १७४१ रुपैयाँ, नेपाली रुपैयाँ ६२१०, बा ५०प ९३७२, बा.प्र. ०२-०१९प९६२६ र बा.प्र. ०२-०३४५४२८७ नम्बरको ३ वटा मोटरसाइकल, कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङ्ग्रा ( साना ढुङगाहरु) र मोबाइल ५ थान बरामद गरेको छ ।
पक्राउ परेकाहरूमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम "ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्टर्सन) सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।