arrow

स्वधर्म : जीवनलाई नियमित तुल्याउन सक्नु पनि उत्तम साधना

पहिलेको कुरा बिर्सिदेऊ, जे भयो भयो अब सपार्दै जाऊ

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ पुष २३ शनिबार
swadharma-pustak.jpg

काठमाडौं । श्री शिवपुरी बाबाको शिक्षालाई स्वधर्म भनिन्छ । स्वधर्ममा मानिसलाई आफ्नो शरीर रक्षाका लागि अपनाउनुपर्ने उपायलगायत परमात्मा चिन्तनका विविध विषय समाविष्ट हुन्छ । जसअनुसार मानिसले सबभन्दा पहिले आफ्नो शरीर ठिक गर्नुपर्छ । जीवन, व्यवहार चलाउनका लागि कुनै पेशा वा काम गर्नुपर्छ । यति गरेर बाँकी समय परमात्माको भजन, कीर्तन (धारणा, ध्यान, समाधि) को अभ्यास गर्दै परमात्माको चिन्तन बढाउँदै जानुपर्दछ ।

यसरी परमात्मातर्फको चिन्तन बढ्दै गएपछि समाधिमा बस्न सकिन्छ र एक दुई प्रहरको अखण्ड समाधिमा रहेपछि र परमेश्वरको परम कृपा भएपछि उहाँको दर्शन मिल्छ । जब तपाईँ मौन ध्यानमा रहेर परमात्मा-चिन्तनमा नै रमाइरहनुहुन्छ तब परमात्माको जाज्वल्यमान ज्योति तपाईँको अगाडि प्रकट हुन्छ, जुन तपाईँ स्वयंले अनुभूति गर्नुहुन्छ तर त्यसलाई शब्दमा वर्णन गर्न भने उहाँ आज्ञा हुन्थ्यो, “परमात्मा सानुभन्दा सानु, महान्भन्दा पनि सुन्दरभन्दा पनि अति सुन्दर, कुरूपभन्दा पनि कुरूप, बलवान्भन्दा पनि बलवान् र कमजोरभन्दा पनि कमजोर हुनुहुन्छ ।”

स्वधर्मका तीन अनुशासन रहेका छन् । जसमा शारीरिक अनुशासन नैतिक अनुशासन र आध्यात्मिक अनुशासन हुन् ।

शारीरिक अनुशासन
मानिसले आफ्नो शरीर रक्षा गर्न के-के वस्तु आवश्यक छ, कुन वस्तु कति चाहिन्छ, किन चाहिन्छ, केका लागि चाहिन्छ, सोहीअनुसारको व्यवस्था गर्नुपर्छ । कति खाना खाने, कति घण्टा सुत्ने, कति घण्टा कमाउने काम गर्ने (किनभने काम नगरी खान मिल्दैन, नखाएमा शरीर रक्षा हुँदैन), के हेर्ने, के सुन्ने आदि हजारौँ आवश्यकतालाई नियोजित तुल्याउनुपर्छ । मानिसले भोलि के-के काम गर्ने हो, त्यसको कार्य तालिका बनाउनुपर्छ र त्यहीअनुसार चल्नुपर्छ । विशेष परिस्थितिमा बाहेक केही पनि घटबढ गर्नुहुन्न । राति सुत्ने बेलामा आफूले दिनभरमा के-के काम गरेको हो, गल्ती भयो-भएन केलाउनुपर्छ । यदि गल्ती भएको रहेछ भने भोलि सो प्रकारको गल्ती फेरि हुन नदिने कोशिश गर्नुपर्छ । आफूले गरेको काममा कुशलता हासिल गर्न सक्नुपर्छ । शरीरलाई दुःख दिन हुन्न, सुख पनि दिन हुन्न । शरीरलाई प्रेम वा हेलाँ गर्न पनि हुन्न । शरीरलाई काममा नै लगाइरहनु पर्छ । जस्तो तपाईँलाई मोटर चलाउन पेट्रोललगायत अनेक कुराको आवश्यकता पर्छ, त्यस्तै शरीर चलाउनका लागि पनि अनेकौँ आवश्यकताहरू पूरा गर्नुपर्छ नत्र शरीर चल्दैन । तर शरीर रक्षा गर्नाले मात्र पनि परमात्मा दर्शन पाइन्न ।

कहिलेकाहीँ हामीले कार्य तालिका अनुसार काम गर्दैनौ । स्टेसनमा रेल गाडी तोकिएको समयमा आइपुग्छ र समयमै छुट्छ । यसै हुनाले यात्रुहरू समयमै यात्रा गर्न तयार हुन्छन् तर यदि रेल समयमा आउने जाने गरेन भने यात्रुहरूमा विचलन आउँछ । त्यसैले समयमा नै काम गर्ने बानीमा बाधा ल्याउँदा मनमा विचलन आउँछ । समय तालिका अनुसार नै सबै काम गर्न सक्नुभयो भने तपाईँ अरू विषयमा पनि निपुण हुन सक्नुहुन्छ । जीवनलाई नियमित तुल्याउन सक्नु पनि उत्तम साधना नै हो ।

आम्दानीको स्थायी स्रोत भयो भने स्वधर्म पालना गर्न सजिलो हुन्छ । मानिससँग प्रशस्त धन छ, परिवार सम्पन्न छन् तर वातावरण अनुकूल नभएर झगडा भइरहेको हामी पाउँछौँ । अनुकूल वातावरण बन्नु नै ठूलो सम्पत्ति हो । यस्तो वातावरण गुरु कृपाले मात्र पाइन्छ ।
जब परिस्थिति अनुकूल हुन्छ, तब सानो प्रयासले पनि सफलता मिल्छ र मनुष्यको उद्देश्य पूरा हुन्छ । जब परिस्थिति प्रतिकूल हुन्छ, तब जति प्रयास गरे पनि सफलता मिल्दैन। परमात्मा नै सबै कुराको स्रोत हुन् ।

नैतिक अनुशासन
माथि भनिएअनुसार शरीरबाट गरिने काम कर्तव्य पूरा भएपछि बाँकी समय परमात्माको चिन्तनमा लगाउनका लागि गीताको सोह्रौँ अध्यायको पहिलो तीन श्लोकमा बताइएअनुसार अभय, सत्त्वसंशुद्धि, यज्ञ, दान, तप, अहिंसा, सत्य, अक्रोध, परोपकारजस्ता दैवी गुणहरूको अभ्यासका साथसाथै यस्ता गुणहरू जम्मा पनि गर्दै जान थालेपछि मन नचाहिने कुरामा अलमलिँदैन र चाहिने कुरामा मात्र व्यस्त रहन्छ । साथै अर्काको लहैलहैमा लाग्दैन । जसरी रसायनशास्त्र नपढी डाक्टर बन्न सकिँदैन । गणित नपढी इन्जिनियर बन्न सकिँदैन, त्यसरी नै मनलाई तालिममा राख्ने अभ्यास नगरी ध्यानमा स्थिर हुन सकिँदैन ।

आध्यात्मिक अनुशासन
उपरोक्त दुई कर्तव्य गर्दै परमात्मा चिन्तनमा (धारणा, ध्यान आदिमा) आफूलाई व्यस्त बनाउँदै परमात्मा दर्शनको एक मात्र इच्छा बाँकी राख्नुपर्छ । यसरी तपाईँ व्यस्त भएर अखण्ड समाधिमा पुग्नुभयो भने तपाईँ परमात्माको दर्शन गर्ने स्थितिमा पुग्नुहुन्छ र उहाँ तपाईँको सामुन्ने झुल्कनुहुन्छ । मानिसले परमात्मा पाउँछु भनेर हिँड्दैमा कतै पनि भेट्न सक्तैन तर बालक ध्रुवले जस्तो अठोट गरेर अखण्ड तप गरेमा परमात्मालाई आफ्नै अगाडि ल्याउन भने सक्तछ । यी कुरामा एकै पटक सफलता हासिल गर्न नसकिए पनि बिस्तारै-बिस्तारै अभ्यास गर्दै जाँदा सफल भइन्छ ।

स्वधर्म शिक्षा
स्वधर्मको शिक्षा परमात्माकै शिक्षा हो र सृष्टिदेखि नै यसको उत्पत्ति भएको हो । पालन नगरी यो शिक्षा सार्थक हुँदैन । हामी बिरामी भयौँ भने चिकित्सक कहाँ जँचाउन जान्छौँ र उनको सल्लाहअनुसार औषधी खान थाल्छौँ । औषधी खाएपछि मात्र हाम्रो रोग निको हुँदै जान्छ । औषधी खल्तीमा हालेर बस्यौँ भने हाम्रो रोग निको हुँदैन । त्यस्तै जति सुने पनि, जति पढे पनि, जति ज्ञान भए पनि स्वधर्म पालन नगरी हाम्रो जीवन सार्थक हुँदैन । स्वधर्म पालन गर्नु भनेको गुरुको जीवनीको चर्चा मात्र गर्ने होइन । गुरुले बताए बमोजिम शिक्षा पालन गर्नु पनि हो । मानिसको आध्यात्मिक तथा बौद्धिक नियमहरूले ब्रह्माण्ड चलाएजस्तै स्वधर्म पनि अविरल रूपले चलिआएको छ । पहिलेको कुरा बिर्सिदेऊ, जे भयो भयो अब सपार्दै जाऊ, मनमा शान्ति राख । तिमीले मनमा शान्ति नै राख्न सकेनौ भने बाहिरी वस्तुहरूबाट शान्ति खोज्नु व्यर्थ छ ।

स्वधर्मका आधारभूत कुरा सबैलाई लागू हुन्छन् । तर त्यसलाई कसरी पालन गर्ने भन्ने कुरा देश, काल र परिस्थितिअनुसार व्यक्तिपिच्छे फरक हुन्छ । रोगीहरूको रोगजस्तै मानिसहरूको दोष, रुचि, शक्ति र स्वभाव मानिसपिच्छे फरक हुन्छ । अतः जसले सिद्ध गुरुले बताए अनुसारको शिक्षा पालन गर्दै जान्छ, त्यसको फाइदा त्यो व्यक्ति स्वयंले लिँदै जान्छ ।

विष्णुप्रसाद तिमिल्सीनाद्वारा सङ्कलित स्वधर्म पुस्तकको चौथो संस्करण उपलब्ध छ।



नयाँ