बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भए शालिकराम जमकट्टेल
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष २४ आइतबार
1.2k
Shares
हेटौडा। बागमती प्रदेशको चौथो मुख्यमन्त्री माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जमकट्टेल बन्ने भएका छन् ।
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बागमतीमा पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको हो । प्रदेशमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएको हो ।
उनी प्रदेशको कामचलाउ आर्थिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् । प्रदेशसभाको पहिलो कार्यकालमै तत्कालीन नेकपा सरकारमा जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
बागमती प्रदेश्सभाको सभामुख राप्रपाले पाउने भएको छ । एमालेले उपसभामुख लिने सहमति भएको बताइएको छ ।
प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सिट सङ्ख्या रहेकोमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा बागमतीमा सहजै सरकार बन्नेछ ।
प्रदेशमा काँग्रेसको ३७ जना संसद् रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन् । बागमतीले दोस्रो कार्यकालका लागि सोमबार मुख्यमन्त्री पाउनेछ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले २५ पुस (सोमबार) अपराह्न ४ बजेसम्ममा दाबी पेस गर्ने समय दिएका छन् ।