arrow

इन्भेष्टमेन्ट र मेगा बैङ्कबीच एकीकृत कारोबार सुरु, यस्तो छ सञ्चालक समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
NIMB-NIBL-Mega-bank.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन्।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे ।

दुई बैङ्क गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैङ्कले जनाएको छ । मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैङ्कले जनाएको छ । 

सञ्चालक समिति

दुई बैङ्कबीच शेयर स्वाप अनुपात १००-९० रहने गरी  मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैङ्कका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैङ्कका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । 

त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैङ्कमा स्वतन्त्र सञ्चालकका रूपमा रहनुभएको मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रूपमा रहनेछिन् । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैङ्कका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैङ्कको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताए ।

त्यसैगरी मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैङ्कका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गीकार गर्नुका साथै शेयरधनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उनको भनाइ छ ।

नियामक निकाय नेपाल राष्ट्र बैङ्कले लिएको नीतिअनुसार पछिल्लो समय बैङ्क तथा वित्तीय एकापसमा गाभ्ने-गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ वाणिज्य बैङ्क एकापसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चार कायम भएका छन्  ।

 यसअघि प्रभु बैङ्क लिमिटेडले सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी मङ्गलबारदेखि प्रभु बैङ्क लिमिटेडका नामबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार थालेका थिए । त्यस्तै कुमारी बैङ्क र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्क एकापसमा गाभिएर ‘कुमारी बैङ्क लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।

हिमालयन बैङ्कले सिभिल बैङ्क लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने शुरु भइसकेको छैन । दुवै बैङ्कले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएका छन् । आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैङ्कको तयारी छ । त्यस्तै लक्ष्मी बैङ्क र सनराइज बैङ्कले पनि एकापसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ