arrow

बैंकका बेइमानी

इन्भेष्टमेन्ट बैंकले खराब कर्जालाई असल देखाएको पुष्टि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
investment-bank-mega-bang-merger.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जालाई असल कर्जामा देखाउने कार्यमा संलग्न रहेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणका क्रममा यस्तो देखिएको हो । यो घटनामा राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई नियामकीय कारबाही गरेको छ । 

उक्ट बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी हितग्राहीबाट बैंकले कुल ४१.३६ करोड बराबरको बिल्स खरिद गरी कर्जा सापटमा देखाएको थियो । 

सो प्रतितपत्रको परिपक्व हुने समय बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रिन गरी असल कर्जाकै रुपमा देखाइएको राष्ट्र बैंकले जनाएको छ । यसबाट राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत कार्य भएको बैंकको भनाइ छ।

आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व वापतको खर्चलाईसमेत समावेश गरी आधार दर गणना गरेको तथा पूँजीकोष गणना गर्दा केही कर्जाहरुको जोखिम सम्पत्तिलाई कम देखाएको पाइएको हो । यो बापत बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले थप तीन बैंक र दुई विकास बैंकलाई समेत विभिन्न नियामकीय व्यवस्था उल्लंघनका घटनामा कारबाही गरेको छ । त्यसरी कारबाहीमा पर्नेमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्शियल बैंक छन् । विकास बैंकतर्फ लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरिएको जनाइएको छ ।

प्राइम कमर्शियल बैंकलाई पनि क्यापिटल एडुकेसी फ्रेमवर्कको व्यवस्थालाई उल्लंघन गर्दै भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको भन्दै कारबाही गरिएको हो । 

कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृतलाई काम नै नगरेको  १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकोले राष्ट्र बैंकले कुमारी बैंक सञ्चालक समितिलाई सचेत गराउँदै सो अवधिको  रकम ३५ दिनभित्र असुल उपर गर्न सञ्चालक समितिलाई निर्देशन दिइएको थियो । अहिले उक्त रकम असुल भइसकेको छ । 

लुम्बिनी विकास बैंकले वित्तीय संस्थाको केवाईसी पर्याप्त नभएको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको पाइएकोले बैंकलाई सचेत गराइएको छ। 

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन पूर्ण पालना नगरेकोले बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ