arrow

भागबण्डामा मुख्यमन्त्री, कसको भागमा को अघि को पछि ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
federal--provinces-nepal-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सातै वटा प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । निर्वाचनको जनादेश भन्दा पनि दलहरुबीचको नयाँ सहमतिअनुसार एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो ।

गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । बागमती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको छ । त्यस्तै मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन सत्ताधारी दलको गठबन्धन बनेको भए पनि निर्वाचनको परिणामपछि एकाएक माओवादी छुट्टिएर एमालेसँग सहकार्य गर्न पुगेपछि नयाँ समीकरण बनेको हो । कांग्रेसले केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षको बेन्चमा बस्ने घोषणा गरेको छ । 

प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दिने नदिने टुंगो गरेको छैन । 

दलीय सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । त्यहाँ माओवादीसँग आलोपालो हो कि पाँच वर्ष एकल सरकार एमालेको नेतृत्वमा हुने हो भन्ने सार्वजनिक भएको छैन । 

प्रदेश २ मा जसपाका सरोज यादवले मुख्यमन्त्रीको नियुक्ति पाएका छन् । त्यहाँ आधा कार्यकाल सीके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री बनाइनेछ । 

बागमती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जम्कट्टेलले पाएका छन् । त्यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति भएको छ ।

 गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारी भइसकेका छन् । यहाँ एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने भनिएको छ । 

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भइसकेका छन् । 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त भएका छन् । त्यहाँ माओवादीले पाँच वर्ष एकल नेतृत्व गर्ने केन्द्रको निर्णय थियो तर त्यसलाई उल्ट्याउँदै एमालेबाट साढे दुई वर्षपछि मुख्यमन्त्री हुने प्रदेशस्तरीय सहमति भएको छ । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । त्यहाँ पनि आधा कार्यकाल माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ