arrow

पाँच शनिबार र आइतबार परेको माघमा राष्ट्रिय राजनीति अनुकूल नहुने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
monthly-horoscope.jpg

मासिक फल : माघ महिनामा ५ आइतबार तथा शनिबार परेको छ । माघकृष्ण–फाल्गुनकृष्णपक्ष माघ महिनामा पर्दछ । ५ आइतबारले रोगव्याधको प्रकोप बढ्ने, पशु–पक्षीपालनबाट खासै उपलब्धि नहोला ।

पाँच वटा शनिबारले नेताहरूको आपसी मनमुटावले गर्दा राष्ट्रिय राजनीति अनुकूल बन्न नसक्ला । प्रशासनिक अध्ययनकर्ताबीच समन्वय हुन नसक्दा शैक्षिक क्षेत्र उपलपब्धमूलक होला जस्तो लाग्दैन । अनावश्यक खर्च नियन्त्रणमा आउन नसक्दा आर्थिक स्थिति धेरै बलियो नबन्ला । रोगब्याध प्रकोप अनियन्त्रित हुनाले स्वास्थ्य विज्ञानको प्रगतिमा समेत चुनौती थपएिला ।

वैदेशिक रोजगारी सोचे अनुरुप नचल्ला । पापीय भावनाले विश्राम लिँदै जानाले धार्मिक गतिविधिबाट समाज सुसंस्कृत बनाउला । सामाजिक कुरीति हट्दै जाला । दैवीलगायत सवारी दुर्घटनाका विपत्ति घट्दै जाला ।

कृषिजन्यकार्य, जग्गा–जमीन लगायत व्यापार–व्यवसायले असोचनीय सफलता दिलाउला । आवश्यकीय खाद्यान्नहरू, बहुमूल्य धातु तथा औषधिजन्य पदार्थ लगायतमा महंगी बढ्ला ।

महिनाको अन्त्यतिर सामान्य झरीको सम्भाब्यता रहे पनि अन्य बेला भने घमाइलो वातावरण देखिएला । अन्यत्र भन्दा दक्षिण भेगतिर अलि सुखद् परिस्थितिले शुभ गराउला । सामान्य हिउँदे झरीको प्रवलतासँगै ठण्डी बढ्दा मौसमले आक्रान्त पार्ने देखिन्छ ।

मासिक राशिफल :

मेष : माघ महिनामा यदि तपाईंको सम्बन्ध मेष राशिसँग रहेको छ भने यस पटक सूर्यले राशि परिवर्तन गर्दा तपाईंको दशम भाव अर्थात् कर्मक्षेत्रमा प्रवेश गर्नेछन् । परिणामतः तपाईंको कार्यक्षेत्र र पद प्रतिष्ठामा वृद्धि हुनेछ । तर यस अवधिमा तपाईंले पारिवारिक जीवनमा तनाव र झन्झट ब्यहोर्ने परिस्थिति पनि बन्नेछ । ग्रहाधिपति सूर्य तपाईंको राशिबाट पाँचौं भावको मालिक हो । दशम भाव अर्थात् कर्मक्षेत्रमा पञ्चमेश सूर्यको गोचर हुनाले बौद्धिक र शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरू र विद्यार्थीहरूका लागि यो समय उत्तम रहने संकेत हो । यस अवधिमा हरेक व्यक्तिले आफूले ताकेका र चिताएका काममा सफलता पाउनेछन् । नोकरी गर्नुहुन्छ भने बढुवा, प्रशंसा वा पुरस्कार पाउनु हुनेछ अथवा चाहेको कार्यालय वा फाँटमा सरुवा हुने वा जिम्मेवारी पाउने समय आएको छ । सरकारी क्षेत्रको ठेक्कापट्टा वा कुनै काम गर्नुहुन्छ भने तपाईंले मनग्ये धन लाभ प्राप्त गर्न सक्नुहुन्छ, आर्थिक पाटोका काम सुचारु रहने छन् । यस अवधिमा स्वास्थ्यस्थिति बलियो हुनेछ । मित्र, परिवारजन र समाजका सम्मानित व्यक्तिहरूसँग उठबस गर्ने मौका मिल्नेछ अथवा यिनीहरूलाई माध्यम बनाएर कुनै महत्वपूर्ण काममा सफलता पाउनु हुनेछ । यो त्यस्तो समय हो, जसमा तपाईंले हातमा लिएको कामले निर्विघ्नताका साथमा पूर्णता पाउने छ । त्यस्तै तपाईंमा भएको शीप वा ज्ञानको प्रयोग गरी गरेको कामबाट नपत्याउँदो सफलता आर्जन हुने समय हो । यस अवधिमा तपाईंका सन्तति वा भाइबहिनीले पनि आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सक्नेछन् अथवा तपाईंको काममा तिनीहरूको सहयोग मिल्नेछ । मानसम्मानमा बृद्धि हुनेछ । हाकिम दाहिने भएको राम्रो समय छ, ठूलाबडा र सिनियर कर्मचारीको छत्रछाया मिल्ने र सहानुभूति बटुल्ने समय हो । वैदेशिक रोजगारीमा रहनेहरूले कार्यक्षेत्र बदल्ने विचार गर्नुभएको छ भने यस अवधिमा प्रयास गर्नुहोला सफल बन्नुहुनेछ । यसैगरी मेष राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पति राज्य भावमा, शुक्र १३ गतेसम्म भाग्य भावमा र १४ गतेबाट राज्य भावमा । मंगल आफ्नै राशिमा । राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहेका छन् । महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेको छ । नीति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेको छ । पतिपत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ । कला साहित्य तथा गीत संगीतमा विशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माता पिता तथा अग्रजबाट आशिर्वाद तथा सहयोग पाईनेछ । विशेष गरि खनिज पदार्थसँग सम्बन्धित कामहरु र जग्गा जमिनको कारोबार गर्नेहरुका लागि समय उत्तम रहनेछ । सामान्यतया यस महिनाको ५, ६, ७, १५, १६, २३, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने देखिन्छ । यो महिना अझ बढी शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले प्रतिदिन आदित्य हृदय स्तोत्रको पाठ गर्ने वा सूर्य नमस्कार गरेमा अझ धेरै शुभ परिणाम पाउनु हुनेछ ।

वृष : तपाईंको राशिबाट भाग्यस्थान अर्थात् नवौं भावमा सूर्यको प्रवेश भएको छ । यस भावमा बसेको सूर्यले तपाईंको मातृसुख, पत्नीसुख र गृहसुखमा शुभ परिणाम प्रदान गर्नेछ । त्यस्तै भौतिक सम्पत्ति, घरघडेरी र स्थिर पूँजीमा बृद्धि गर्ने महिनाका रूपमा यस महिनाको आगमन भएको छ । यस समयावधिमा समृद्धि र सम्पन्नतामा बृद्धि हुनेछ, अधिकतम समय खुशी, आनन्द र सन्तुष्टिका साथमा व्यतीत हुनेछ । नयाँ वाहन खरिद गर्ने वा पुरानो वाहन साटफेर गर्ने मनसाय छ भने तुरुन्त गर्नुहोस्, राम्रो हुनेछ । तर यस अवधिमा छलछाम र ठगी गर्ने कामबाट वा त्यस्तो काम गर्ने व्यक्तिबाट टाढा बसेको जाति हुन्छ, नत्र सुख, सन्तुष्टि र खुशी पाउनुको सट्टा दुःख, बन्धन र तनावको परिस्थिति पनि बन्न सक्छ । सूर्य तपाईंको चतुर्थ भावको मालिक हो । नवम भावमा सूर्यको प्रवेश हुनु भनेको घरमा पिता जी वा बृद्ध सदस्यको स्वास्थ्यमा उतारचढाव आउने संकेत हो । त्यसैले यस अवधिमा तपाईंले वहाँहरूको इच्छानुकूल बन्नुपर्छ र सेवाचाकरीमा पनि समय बिताउनु पर्ने हुन्छ । यसै अवधिमा कुनै देवालय वा तीर्थको भ्रमण हुने सम्भावना पनि हुन्छ । यदाकदा बुढाबुढीको मनसाय र आचरण आफू अनुकूल नबनिदिंदा दिक्क मान्ने समय पनि हो । आयको मार्ग सुचारु नै रहे पनि यो समय घरायसी कारणले बढी खर्च गर्नुपर्ने समय हो, त्यसैले आर्थिक संकट झेल्नुपर्ने परिस्थिति छ । यो असाध्यै दौडधूप र व्यस्त रहने समय भएकाले मानसिक रूपले अशान्तसमेत बन्न सक्नुहुन्छ । विदेशमा बस्ने वा वैदेशिक प्रयोजनको काम गर्नेहरूका लागि यो राम्रो समय छ । विदेशयात्राको योजना बनाउनेहरूले यस अवधिमा सफलता पाउन सक्नुहुन्छ । व्यापार र व्यवसायमा समय दिन नसक्नाले केही कसर देखा पर्न सक्छ । छोराछोरी वा भाइबहिनीमा खराब संगत र आचरणको नकारात्मक असर पर्नसक्छ । जागिरेले नचाहेको फाँट वा जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ, तर नयाँ नोकरीमा प्रवेश गर्न वा प्रतियोगिता र परीक्षा आदिमा सफलता मिल्ने समय हो । यसैगरी सूर्य, बुध, शनि र बृहस्पति भाग्य भावमा,शुक्र १३ गतेसम्म कष्ट भावमा र १४ गतेबाट भाग्य भावमा । मंगल खर्च भावमा । राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहेका छन् । भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दी आउनेछ । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेकोछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरुले विषेश ख्याल गर्नुहोला । तरपनि संघर्षका बावजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तिको योग रहेकोछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठूलाबडा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । बृहस्पति तथा शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले गीतकार, संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाइको सहयोग रहनेछ भने छोटो दूरीको रमाईलो यात्राको तय हुनेछ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन लाभ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । कमर्स, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रबाट विशेष फाईदा हुनेछ । फिलिम, मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यतित हुनेछ । यो महिना अशुभ फलको निवारण होस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले हरेक दिन बिहान छिट्टै उठेर उदाउँदो रातो सूर्यबिम्बलाई नांगा आँखाले दर्शन गर्ने बानी बसाल्नुपर्दछ । यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गतेका दिन चन्द्रमाले तपाईंको अशुभ गृहको यात्रा गर्ने दिन हो ।

मिथुन : यो महिना आठौं भाव अर्थात् संकट क्षेत्रमा सूर्यको भ्रमण हुने परिस्थिति छ । त्यसैले यसले तपाईंको व्यक्तिगत जीवन, सामाजिक हैसियत र मानसम्मानमा नकारात्मक असर पर्नसक्छ । दाजुभाइ वा कार्यक्षेत्रमा सहकर्मीहरूसँगको सम्बन्धमा धूमिलता आउने छ । दाम्पत्य सम्बन्ध र प्रेम जीवनमा भ्रम, शंका र तितोपन देखापर्न सक्छ । त्यसैले माघ महिनाभरि तपाईंले असाध्यै धैर्य र संयम भएर समययापन गर्नुपर्ने हुन्छ । तपाईंका निमित्त सूर्य तृतीय भाव अर्थात् पराक्रम स्थानको मालिक हो र यो महिना सूर्यले अष्टम भावको यात्रा गर्दैछ । त्यसैले यो महिना कुनै पुराना झैझगडा, विवाद वा गोप्य ढंगले गरिएका कामहरू बल्झिने र संकटमा पर्नसक्ने समय हो । यसअघि नियम मिच्ने वा अन्यायपूर्वक धनार्जन गर्नु भएको छ भने यो समय सरकार लाग्ने वा मुद्दामामिलामा परिने भय छ । शत्रु प्रबल हुने समय हो, त्यस्तै रुघामर्की र खोकीको समस्याले शरीर पनि शिथिल बन्नसक्छ । प्रेम जीवन र दाम्पत्यसम्बन्धमा पनि तनाव र उतारचढावको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुने समय छ । यी र यस्ता नकारात्मक फलको आधिक्य भए पनि जो व्यक्तिहरू विदेशमा हुनुहुन्छ वा वैदेशिक प्रयोजनका काम वा व्यवसाय गर्नुहुन्छ, वहाँहरूका लागि यो उत्तम समय छ । त्यस्तै ज्ञानप्राप्तिको मार्गमा रहेका खासगरी उच्चशिक्षाका विद्यार्थीहरूका लागि र अनुसन्धाताका लागि यो महिना उत्तम रहने छ । त्यस्तै तन्त्र, मन्त्र, ज्योतिष, कर्मकाण्ड, गूढविद्या, खानी र खनिज पदार्थसँग जोडिएका व्यक्तिले पनि यो समय राम्रो फल प्राप्त गर्नुहुनेछ । जागिरेहरूले कार्यक्षेत्रमा असाध्यै कडा मिहिनेत गर्नुपर्ने समय छ, यस बीच सहकर्मी साथी र प्रतिस्पर्द्धीले तपाईंलाई होच्याउने, तल पार्ने प्रयास गर्नेछन् वा षड्यन्त्रको तानाबुना रच्न सक्छन्, होस राख्नुपर्छ । हाकिम वा सिनियर कर्मचारीको खप्की खानुपर्ने समय हो । आर्थिक मामिलामा यो कमजोर समय छ, अचानक सिर्जना भएको बाध्यताकारी खर्चले बजेट असन्तुलित बन्नसक्छ । यसैगरी मिथुन राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पति कष्ट भावमा, शुक्र १३ गतेसम्म व्यापार भावमा र १४ गतेबाट कष्ट भावमा । मंगल लाभ भावमा । राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिहेका छन् । महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदिबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । घर परिवारका आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास, आँखा, टाउकोसम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले विषेश ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा तपाईंको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला किनकि चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई वेवास्ता गर्दा दुःख पाईनेछ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । शनिको अढैया प्रभावले दीर्घरोग जस्तै प्रेसर, सुगर, नशासम्बन्धी समस्या भएकाहरु र प्यारालाईसिस सम्बन्धी समस्या भएकाहरुले विशेष ध्यान दिनुहोला । सवारी साधनको तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घट्ना नहोला भन्न सकिन्छ । सञ्चार जगतमा, ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाईनिङ, स्टक एक्चञ्ज, चार्टर एकाउन्टेण्ट, व्यापार, हास्य व्याङग्य, कलाकार, लेखक, साहित्यकार, राजदूत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो महिना उत्तम रहेको छ । अशुभ फलमा कमी होस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले यो महिना हरेक दिन पिता वा पितातुल्य व्यक्तिको सम्मान र ढोगभेट गरी आशिर्वाद ग्रहण गर्नुपर्दछ, साथै दैनिक विष्णुसहस्रनाम स्तोत्र वा दुर्गा कवचको पाठ गर्नुपर्दछ । यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २७, २८ र २९ गते जुनसुकै व्यवहार गर्दा सावधान हुने दिन हो ।

कर्कट : माघ महिनामा सातौं भावमा सूर्यको गोचर हुने भएकाले खासगरी दाम्पत्य जीवन, पारिवारिक जीवन र प्रेमसम्बन्धमा यसको नकारात्मक असर पर्नसक्ने समय देखिन्छ । त्यस्तै व्यवसायीहरूले साझेदारीको काममा समस्या उत्पन्न भएको अनुभूति गर्नुहुनेछ । कार्यक्षेत्रमा पनि सूर्यको गोचर सामान्य प्रभाव पार्नसक्छ, त्यस्तै हरेक काम दोहोर्याउनु पर्ने र बन्नलागेको काम अन्तिम घडीमा असफल बन्नाले तपाईंको मन उदास रहने र चिन्ता बढ्ने सम्भावना देखिन्छ । जीवनसाथीको स्वास्थ्य वा पदप्रतिष्ठामा पनि केही समस्या उत्पन्न हुनसक्छ । वास्तवमा कर्कट राशि हुनेहरूको धनभाव अर्थात् दोस्रो भावको मालिक हो, सूर्य र माघ महिनाभरि यसले सप्तम भावको भ्रमण गर्नेछ । त्यसैले सूर्यको यस भावको गोचरले आपसी सम्बन्ध र पारिवारिक जीवनमा केही समस्या उत्पन्न गरे पनि धनागम र आयको मार्गमा उत्तम फल प्रदान गर्नेछन् । जीवनसाथीको कार्यक्षेत्रमा प्रगति हुने र उनका माध्यमबाट प्रशस्त धनागम हुने संकेत छ । स्त्रीहरूले माइतीपक्षबाट र पुरुषहरूले ससुराली पक्षबाट आर्थिक लेनदेन गर्नुपर्ने हुन्छ । वैदेशिक प्रयोजनको काम र विदेशमा बस्नेहरूका लागि समय सामान्य रहने छ तर यो महिना काममा भन्दा पनि भ्रमण, पर्यटन र घुमघाममा रूचि बढ्ने समय हो । स्वास्थ्यका दृष्टिकोणले प्रजनन स्वास्थ्य, मूत्र प्रणाली र पेटको रोगले सताउन सक्छ । तपाईंले अहिले पति वा पत्नीको अनुकूल व्यवहार गर्ने प्रयास गर्दा बढी फलदायी र सकारात्मक हुनेछ । नोकरीमा संलग्न व्यक्तिले सहकर्मीका कुरा सुनेको राम्रो हुन्छ, त्यस्तै व्यापारीहरूले साझेदार पार्टी वा व्यक्तिको भावना र संवेदनालाई विचार पुर्याउनु ठीक हुन्छ । समग्रतामा संयमताका साथमा समय यापन गर्न जानिएन भने यो महिना तनाव र बोझ बृद्धि गर्ने समय साबित हुन सक्छ होस राख्नुपर्छ । यस्तै, कर्कट राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पति व्यापार भावमा, शुक्र १३ गतेसम्म प्रतिस्पर्धा भावमा र १४ गतेबाट व्यापार भावमा । मंगल राज्य भावमा । राहु लाभ भावमा र केतु विद्या भावमा गोचर गरिहेका छन् । महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । छोटो वा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथीहरुसँग सहभागी भई मीठा परिकार खाँदै रमाईलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशिर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाई लेखाई सुधार भएर जानेछ भने कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशिर्वाद प्राप्त हुनेछ । राज्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रभावले राज्यको सुरक्षा संगठनमा काम गर्ने वा काम गर्न चाहनेहरुका लागि समय उत्तम रहको छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । पानीसंग सम्बन्धित काम जस्तै जलसेना, हाइड्रो ईन्जिनियर, पौडीबाज, तेल प्रशोधन, खेतीपाती, पशुपालन, कृषि, डेरी उत्पादन तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । यो महिना प्राप्त हुने शुभफलमा अझ वृद्धि होस् भन्ने उद्देश्यले तपाईंले तामाको पात्रमा मह वा चिनी, रातो फूल र गंगाजल मिसाएर दिनहुँ उदाउँदो सूर्यलाई अर्घ््य प्रदान गर्नु राम्रो हुन्छ । यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३० गते तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने हुँदा सचेतता अपनाउनु उचित हुनेछ ।

सिंह : सूर्य तपाईंको राशिस्वामी हो । यस महिनामा सूर्यले छैटौं भावको भ्रमण गर्दैछ । यसलाई केही पक्षमा शुभ र केही पक्षमा अशुभ फल भएको समय मान्नसकिन्छ । खासगरी यस अवधिमा तपाईंको जन्मकुण्डलीमा शनि, राहु वा कुनै अशुभ ग्रह वा योगिनीको समय चलिरहेको छ भने व्यक्तिगत स्वास्थ्यप्रति चनाखो हुनुपर्छ । त्यस्तै झैझगडा, मुद्दामामिला र विवाद जस्ता विषयले पनि तपाईंलाई चिन्ताग्रस्त तुल्याउने छ । त्यस्तै सन्तानको उन्नति र प्रगति वा स्वास्थ्यस्थिति समेत चिन्ताको विषय बन्नेछ । छोराछोरीको संसर्गमा रहने वा घरपरिवारमा नै बसेर अधिकतम समय बिताउने वा ध्यान दिनुपर्ने वेला हो । तर गोचरफल प्रकरणमा छैटौं भावमा बसेको नराम्रा ग्रहको असाध्यै शुभ र सकारात्मक फल बताउने गरिन्छ । जस्तै कुनै पनि परीक्षा वा प्रतिस्पर्धााको तैयारी गरिरहेका व्यक्तिहरूका लागि यो समय उत्तम समय हो । सरकारी नोकरीको प्रयासमा रहेका वा बढुवा वा पुरस्कारको आशामा रहेका व्यक्तिहरूका लागि पनि शुभ परिणाम मिल्नेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । मुद्दामामिला र अदालती काममा सफलता पाइने छ । यस भावमा बसेको सूर्यको बाह्रौं भावमा समेत पूर्ण दृष्टि हुनेहुँदा विदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेहरूले आफ्नो कमाइको केही अंश दानधर्म र परोपकारी काममा लगानी गर्नेछन् । तर बाध्यताकारी र पारिवारिक खर्चको मात्रामा पनि बृद्धि हुनेछ । त्यस्तै, यो कार्यक्षेत्रमा असाध्यै कडा मिहिनेत गर्नुपर्ने र दौडधूप गर्ने समय हो । सुरुमा सानातिना रोगव्याधि र चोटपटकलाई वास्ता नगर्नाले पछि स्वास्थ्यजन्य ठूलै कष्ट बेहोर्नुपर्ने परिस्थिति बन्न सक्छ, होस राख्नुहोला । राजनैतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूले इच्छाएको परिणाम पाउने छन् । मावल जाने वा मावलीको निम्तोमा कुनै पारम्परिक वा धार्मिक कृत्यमा सहभागी हुने अथवा खट्ने परिस्थिति बन्नेछ । कुनै अन्यायको विरोध गर्न, हक र अधिकारको लडाइँमा संलग्न हुन र मुद्दामामिला गर्न अनुकूल समय छ । यसैगरी सिंह राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पति प्रतिस्पर्धा भावमा, शुक्र १३ गतेसम्म विद्या भावमा र १४ गतेबाट प्रतिष्पर्धा भावमा । मंगल भाग्य भावमा । राहु राज्य भावमा र केतु शुख भावमा गोचर गरिहेका छन् । छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । माता पिता तथा मावली पक्षबाट आशिर्वाद पाईनेछ । बाधा बिरोध गर्नेहरु आफैँ किनारा लाग्नेछन् । थाँती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । खनिज पदार्थ, खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ । बैंक तथा वित्तीय क्षेत्रमा र शिक्षा क्षेत्रमा लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा सँगठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिसर्च, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगति हुनेछ । महिनाभरि ग्रहहरूको अनिष्टता नहोस् भन्ने उद्देश्यले तपाईंको राशिस्वामी सूर्यको रत्न माणिक्य आइतवारको दिन पारेर धारण गरेको जाति हुन्छ । यस महिनाको ५, ६, ७, १५, १६, २३, २४ र २५ गते तपाईंले सावधान र सतर्क रहनु पर्ने दिन हो ।

कन्या : बाह्रौं भाव अर्थात् व्यय क्षेत्रको मालिक सूर्यले यस महिनामा विद्या, बुद्धि, छोराछोरी र प्रेम भाव जनाउने पाँचौं भावमा भ्रमण गर्नेछ । त्यसैले तपाईंका लागि यो महिना उत्सुकता र व्याकुलता बढ्ने समय हो । सँगीसाथी र सहकर्मीले बाचा पूरा गर्न सक्दैनन् । सन्तान र भाइबहिनीको स्वास्थ्य वा उन्नति प्रगतिमा अवरोध हुनेछ । वैदेशिक रोजगारमा रहेका वा देशमै बसेर वैदेशिक प्रयोजनको काम गर्ने व्यक्तिहरूले भने यो महिना अकुत सम्पत्ति कमाउने योग छ । प्रोजेक्ट वा मल्टीनेशनल कम्पनीमा काम गर्ने व्यक्तिको बढुवा हुने वा पुरस्कार लाभ गर्ने समय हो । तर नियम र कानून मिच्नाले वा कुनै सरकार विरोधी क्रियाकलापमा संलग्न हुनाले बन्धनमा वा मुद्दामामिलामा पर्न सकिने कमजोर समय पनि हो, त्यसैले यसप्रति चनाखो र सतर्क हुने परिस्थिति रहेको देखिन्छ । गैरकानूनी क्रियाकलाप र व्यवहारमा सावधानी अपनाउनु पर्नेछ । कुनै पनि झैझगडा, विवाद वा झमेलाबाट जोगिनुपर्ने समय हो । शिक्षादीक्षालाई आधार बनाएर विदेश जाने वा विदेशको विश्वविद्यालयमा प्रवेश पाउने लक्ष्य कार्यान्वयन हुनेछ । यस अवधिमा प्रेमीको भावना र संवेदनाप्रति सचेतता अपनाउनु पर्छ, नत्र प्रेम र दाम्पत्य जीवनमा उतारचढाव आइरहने छ । प्रेमीप्रेमिका वा पतिपत्नीका बीचमा ठास्सठुस्स र घुर्क्याइ बढ्ने समय भएकाले एकआपसको दूरीलाई नजिक्याउन कोसिस गर्नु ठीक हुन्छ । विद्यार्थीहरूको मनोवृत्ति मनोरञ्जन र खेलक्रदमा केन्द्रित हुनाले पढाइ बिथोलिने समय हो । यसैगरी कन्या राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पति विद्या भावमा, शुक्र १३ गतेसम्म सुख भावमा र १४ गतेबाट विद्या भावमा । मंगल कष्ट भावमा । राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिहेका छन् । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसंग मनमुटाव बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानी खस्केर जानेछ । पेट, आँखा तथा टाउकोमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दीर्घरोगी जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागि महिना मध्यम रहेको छ । तरपनि महिनाभर नै बुध, शुक्र, मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थानमा र प्राईभेट कम्पनीहरुका काम गर्नेहरुका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेको छ । अध्ययन तथा कामको शिलशिलामा लामो दूरीको यात्राको तय हुनेछ । व्यापार व्यवसाय, वाणिज्य, लेखन, कला साहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या राशि भएका व्यक्तिहरुले आफूलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन, अफिसर, वकिल, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ । यो महिना कुनै पनि अशुभ फल प्राप्त नहोस् भन्ने मनसायले तपाईंले यस महिनाको कुनै आइतबारका दिन भगवान् सूर्यको वा भगवान् नारायणको मन्दिरमा गई रातो कपडा दान गर्नु राम्रो हुन्छ । यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गतेका दिन नकारात्मक फल प्राप्त हुने दिन हो ।

तुला : माघ महिनामा चौथो भावमा सूर्यको भ्रमण हुने गर्दछ, जुन तपाईंका लागि मिश्रित प्रभावको भाव हो । यस अवधिमा घरका महिलाको स्वास्थ्यस्थितिमा उतारचढाव आउन सक्छ । त्यस्तै यो बढी दौडधूप गर्नुपर्ने र पारिवारिक सुखको अभाव हुने समय पनि हो । अझ यस अवधिमा कृषक वा कृषिक्षेत्रको कारोबार गर्नेहरूले बढी सावधान हुनुपर्छ । तपाईंका निमित्त सूर्य एघारौं भाव अर्थात् लाभ भावको मालिक हो । परिस्थिति विपरीत भए पनि घरायसी सम्पत्तिको व्यवस्थापन गर्ने क्रममा केही न केही लाभ हुनेछ । जग्गाजमिन खरिदबिक्री गर्दा फाइदा लिन सक्नुहुन्छ । यस्तै, लिजमा गरिने काम, माटो, सिमेन्ट, गिट्टी, ढुंगा आदिका व्यवसायीले पनि लाभ पाउने छन् । घरबाहिर बस्नेले घर वा वाहन खरिद गर्ने समय हो । कर्मचारीहरूले सँगीसाथीको मद्दत लिएर वा जागिरको सहयोग वा ऋण सापटीबाट स्थिर सम्पत्ति जोड्ने मौका पाउनेछन् । यस अवधिमा व्यक्तिगत स्वास्थ्यप्रति खेलाँची गर्नु हुँदैन, किनभने पुराना रोगव्याधि वा लामो समयदेखि चलिआएको बिमारीले सताउने सम्भावना देखिन्छ । घरभित्रका काममा वा स्याहारसम्भार गर्ने क्रममा धनखर्च हुनसक्छ । समय पेचिलो भए पनि यो महिना भगवान् सूर्यनारायणको कृपा प्राप्त भइरहनाले कुनै पनि काममा बाधा वा अवरोध हुनेछैन । यसैगरी तुला राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पति सुख भावमा, शुक्र १३ गतेसम्म पराक्रम भावमा र १४ गतेबाट शुख भावमा । मंगल व्यापार भावमा । राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मिहेनत गर्नुपर्ने भएकोले राजनीतिकर्मी, समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरुका लागि समय मध्ययम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । महिनाभर नै शनिको अढैयाको प्रभाव रहने हुनाले सवारी साधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला । रुपैया पैसा डुब्ने र सवारि साधनको प्रयोग गर्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तर पनि महिनाभर नै बुध, शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । यस्तै, भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेहरुका लागि मनग्गे धन सम्पत्ति जोड्न सकिने समय रहेकोछ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ । सुख भावमा गोचर बृहस्पति र अन्य ग्रहको शुभ प्रभाव रहने हुनाले औषधिजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । बैंक तथा वित्तीय क्षेत्र र शिक्षा क्षेत्रबाट लाभ लिन सकिनेछ । कूटननीति, परराष्ट्र, राजनीति,राजदुत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोल बिज्ञान, जिनेटिक ईन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेको छ । दाजुदिदीसँग बिग्रिएको सम्बन्धमा सुधार आउनुका साथै परिआएको काममा सरसहयोग प्राप्त हुनेछ । पारिवारिक जमघट हुने कुनै उत्सव वा कार्यक्रमको आयोजना हुनेछ । सामान्यतया शुभ समय नै छ, यद्यपि अझ धेरै शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले हरेक आइतवारका दिन रातो साँढेलाई गुड (सक्खर) र चामल मिसाएर खुवाउँदा राम्रो हुनेछ । सामान्यतया यस महिनाको १, २, १०, ११, १२, १९, २०, २१, २७, २८ र २९ गते अनिष्ट फल प्राप्त हुने सम्भावना छ ।

वृश्चिक : यो महिना तृतीय भाव अर्थात् पराक्रम स्थानमा सूर्यको गोचर हुने समय हो । त्यसैले हाँकेताकेका र चिताएका हरेक काममा शुभफल प्राप्त हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगति र मानसम्मान मिल्ने समय छ । पुराना समस्या वा रोगबाट निदान पाउने समय हो । तर याद गर्नुहोला, यस अवधिमा कुनै पनि काम अर्काको जिम्मामा छाड्नु उचित हुँदैन, आफू सक्रिय भएर वा सामुमा बसेर काम गर्ने बानी बसाल्नुपर्छ, नत्र बन्न लागेको काम पनि बिग्रनसक्छ । सूर्य तपाईंको दशौं भाव अर्थात् कर्म क्षेत्रको मालिक हो । त्यसैले यस समयावधिमा व्यक्तित्वको विकास हुनेछ । जागिरेले बढुवा र प्रशंसा पाउने छन् । कारोबारी र व्यापारीहरूले कार्यक्षेत्रको विस्तार गर्नुका साथै मनग्ये लाभ प्राप्त गर्नेछन् । छात्रछात्राले पठनपाठन र अतिरिक्त क्रियाकलापमा राम्रो गर्नेछन् । त्यसैले हरेक व्यक्तिका लागि यो महिना गरेका प्रयासको समुचित परिणाम प्राप्त गर्ने समय हो । स्वास्थ्य लाभ हुनेछ, शरीरमा उत्साह र उमंगको बृद्धि हुनेछ । सँगीसाथी र मित्रमण्डलीमा आफ्नो साख र वर्चस्व कायम हुनेछ । सन्ततिले पनि सुख र सन्तुष्टि प्रदान गर्नेछन् । यी शुभफल भए पनि यस अवधिमा भाइ वा बहिनीको व्यक्तित्व वा आचरणमा कुनै समस्या देखिन सक्छ । यसैगरी सूर्य, बुध, शनि र बृहस्पति पराक्रम भावमा, शुक्र १३ गतेसम्म धन भावमा र १४ गतेबाट पराक्रम भावमा । मंगल प्रतिस्पर्धा भावमा । राहु व्यापार भावमा र केतु राशिमा भावमा गोचर गरिहेका छन् । यो महिना समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पत्ति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्वाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिष्पर्धी हरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । कलाकृतिसँग सम्बन्धित काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । जो व्याक्तिहरु कवि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर, आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुद्रसँग सम्बन्धित काम गर्नेहरुका लागी यो महिना उत्तम रहनेछ । जागिरेले कार्यालयमा सहकर्मी वा जुनियरहरूको साथ पाउन सक्दैनन् । त्यस्तै आफ्नै बलबुता र निर्णयमा अघि बढ्ने महिना हो, माघ महिना । यो महिना शुभफलमा अझ बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले आफ्नो दाहिने हातको नारीमा रातो धागो छ फन्का घुमाएर धारण गरेमा शुभ हुनेछ । यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु : मकर राशि तपाईंको राशिबाट दोस्रो घर अर्थात् धनस्थान हो । यसै भावमा माघ महिनाभरि भाग्यपति भगवान् सूर्यनारायणको आगमन हुँदैछ । धनागमको बाटो सहज हुनेछ । पुराना लेनदेन र बाँकी बक्यौताको उठ्ती हुने महिना हो, माघ महिना । व्यवसाय र कारोबारमा विस्तार गर्न सकिने छ । कर्मचारी र जागिरेले फाइदा हुने फाँट वा कार्यालयमा सरुवा हुने अनुकूलता पाउनेछन् । यस अवधिमा मुख छुच्चो हुनेछ, त्यसैले महिनाभरि आफ्नो बोलीमा नियन्त्रण गरेको र शब्दशब्द तौलेर बोलेको जाति हुन्छ । घरपरिवारमा हुने भनाभन वा विवादमा आफूलाई मौन राख्नु नै ठीक हुनेछ । सन्तुलित आहारा र नियमित व्यायामप्रति रूचि राख्नुहोला, बासी, सँडेगलेको र चिसो भोजनलाई बन्देज नलगाएमा छाती र पाचनतन्त्रीको रोग ब्यहोर्नुपर्ने समय हो । यस अवधिमा चेलीबेटी र कुटुम्बको समस्या र काममा खट्ने वा सहयोग गर्ने परिस्थिति बन्नेछ । पुरुषले ससुराली पक्षको र स्त्रीले माइती पक्षको निम्तोमा जानुपर्ने वा सहयोग लिने परिस्थिति बन्नसक्छ । पिताजी पनि व्यवसाय वा जागिरमा सक्रिय हुनुहुन्छ भने वहाँको कार्यक्षेत्रमा उन्नति हुनेछ, तपाईंले पनि पिताको सल्लाह, सहानुभूति र सहयोगबाट गरेको काममा लाभ पाउन सक्नुहुन्छ । जागिरेहरूले योग्यता र पहुँचमा विस्तार गर्नेछन् । रोकिएका काम बन्नेछन् । व्यापारीहरूले नयाँ कारोबार वा सेयर बजारमा लगानी बढाउने वेला हो । यसैगरी माघमा सूर्य, बुध, शनि र बृहस्पति धन भावमा, शुक्र १३ गतेसम्म राशिमा र १४ गतेबाट धन भावमा । मंगल विद्या भावमा । राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहेका छन् । दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसस्दा उपलब्धी हातबाट फुत्किनेछ । धन सम्पति हराउने, लुटिने तथा स्थाई सम्पतिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट तथा छात्ती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । त्यस्तै शनिको अन्त्य साढेसातीको प्रभाव महिना भर नै रहनेछ । आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा, प्यारालाईसिस, ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले विशेष ख्याल गर्नुहोला । तर पनि बुध, शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरिमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । धन भावमा भएको बृहस्पतिको अनुकुल प्रभावले उत्पादनमुखी, औषधिजन्य तथा शैक्षिक क्षेत्रको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाव सिर्जना भएपनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्यूटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ । यस महिना ग्रहजन्य अशुभ प्रभाव नपरोस् भन्ने मनसायले तपाईंले प्रत्येक दिन भागवत वा गीताको पाठ गर्ने वा दैनिक रूपमा तुलसीपत्रले भगवान् विष्णुको आराधना गरेमा शुभफलको प्राप्ति हुनेछ । चन्द्रगोचरलाई विचार गर्दा यस महिनाको ५, ६, ७, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि नकारात्मक रहन सक्छन् ।

मकर : तपाईंको राशिमा पहिलेदेखि नै बुध, बृहस्पति र राशिस्वामी शनिश्चरको उपस्थिति छ । अब यो माघ महिनाभरि भगवान् सूर्य नारायणले पनि तपाईंको लग्नको भ्रमण गर्नेछन् । यो महिना शिरमा क्रुर ग्रहको आगमन भएकाले चिन्ता बढ्न सक्छ, पाचनतन्त्री सम्बद्ध समस्याले स्वास्थ्य प्रभावित हुन सक्छ, सचेत हुनुपर्छ वास्तवमा सूर्य तपाईंको राशिको अष्टम भाव अर्थात् संकट क्षेत्रको स्वामी हो र अहिले तपाईंको राशिमा भ्रमण गर्ने हुँदा यस अवधिमा निकै सावधान र सतर्कताका साथमा काम निकाल्नुपर्ने हुन्छ । घरिघरि मानसिक चिन्ता बढ्ने परिस्थिति बन्नेछ, त्यसैले संयम, धैर्य र शान्त बन्ने प्रयास गर्नुहोला । याद गर्नुहोस् परिस्थितिलाई राम्ररी बुझेर काम गर्नुपर्ने समय छ । यस अवधिमा तपाईंले अचानक यात्रा गर्नुपर्ने हुन्छ साथै कुनै नजिकैको मित्र वा आफन्तसँग मनमुटाव र विवादको सम्भावना पनि देखिन्छ । यस्तै, पुरानो विद्या, कर्मकाण्ड, तन्त्रमन्त्र वा अनुसन्धानमूलक कामप्रति लगाव बढ्ने छ । धनधान्यको स्थिति अनुकूल नै देखिन्छ साथै रकम व्यवस्थापन गर्ने र दूरगामी प्रयोजनका लागि धन लगानी गर्ने परिस्थिति पनि बन्न सक्छ । यसैगरी आध्यात्मिक र परोपकारी भावनाको विकास हुने महिना हो, माघ महिना । मकर राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पती राशिमा, शुक्र १३ गतेसम्म खर्च र १४ गतेबाट राशिमा । मंगल शुख भावमा । राहु विद्या भावमा र केतु लाभ भावमा गोचर गरिहेका छन् । यो महिना व्यापार व्यवसायमा मन्दी आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । शनिको मध्य साँढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा विशेष गरि उच्च रक्तचाप, टाउको दुखाई, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । पेटसम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । यस्तै, राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुनाले पद प्राप्तिको योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको कारोबारमा वृद्धि हुनेछ । मार्केटिङ, बिमा, एकाउन्ट, बैंक तथा वित्तीय संस्था जस्ता क्षेत्रमा काम गर्नेहरुले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष, न्याधीश, ईन्जिनियर, व्यवस्थापक वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ । यो महिना ग्रहजन्य अशुभ प्रभावको निवारण होस् भन्ने उद्देश्यले तपाईंले कुनै आइतवारका दिन सेतो आँकको फूल भगवान् शिवलाई अर्पण गरेमा शुभतामा बृद्धि हुनेछ । यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ : मकर राशि तपाईंकै राशिस्वामी शनिश्चरको अर्को घर हो र यस राशिले तपाईंको बाह्रौं भावसँग सम्बन्ध राखेको हुन्छ । यसै राशिमा माघ महिनाभरि भगवान् सूर्यनारायणको गोचर हुनेछ । त्यसैले यस अवधिमा तपाईंले घरबाहिर जानुपर्ने वा वैदेशिक यात्रा अथवा तीर्थयात्रामा निस्कने परिस्थिति बन्नेछ । सूर्य तपाईंको राशिको सप्तम भावको मालिक भएकाले यस अवधिमा जीवन साथीसँग अनबन हुने वा वहाँको स्वास्थ्यस्थितिमा प्रभाव पर्ने सम्भावना हुन्छ । घरपरिवार र सन्तानका विषयमा एकापसमा विवाद र मतभेद हुने साथै तनाव बढ्ने परिस्थिति पनि बन्नसक्छ । यो समय परिस्थिति र बाध्यताले सिर्जना गर्ने खर्चमा अत्यधिक बृद्धि हुने समय हो । लेनदेनको पुरानो कारोबार छ भने तपाईंले यस अवस्थामा अड्डाअदालत धाउने परिस्थितिसमेत बन्न सक्छ । त्यस्तै पारम्परिक र धार्मिक क्रियाकलापमा पनि खर्च गर्नुपर्ने हुन्छ । यस अवधिमा चिसो र आँखासम्बन्धी रोगले सताउने संकेत छ । कामधन्दा र व्यवसायमा सामान्य समय छ, नियमित आम्दानीमा अवरोध हुनेछैन, तर पनि खर्च व्यवस्थापन गर्न हम्मेहम्मे पर्नेछ । खासगरी विदेशमा बस्ने वा वैदेशिक प्रयोजनको काम गर्ने व्यक्तिका लागि यो समय लाभमूलक रहने छ । लामो समयदेखि विदेश यात्राको इच्छा सँगाल्नु भएको छ भने अब प्रयास गर्नुहोस्, लाभ हुनेछ । यो महिना देखिएका नकारात्मक फलको कमी होस् भन्ने उद्देश्यले तपाईंले भगवान् विष्णुको भक्तिआराधना गर्नुहोस्, साथै हरेक आइतवारका दिन गुड मिसाएर बनाएको लड्डु भोग लगाएर प्रसाद वितरण गरेमा शुभफल प्राप्त हुनेछ । यसैगरी यो महिना सूर्य, बुध, शनि र बृहस्पति खर्च भावमा, शुक्र १३ गतेसम्म लाभ र १४ गतेबाट खर्च भावमा । मंगल पराक्रम भावमा । राहु शुख भावमा र केतु राज्य भावमा गोचर गरिहेका छन् । व्यवहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानिको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुले काममा ढिला सुस्ति तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिुर्नु पर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरुले नियम संगत काम गर्न नसक्दा नोकरिमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । महिनाभर नै शनिको आद्य साढेसातिको प्रभाव रहने छ, जसको कारणले आफन्त तथा कुटुम्बसँग घरायसी कुरामा राय बाजिनेछ । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा, प्यारालाईसिस, ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले विशेष ख्याल गर्नुहोला । तर पनि बुध, बृहस्पति, मंगल तथा शुक्रका अनुकुल प्रभावले लामो समयदेखि बन्द रहेका उद्योगहरु रुचारु गर्न सकिनेछ । आफन्त तथा अग्रबाट आशिर्वाद प्राप्त हुनेछ । यस्तै, सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विद्यार्थी तथा शिक्षा पेशामा लागेका व्याक्तिहरुका लागि समय लाभदायी बन्नेछ । यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानी गर्नेहरुका लागि समम फलदायी रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा तथा परिणामूखी कार्य सकिनेछ । यो महिना सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, प्राविधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहनेछ । लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागी पनि समय उत्तम रहेकोछ । यस महिनाको १, २, १०, ११, १२, १९, २०, २१, २७, २८ र २९ गतेका दिन कमजोर समय हुनेछ ।

मीन : मकर राशि तपाईंको राशिबाट एघारौं भावमा पर्दछ, जसलाई राज्य, लाभ र प्रतिष्ठाको भाव मान्ने गरिन्छ । यसै भावमा माघ महिनाभरि भगवान् सूर्यको गोचर हुनेछ । यसअघि नै तपाईंको राशिस्वामी बृहस्पति, लाभेश शनिश्चर र सप्तमेश बुधले यसै भावमा उपस्थिति जनाएका छन् । त्यसैले यो महिना तपाईंको भाग्य र प्रतिष्ठा बृद्धिको महिना हो । एकातिर यसले तपाईंको लाभ र आयको मार्ग विस्तार गर्नेछ भने अर्कोतर्फ आयमा अचानक ह्वात्तै बृद्धि गराउन सक्छ । सूर्यको प्रभावले सिनियर कर्मचारी, हाकिम, दाजु, दिदी, जानकार र अनुभवी व्यक्तिसित उठबस हुने तथा सहानुभूति र सहायता प्राप्त हुने महिना हो माघ महिना । सामाजिक हैसियत र मानसम्मानमा बृद्धि हुनेछ । महत्वाकांक्षा र अभिलाषाको परिपूर्ति हुनेछ । जागिरेको तलवमानमा बृद्धि हुन सक्छ, साथै प्रशंसा वा पुरस्कारको योग बनेको छ । लामो समयदेखि अड्किएका प्रशासनिक वा कानूनी कामले गति समात्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ, झैझगडाको क्षेत्र, मुद्दा फाँट वा अड्डाअदालतमा संलग्न रहेर कुनै काम गर्नुहुन्छ भने तपाईंले यो महिना झन् धेरै कमाउने परिस्थिति बन्नेछ । खेलकुद र प्रतिस्पर्धात्मक काममा संलग्न व्यक्तिले नचिताएको उपलब्धी हासिल गर्ने समय हो । हुन त सूर्य तपाईंको छैटौं भाव अर्थात् रोग र शत्रुको घरको मालिक हो । त्यसैले यस अवधिमा तपाईंले सरकार विरोधी काम वा छलछाम अथवा चोरबुद्धिको त्याग गरेको जाति हुन्छ, नत्र प्रशासनिक कारबाहीमा वा दण्ड जरिबानामा पर्ने सम्भावना पनि छ । यो महिना कुनै पनि अनिष्टता वा नकारात्मक फल प्राप्त नहोस् भन्ने मनसायले तपाईंले हरेक आइतवारका दिन चना र गुड मिसाएर गाईलाई खान दिएमा शुभफलमा बृद्धि हुनेछ । यस्तै, सूर्य, बुध, शनि र बृहस्पति लाभ भावमा, शुक्र १३ गतेसम्म राज्य र १४ गतेबाट लाभ भावमा । मंगल धन भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहेका छन् । महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिकर्मि,खेलाडी,पत्रकार तथा विद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ । अग्रज तथा आफन्तबाट तपाईको काममा सहयोग तथा आशिर्वाद पाईनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पत्ति आर्जन गर्न सकिनेछ । आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ । लेखन, साहित्य, कविता, कला तथा साहित्य, मनोरञ्जन, हास्यबिधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउने समय रहेको छ । यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३० गतेका दिन तपाईंका लागि कुनै महत्त्वपूर्ण र निर्णयात्मक काम गर्न प्रतिबन्धित दिन हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ