- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विश्वव्यापी रूपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उनीहरूको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् ।
गुल्मी स्थायी ठेगाना भई हाल महाराजगन्ज बस्दै आएका नागमणि टेड्रसका रुद्र महत २५ वर्ष महाबौद्धमा व्यापार गर्दै आएकामा व्यापारमा विस्थापित भएर एक वर्ष अघिदेखि भोटाहिटीमा सरेको बताउँछन् । उनले भने, “बैङ्कले एक करोड ऋणको साढे दुई करोडको कारोबार देखाउनुपर्ने हुनाले अहिलेको अवस्थामा कारोबार देखाउन असम्भव छ ।”
समयमा ऋण बुझाउन नसेकेका कारण १७ प्रतिशत ब्याजमा पनि थप दुई प्रतिशत जरिवाना बुझाउन परेको उनले बताए । महाबौद्धमा एक हजार दुई सयमा भाडा तिरेर सुरु गरेको व्यवसाय त्यहीँ ठाउँमा २५ वर्षको अन्तरालमा एक लाख १० हजारसम्म पुगेपछि छोड्न बाध्य भएको उनको भनाइ छ । आफू विस्थापित भएर भोटाहिटी सरेको महत बताउँछन् । “व्यापारीलाई जस्तो कष्ट अहिले कसैलाई छैन”, उनले भने ।
एनआइसी एसिया बैङ्कबाट लिएको ऋणको १७ प्रतिशत ब्याज बुझाउनुपर्छ । तर सरकारले खाद्यान्न, फलफूल लगायतका सामानलाई जसरी कपडा व्यापारीलाई प्राथमिकतामा नराख्दा, सहकारी डुब्नु, उधारोको पैसा नउठ्नु, पुँजीको परिचालन सही तरिकाले व्यवस्थापन गर्न नसक्दा व्यापारबाट विस्थापित हुने अवस्था आएको उनी बताउँछन् । व्यापारीले यतिसम्म असहज र कठिनाइ अघिल्ला दिनहरूमा खेप्नु नपरेको उनको भनाइ छ ।
महतले बच्चाका जाडोका सामान विशेषगरी चाइनाबाट मगाउँदै आएकामा कोभिडको समयमा १६ महिनासम्म सामान नआउँदा लगानी होल्ड भएपछि वित्तीय सङ्कट बेहोर्नुपरेको र चर्को ब्याज तिर्नुपरेको बताउँछन् । महाबौद्धमा घरबेटीलाई नयाँ व्यापारीले ५५ हजारभन्दा बढी भाडा दिने भएपछि घरबेटी पुराना व्यापारीलाई असहज वातावरण सिर्जना गरी भाडा वृद्धि गराएपछि चर्को भाडा र ब्याजदरका कारण विस्थापित हुनुपरेको उनले बताए ।
झापा स्थायी ठेगाना भई हाल महतसँगसँगै महाबौद्धबाट भोटाहिटी सरेर कपडा व्यापार गर्दै आएकी मितेरी मनमाया मैनाली महँगीका कारण पहिलाको तुलनामा व्यापार निकै कम भएको बताउँछिन् । २० वर्षअघि भृकुटीमण्डपबाट व्यापार सुरु गरेकी उनले हाल भोटाहिटीमा व्यापार गर्छिन् । उनी भन्छिन्, “पहिला ७५ प्रतिशत व्यापार हुन्थ्यो भने अहिले २५ प्रतिशत भएको छ । सहकारीमा बचत गरेको लगानी डुब्दा, बैङ्कमा चर्को ब्याज बुझाउनुपर्दा, महँगो पसल भाडासहित बहाल करसमेत हामीले तिर्नुपर्दा आर्थिक समस्याकै कारण व्यापार खस्कँदो छ ।” भूकम्प अगाडि व्यापारीले गरेको लगानी उठ्न नसक्दा र लिएको सामानको मूल्य चुक्ता ग्राहकले नगरी दिँदा व्यापारी मारमा परेको उनी बताउँछिन् ।
कपडा व्यापारी कन्काई इन्टरप्राइजेजका अनिल प्रसाईँ विगत २५ वर्षदेखि भोटाहिटी, टुकेपमा कपडा व्यापार गर्दै आएका छन् । उनले जाडोयाममा बच्चा तथा लेडिजका स्वेटर, ज्याकेट, हाइनेक, ट्राउजर, लेगिन्स लगायतका सामान व्यापार गर्छन् । आजभोलि ग्राहकहरू टिकटकलगायत सामाजिक सञ्जालमा देखिएका कपडाको तस्बिर देखाएर सामान लिन आउँछन्, आफूसँग ती सामान हुँदैन, मगाउँदा समय बढी लाग्छ जसका कारण ग्राहकले चाहेको सामान दिन नसकेको प्रसाईँ बताउँछन् ।
चाइनाबाट सामान आयात गर्दै आएका उनले केरुङ नाका लामो समयसम्म बन्द हुँदा व्यापारमा समस्या भएको बताए । गर्मीयामको तुलनामा जाडोमा व्यापार बढी हुने भए तापनि पहिलेको तुलनामा अहिलेका वर्षमा सामान्य व्यापार हुने गरेको उनको भनाइ छ ।
सरकारी जागिरबाट अवकाशपछि कपडा व्यापारमा संलग्न हुँदै आएका कृष्णकुमार श्रेष्ठ तीन वर्षदेखि लेडिज तथा बच्चाका न्यानो कपडा व्यापार गर्दै आएका छन् । पुराना डिजाइनका कपडाभन्दा पनि नयाँ डिजाइनका कपडाको माग ह्वात्तै बढेकाले सोही अनुसारको सामान मगाउन व्यापारी बाध्य हुनुपर्ने श्रेष्ठ बताउँछन् ।
सिन्धुपाल्चोक स्थायी घर भएका शरद नेपाल दुई वर्षदेखि भोटाहिटीमा पछ्यौरी व्यापारमा संलग्न छन् । विश्वव्यापी रूपमा परेको आर्थिक प्रभावसँगै नेपालको अर्थतन्त्रमा देखिएको उतारचढावबाट आफ्नो व्यापारमा परेको असरले पाठ सिकाएको भन्दै पेसामा हार नमानेको बताउँछन् । “सुरुमा सिक्दै व्यापार गर्दैछु घाटा नाफालाई खासै हेरेको छैन, कहिले नाफा, कहिले घाटा बेहोर्नुपरे पनि हालसम्म औसत व्यापार भइरहेको छ”, उनले भने ।
जनताको आयस्तर कम हुनु, कोभिड–१९ पछि थलिएको आर्थिक अवस्था, रुस–युक्रेन युद्ध, वित्तीय सङ्कट, चर्को ब्याजदर, भन्सार मूल्य वृद्धि, लागतमा वृद्धिको कारणले अहिलेको व्यापार व्यवसायमा असहजता भएको व्यापारीहरूको भनाइ छ ।