- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको लेकसाइडमा रोयल स्टाइलमा निर्माण भएको ‘त्रिपुरा लाउञ्ज एण्ड बार’ सञ्चालनमा आएको छ । एक रोपनी क्षेत्रफलमा निर्मित सो त्रिपुरामा करिब आठ करोड रुपैयाँ लगानी भएको सञ्चालकले बताएका छन् ।
त्रिपुराभित्र पस्दा राजदरबारको झल्को आउँछ भने भवनको छतमा पुग्दा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । अब इतिहास झल्काउने गरी राजाहरुका तस्बिर राख्न बाँकी छ । साथै त्रिपुरामा स्नुकरका साथै सुविधानसम्पन्न सेमिनार हलसमेत तयार भएको छ ।
नेपाल र भारतका कालीगढले भवनभित्र विभिन्न कलाकृति निर्माण गरिएको सञ्चालक सुमन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालमा कालीगढ अभाव हुँदा भारतीय कालीगढ ल्याएर निर्माण शुरु गरिएपनि उनीहरुले पनि काम छाडिदिएपछि फेरि नेपाली कालीगढले नै सम्पन्न गरेका हुन् ।
त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने र सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफूले लाउञ्ज सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताए ।
श्रेष्ठ भन्छन्, ‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु सञ्चालनमा छन् । तर हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीलाई पक्कै मन पर्नेछ ।’
पोखरामै एशियना म्यारक्यु क्लव सञ्चालन गर्दै आएका श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी पनि हुन् । खेल जीवनसँगै उनी १५ वर्ष अघिलेखि व्यवसायमा होमिएका हुन् । हाल सञ्चालनमा आएको त्रिपुराको इन्टरियर डिजाइन उनी आफैले गरेका हुन् ।
लगानी बढी भए पनि सुलभ दरमा सेवा उपलव्ध गराइने श्रेष्ठले बताए । उनका अनुसार त्रिपुरामा आउने ग्राहकले चाँदीको थालमा चाँदीकै चम्चाले खाना खान पाउन्छन् । यस्तो सुविधा विगतमा राजाहरुले पाउँदै आएका थिए ।
क्लासिक वातावरण, क्याफे, लबिहल, लाइभ म्युजिकसहितको सेवा त्रिपुराको विशेषता रहेको म्यानेजर विकास गुरुङले बताए । अझै पनि निर्माणका काम बाँकी रहेकाले आगामी महिना त्रिपुराको ग्राण्ड ओपनिङ गर्ने तयारीमा आफूहरु लागेको उनले बताए ।