arrow

बाँकेको जानकीमा बनेको पिच रोड केही समयमै उप्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
peach-road.jpg

नेपालगन्ज (बाँके) ।  बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ मा निर्माण भएको पिच सडक गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन् । गिजरादेखि लैनपुर हुँदै कृषि तालिम केन्द्रसम्मको पिच सडक र नाली निर्माण गर्दा निर्माण कम्पनीले चरम अनियमितता गरेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।

सडक निर्माणको काम सम्पन्न भएको केही समयमै सडकको छेउतिर उप्किँदै गएपछि स्थानीयले अनियमितताको आशङ्का गर्दै छानबिनको माग गरेका हुन् । सडक निर्माणको जिम्मा मैटहवा साइमन प्रालिले पाएको थियो । २०७८ पुस ९ मा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ असार ३ गतेसम्म सक्ने समयावधि थियो  । भ्याटसहित ६० लाख इस्टिमेट रकममध्ये मैटहवा साइमनले भ्याट बाहेक २७ लाख ३६ हजार १५ रुपैयाँ ८० पैसामा ठेक्का पारेको थियो ।

ठेकेदार र फिल्डमा खटिएका इन्जिनियरको कमीकमजोरीले नै कमसल सडक बनेको स्थानीयहरू बताउँछन् । कमसल खालको निर्माण सामग्रीको प्रयोग र पैसाको चलखेलका कारण गुणस्तरहीन सडक बनेको आरोप स्थानीयवासीको छ । स्थानीयवासी रिता वर्माले ठेकेदार र इन्जिनियरको मिलेमतोमा गुणस्तरहीन बाटो बनेको आरोप लगाउँछिन् । पैसा कमाउने चलखेलले गुणस्तरहीन बाटो बनाइएको बर्माको जिकिर छ । अर्का स्थानीय हरिराम यादव सडक पटक पटक नबनाइने हुँदा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने भए पनि बाटोको अवस्था हेर्दा बदमासी भएको देखिएको दाबी गर्छन् । स्थानीय गङ्गा पुनले पनि ठेकेदार र इन्जिनियरको कमीकमजोरी देखिएको बताइन् ।

दुई साता अघि मात्रै निर्माण सम्पन्न भएको पिच सडक कमसल क्वालिटीको नभएको गाउँपालिकाका इन्जिनियर प्रजेश आलेको दाबी छ । लागत अनुमानमा जस्तो स्टिमेटमा थियो, सोही अनुसार निर्माण कार्य भएको उनको भनाई छ । उनले सडकको केही ठाउँमा घाँस उम्रेको, पिच फुटेको र केही ठाउँमा दबेको भने स्वयम् स्वीकार गरेका छन् ।

"एकाध ठाउँमा जहाँ बिजुलीको खम्बाहरू थियो, खम्बाको छेउमा तारहरू थियो, त्यहाँ पिच हालिसकेपछि रोलिंग गर्न नमिलेर कतै घाँस उम्रेको जस्तो देखिएको छ," उनले भने-"एउटा ठाउँमा अगाडितिर अलिकति बेस च्यापिएर कालोपत्रे दबेको छ, त्यो हामीले निर्माण कम्पनीलाई गर्न भनिसकेका छौं ।"

निर्माण सम्पन्न भएको पिच सडक र नाली अनुगमन गर्न पुगेकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले पिच सडक फुटेको, उप्केको र केही ठाउँमा घाँस उम्रेको देखिएको बताइन् । "सडक फुटेको देखिएको छ, हातले चलाउँदा उप्किरहेको छ," उनले भनिन्-"यसमा ठेकेदारको कमजोरी देखिएको छ । म ठेकेदार त होइन, इन्जिनियर पनि त होइन, मलाई अरू थाहा हुने कुरो भएन तर बाटो राम्रो हुनुपर्‍यो ।" कमिसन खाएर पिच सडक कमसल क्वालिटीको बनाएको आरोप समेत उपाध्यक्ष यादवले लगाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ