arrow

स्याटेलाइट भन्दा पनि नजिकबाट हुत्तिएर गयो क्षुद्रग्रह

६ दिनअघि भेटिएकाे क्षुद्रग्रह स्याटेलाइट भन्दा पनि नजिकबाट हुत्तिएर गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
Asteroid-2023-BU-space.jpg

काठमाडौं। केही बेर अघि एक क्षुद्रग्रह पृथ्वीको निकै नजिक हुँदै गुज्रिएको छ। मिनिबसको आकारको यो अन्तरिक्षबाट आएको चट्टान आज जनवरी २७ मा ग्रीनविच समय अनुसार बिहानको १२ बजेर ३० मिनेटमा अमेरिकाको दक्षिणी टुप्पोबाट निकै नजिक हुँदै हुत्तियो।

त्यतिबेला यो पृथ्वीबाट लगभग ३ हजार ६ सय किलोमिटर नजिक पुगेको थियो, र यसले पृथ्वीको नजिक अझै पनि महत्त्वपूर्ण आकारका क्षुद्रग्रहहरू पत्ता लगाउन बाँकी छन् भन्ने देखाएको छ।

किनकी यो क्षुद्रग्रह केही दिनअघि मात्रै अर्थात् २०२३ को जनवरी २१ मा पत्ता लागेको थियो। रुसको क्रिमियामा रहेका एम्येचर खगोलविद् गेन्नाडी बोरिसोभले यो क्षुद्रग्रह पत्ता लगाएका हुन्।

त्यसपछि यसलाई फलोअप गर्दा यसको आकार र यसको कक्षाको बारेमा थाहा भएको थियो। त्यसैले पृथ्वीबाट ३६,००० किलोमिटर टाढा रहेका दुरसञ्चार स्याटेलाइटहरु भन्दा नजिक आएर पनि यो पृथ्वीमा नठोक्किनेमा खगोलविद्हरू ढुक्क भएका थिए।

यसले स्याटेलाइटहरुलाई प्रहार गर्ने सम्भावना पनि एकदमै कम देखिएको छ। न्यूनतम उचाइको समय ग्रीनविच समय अनुसार शुक्रबार बिहानको १२ बजेर २७ मिनेट थियो। यदि २०२३ बीयू क्षुद्रग्रहले पृथ्वीसँग प्रत्यक्ष टक्कर गरेको भए पनि, यसले धेरै क्षति नगर्नसक्ने ठानिएको छ।

३.५ मिटरदेखि ८.५ मिटर अनुमानित आकारको यो चट्टान वायुमण्डलमा धेरै नै विघटन भएको हुन सक्छ। तथापि, यसले शक्तिशाली ज्वाला पैदा गर्ने थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरूले पृथ्वीको नजिक आएपछि २०२३ बीयूको सूर्यको परिक्रमा गर्ने कक्षमा परिमार्जन भएको बताएका छन्। हाम्रो ग्रह पृथ्वीको गुरुत्वाकर्षणले यसलाई तानेर अन्तरिक्षमा यसको बाटो फेरिदिएको हो।

खगोलविद्हरुले यति कुनै पृथ्वीमा ठोक्केर ठूलो क्षति गर्ने खालेको क्षुद्रग्रह त छैन् कि भनेर व्यापक खोजी गर्दै आएका छन्।

डाइनोसरहरुको अन्त्य गर्ने १२ किलोमिटरको क्षुद्रग्रह जस्ता अन्य अहिले देखिएका छैनन् र चिन्ता कम रहेको छ।

तथापि, युकेको वारविक विश्वविद्यालयका प्रोफेसर डन पोलाकोले अझै पनि पृथ्वीको कक्षा पार गर्ने क्षुद्रग्रहहरू पत्ता लगाउन बाँकी नै रहेको बताएका छन्।

त्यसकारण कुन बेला कुन क्षुद्रग्रह देखिन्छ र पृथ्वी नजिक आउँछ या ठोक्किन्छ नै भन्ने कुरा थाहा नभएका कारण ढुक्क हुन सकिने स्थिती भने देखिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ