arrow

एमालेलाई राष्ट्रपति नदिन माओवादी र एस सक्रिय, रास्वपाले छाडे एसलाई भित्र्याउने कसरत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
prachanda-madhavs.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ता गठबन्धनमा प्रमुख साझेदार माओवादी केन्द्रलाई एमालेबाट बाहिर राख्ने प्रयास भएको छ । सात दलीय सत्ता गठबन्धनमा समस्या बढ्दै गइरहेका बेला नेकपा एसका नेताहरुले त्यस्तो प्रयास गरेका हुन् । 

एमालेबाट विरक्तिएर एसमा प्रवेश गरेका घनश्याम भुषाललाई केही दिनमै महासचिव बनाउने तयारी भएको छ । उनको प्रवेशसँगै एमाले र माओवादीबीचको दूरीलाई बढाउने र त्यसका लागि एसका अन्य नेताहरुसमेत सहभागी भएका छन् ।

 ‘राष्ट्रपति एमालेलाई दिनु हुँदैन भन्ने हाम्रो उद्धेश्य हो त्यसका लागि हामीले माओवादी केन्द्रसँग कुराकानी गरिरहेका छौँ’, नेकपा एसका एक नेताले भने । 
राष्ट्रपतिको निर्वाचनकै विषयलाई लिएर बिहीबारदेखि एसले माओवादीसँग संवाद गरेको छ । 

राष्ट्रपतिको निर्वाचनमा एमालेलाई माओवादीले धोका दिएमा एमाले सरकार बाहिर रहन्छ भन्ने अनुमानका साथ एसले माओवादीसँग संवाद शुरु गरेको हो । बिहीबार बैठक चलिरहेको बेला एस पार्टीका उपमहासचिव विजय पौडेल बैठकस्थल पेरिसडाँडामा पुगेका थिए । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अत्यन्त विश्वासपात्र हुन् । 

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दीमा पनि माधव नेपालको तर्फबाट वार्तामा उनै सहभागी हुने गर्थे । उनले बिहीबार माओवादीका उपाध्यक्ष लगायतका जिम्मेवार नेताहरुसँग छलफल गरेका थिए । 

पौडेलपछि शुक्रबार बिहान घनश्याम भुषालले आफैँ बालुवाटार पुगेर माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा पनि एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा वकालत गरिएको थियो । त्यसमा प्रचण्ड मौन रहेको स्रोतको दाबी छ । प्रचण्डका सचिवालय र परिवारका सदस्यहरु पनि एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा उभिएका छन् । 

भुषालपछि शुक्रबार अपरान्ह उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादी अध्यक्ष माधव नेपालसँग संवाद गरेका थिए ।  

 समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग संवाद गरेका हुन् । तर उनको संवाद भने अलि फरक रहेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार छाडेमा एस पार्टीलाई सत्तामा कसरी सहभागी गराउने भन्ने बारेमा छलफल भएको थियो । 

त्यसक्रममा पार्टी एकताको विषयमा पनि छलफल भएको नेकपा एस स्रोतले जनाएको छ । खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले एसका नेताहरुसँग कुराकानी गर्न नारायणकाजीलाई खटाएका छन् । 

रास्वपा सरकारबाट बाहिरिए सत्ता साझेदार एमालेका अध्यक्ष ओलीलाई मनाएर भए पनि समाजवादीलाई सरकारमा ल्याउने रणनीति प्रचण्डले बनाएका भए पनि एस पार्टीका अध्यक्षले एमाले सरकारमा रहेसम्म सरकारमा सहभागी नहुने बताएका छन् ।

 ‘अहिले हाम्रो मिसन सरकारमा जाने भन्दा पनि एमालेलाई राष्ट्रपति नदिने हो । यसका लागि माओवादी, नेपाली कांग्रेस लगायतका अन्य दलहरुसँग पनि कुराकानी चलिरहेको छ’, एस पार्टीका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ