arrow

मासिक २० हजार कमाउँदै सालको पातको दुना-टपरीबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
Duna Tapari.jpg

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना-टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छन् । थापाले विसं २०६६ देखि दुना-टपरी बनाउने पेशा अँगालेकी हुन् ।

घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना-टपरी बनाउने सीप सिकेँ, अहिले यही पेशाबाट जीवनयापन चलाइरहेकी छु”, थापाले भनिन् ।

शुरुमा दुना-टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उनी सुनाउछिन् । “जब यो पेशा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु”, उने भनिन् ।

लालीगुराँस दुना-टपरी उद्योग नै दर्ता गरेर थापाले व्यवसाय सञ्चालन गरेकी छन् । शुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छन् । “एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेशिनले हात काट्यो, केही साथीले छाडे”, उनले भनिन्,“अहिले एक्लै उद्योग चलाएकी छु ।”

सालको पातबाट बनाइने दुना-टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उनले बनाएर दुना-टपरी जाने गरेका छन् । हातैबाट दुना-टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उनले मेशिनसमेत खरिद गरेकी छन् ।

पूर्व वडासदस्यसमेत रहेर काम गरेकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताइन् । “गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते”, उनले विगत सुनाउँदै भनिन्, “दुना-टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।”

पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उनी आफैँ दङ्ग छन् । विशेषगरी उनले बनाएका दुना-टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना-टपरीको माग हुने गरेको छ ।

थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आएकी छन् । एक सय पातको रु ४० दिने गरेको उनले बताइन् । थापाले बेच्ने प्रतिदुना-टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । 

आफूले दुना-टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उनले बताइन् । आफू जनप्रतिनिधि हुँदा पटक-पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ । 

“स्थानीयस्तरमा सिकेको सीपलाई प्रोत्साहन गर्ने काम स्थानीय तहले गरेको छैन । दुना-टपरी बनाउँदा चाहिने क्वाइल भारतबाट ल्याउनुपर्छ, स्थानीय सरकारले सहयोग गरे राम्रो हुन्थ्यो”, उनले भनिन् । बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् ।

त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ । स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उनको जोड छ ।

प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उनले बाणगङ्गा नगरभित्र रहेका दुना-टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ