arrow

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक, जसपा र उन्मुक्तिलाई विश्वासमा लिने कसरत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
Congress-parliamentary-meet.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । सत्ता समीकरणको खेल रोचक बन्दै जाँदा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई समर्थन गरेका भए पनि सत्तामा नगएका दलहरुलाई समेटेर कांग्रेसले बैठक डाकेको हो ।

बैठक आज बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको हो । बैठकमा जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसमेत सहभागी हुँदैछन् । 

राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका विषयमा छलफल हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । 

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही २३ गते सोमबार हुँदैछ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । साथै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । 

यी निर्वाचनका लागि प्रतिपक्ष दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो । पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सात दलीय गठबन्धन बनेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत दल विपक्षमा छन् । 

तर पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा यी दलहरूले पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत हालेका थिए । त्यसपछि भएका सभामुख, उपसभामुख पदको निर्वाचनमा नयाँ गठबन्धन बन्ने आँकलन गरिएको भए पनि विपक्षी दलहरुको प्रयास सफल हुन सकेन । 

राष्ट्रपति निर्वाचनमा भने कांग्रेसले वर्तमान गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै आफू सफल हुने तयारी गरिरहेको छ । 

माओवादी केन्द्रसमेत राष्ट्रपति एमालेलाई दिन नहुनेतर्फ लागेको हुँदा कांग्रेसलाई राष्ट्रपति उम्मेदवार उठाउन सजिलो हुने ठानिएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने भन्दै एमालेलाई राष्ट्रपति दिन खोजिरहेका छैनन् । 

यद्यपि गत पुस १० गते भने प्रचण्डले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको बताइन्छ । प्रचण्ड भने साढे दुई वर्षका लागि मात्र प्रधानमन्त्री हुनेछन् । 

यस्तो भएमा अढाइ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एमालेको हुँदा फेरि ‘कू’ हुन सक्ने खतरा औंल्याउँदै प्रचण्ड सजग देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ